ज्ञानेन्द्र शाहीले ‘इग्नोर’ गरेपछि मञ्चबाटै उठेर हिँडे पुण्य गौतम – Nepal Press

ज्ञानेन्द्र शाहीले ‘इग्नोर’ गरेपछि मञ्चबाटै उठेर हिँडे पुण्य गौतम

काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतम र सामाजिक सञ्जालबाटै उदाएर नेता बनेका ज्ञानेन्द्र शाहीबीच हिजो एक कार्यक्रममा जम्काभेट भयो । तर, उनीहरू धेरै बेर एउटै फ्रेममा अटाएनन् ।

‘आमा’ नामक सांगीतिक एल्बमको एउटा गीत रिलिजका लागि अनामनगरको सिलौटो कटेजमा कार्यक्रम आयोजना गरिएको थियो । त्यसमा विशेष अतिथिका रूपमा निम्त्याइएका थिए, गायक शिव परियार, पुण्य गौतम र ज्ञानेन्द्र शाही । पुण्य पहिल्यै आएका थिए भने शाही अलि ढिला आइपुगे ।

शाही आउँदा मञ्चमा राखिएको सोफामा पुण्य र शिव परियार सँगै बसिरहेका थिए । ज्ञानेन्द्र शाहीका लागि पुण्य छेउकै सोफा खाली राखिएको थियो ।

शाही मञ्चमा उक्लिए र शिव परियारले उनीसँग उठेर हात मिलाए । कालो चस्मा लगाएर बसेका पुण्य गौतमले पनि हात लम्काए । शाहीले परियारसँग हात मिलाउँदै गर्दा पुण्यलाई भने पुरै इग्नोर गरे । उनले पुण्यतिर हेर्दा पनि हेरेनन् ।

लम्काएको हात यत्तिकै फर्काउनुपरेपछि पुण्यलाई झोक चल्यो । ज्ञानेन्द्र छेउको सोफामा बस्नासाथ पुण्य जुरुक्क उठे । शिव परियारलाई हात हल्लाउँदै मञ्चबाट उत्रिए र सरासर बाटो लागे । बाहिरिने क्रममा एक सञ्चारकर्मीले बसौँ न बसौँ भन्दै थिए । पुण्यले आफ्नो अर्को कार्यक्रम भएको भन्दै हिँडे ।

ज्ञानेन्द्र शाही र पुण्य गौतमबीच लामो समयदेखि शीतयुद्ध चलिरहेको छ । शाही भर्खर उदाएका बेला पुण्य गौतमसँग उनको युट्युबमा जुहारी चल्थ्यो । पछि शाही राजनीतिमा लागेर हाल सांसद समेत बनिसकेका छन् । पुण्यले शाहीको वैवाहिक स्थितिदेखि शैक्षिक योग्यतासम्मका अनेक प्रश्नहरू उठाउने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर