नागरिकता समस्या समाधान गर्न गृहका सहसचिव पाण्डेको नेतृत्वमा अध्ययन समिति गठन – Nepal Press

नागरिकता समस्या समाधान गर्न गृहका सहसचिव पाण्डेको नेतृत्वमा अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समाधान गर्न अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवम् नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा सोमबार पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका उपसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानून महाशाखाअन्तर्गतको कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुख र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका प्रमुख सदस्य रहेका छन् ।

समितिलाई यही असोज १५ भित्र अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा दिइएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको छ ।

साथै उक्त समस्याको समाधानमा विद्यमान कानूनी व्यवस्थाको विश्लेषण तथा समाधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधिलगायतका विषयमा सुझाव दिन पनि कार्यादेश तोकिएको प्रवक्ता तिवारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर