प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो, तर अझै भ्रमको खेती गरिरहेका छन् : रवि लामिछाने (भिडिओ) – Nepal Press
रास्वपा राष्ट्रिय भेला

प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो, तर अझै भ्रमको खेती गरिरहेका छन् : रवि लामिछाने (भिडिओ)

‘केही सञ्चारकर्मीहरूलाई भन्न चाहन्छु, मलाई नंग्याउने बहानामा आफू ननांगिनुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्‍याएका छन् । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए ।

रास्वपाको आज सुरू भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले प्रतिवेदनले स्पष्टरूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहेको समेत टिप्पणी गरे । आफूमाथि निरन्तर प्रहार भइरहे पनि आफू नढल्ने उनले बताए ।

 

लामिछानेको भाषणको एक अंश-

हामीमाथि, विशेषगरी ममाथि धेरै आरोप लागे । हिजो समितिले आफ्नो रिपोर्ट बुझायो । त्यसमा स्पष्टसँग मूल आरोपका विषयमा भन्यो । तर, मानिसहरूलाई चित्त बुझेन । किनभने मलाई डेढ वर्षदेखि ठगको आरोप लगाइरहेका थिए । सहकारी ठगीको आरोप लगाइरहेका थिए । प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन । तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन । यति कुरा स्वीकार गर्न किन गाह्रो भएको हो ?

सहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । त्यो पुष्टि भएन । प्रमाण भएन । त्यसपछि गोर्खा मिडियाका लागि जिम्मेवारी लिनुपर्छ भनिएको छ । यो स्वीकार्न के गाह्रो । तर, यति पनि स्वीकार गरिएन । देशलाई भ्रममा पार्ने काम भएको छ । केही सञ्चारकर्मी मित्रलाई अपिल गर्न चाहन्छु, यो देशको पत्रकारिता जोगाइदिनुस् । मलाई नङ्ग्याउने निहुँमा तपाईंहरू ननांगिदिनुस् ।

मलाई जित र हारको परवाह छैन । जितको उत्साह र हार्ने डरले लडिरहेको छैन । एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु । नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि । निरन्तरको प्रहारले म लौलहान भएको छु । छाती छियाछिया भएको छ । गाडिएको छ तीर । देखिरहेको छु, बगिरहेको छ रगत । घाउ छ । त्यही घाउमाथि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ । तर, ढल्ने छुट छैन । लड्ने छुट छैन ।

रास्वपाको क्रेज सकियो, पहिलोजस्तो छैन भन्ने सुनिन्छ । हामीलाई पनि होकि हो कि जस्तो लागेको अवस्थामा छौं । यो यात्रा सुरू गर्दा नै यो सजिलो यात्रा थिएन । सजिलो थियो भने जसले पनि गर्थ्यो । यो मोडसम्म आइपुग्दा ओहो, खस्कियो ढल्यो, पहिलेजस्तो छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ ।

साथीहरु । एउटा राजनीतिक दल पाँच महिना अगाडि खडा हुन्छ । होनाहार २१ जना साथीहरू सांसदमा गर्जिन्छन् । सिंगो देशको ध्यानाकर्षण गर्छन् । ती साथीहरूको चर्चा चल्छ । वर्षौंदेखि सदनमा रहेका भन्दा भर्खरै आएका साथीहरूको चर्चा चल्छ । महत्वपूर्ण मन्त्रालय लिएर कामहरू गर्न थाल्छन् ।

तर, त्यो देखेर दुई राजनीतिक दलहरू रातारात मिल्छन् भने रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । कयौं साथीहरू हारेको जस्तो गर्नुहुन्छ । म भन्छु कसले भन्यो हार्‍यो भनेर ? साथी हो हामीले युद्ध लडेकै छैनौं । ७९ को चुनाव त ८४ को निम्तो कार्ड हो । लडाईं त बल्ल सुरू हुँदैछ । तर, यो लडाईंमा कोही टुहुरो हुनुपर्दैन । रगतको थोपो पनि बग्दैन । हामी शान्त विद्रोह गर्न चाहन्छौं ।


प्रतिक्रिया

One thought on “प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो, तर अझै भ्रमको खेती गरिरहेका छन् : रवि लामिछाने (भिडिओ)

  1. अब जति भ्रमको खेति गरे पनि १२ भाइ नामका गुण्डाहरूको काम छैन । काँग्रेसले पनि रास्वपा आउँदा आफू सकिन्छु कि भनेर नभएको कुरामा विरोध गरेको हो । तर जनताले के बुझेका छन् भने यो देश ध्वस्त बनाएको काँग्रेस र माओवादी नामका विदेशीका दलालहरूले गर्दा हो । तराईका पार्टी त लैनचौरबाट हण्डी बुझ्ने दलाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर