कांग्रेस लुम्बिनीकी सचेतक गिरीले दिइन् राजीनामा – Nepal Press

कांग्रेस लुम्बिनीकी सचेतक गिरीले दिइन् राजीनामा

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन् ।

उनले आफूले समय दिन नसकेको बताउँदै दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएको नेपाल प्रेसलाई बताइन् ।

पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज उठाइरहेकी सांसद गिरीको राजीनामाले कांग्रेसभित्र थप विवाद बढाएको छ । सो पार्टीका २७ जनामध्ये ९ महिला सांसद रहेकोमा उनीहरुमध्येबाट मन्त्रीमा समेटिनुपर्ने माग गर्दै गिरीकै नेतृत्वमा आइतबार संसदीय दलका नेतालाई दबाबसहितको पत्र बुझाइएको थियो ।

प्यूठानबाट समानुपातिक सांसद बनेकी उनी गठबन्धनबाट मन्त्री आकांक्षी भए पनि भागबन्डामा परिनन् । संसदीय दलमा संस्थापन समूहको बहुमत रहेको र उनी इतर समूहमा रहेकाले नसमेटिएको विषय बाहिर आएको थियो ।

मन्त्रीमण्डलमा नसमेटिएपछि यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए ।

सांसद गिरीले भने आफू मन्त्री नबनेका कारण राजीनामा नदिएको दाबी गरिन् ।

‘म मन्त्री बन्न नपाएर राजीनामा दिएको होइन, मेरो समय नमिलेर हो, हिजोको डेलिगेशन मेरो लागिभन्दा पनि ९ जना महिला सांसदमध्येबाट मन्त्री बनाउनुपर्ने भन्ने हो, म सधैं समावेशी सहभागिताको बहस गर्ने व्यक्ति हुँ’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर