दुई बडीगार्ड र म्यानेजरसहित नेपाल आएका डली चायवालाले झापामा चिया पकाए, काठमाडौंमा सेलिब्रिटी भेट्ने योजना – Nepal Press

दुई बडीगार्ड र म्यानेजरसहित नेपाल आएका डली चायवालाले झापामा चिया पकाए, काठमाडौंमा सेलिब्रिटी भेट्ने योजना

चायवालालाई नेपाल ल्याउने युवकको गफ- उहाँ अहिले पनि बिल गेट्सको सम्पर्कमा हुनुहुन्छ

काठमाडौं । स्टाइलिस तरिकाले चिया पकाएर भाइरल भएका भारतीय युवक डली चायवाला अहिले नेपालमा छन् । नेपालको पर्यटन प्रवर्द्धन हुने भन्दै उनलाई ग्लोबल इनोभेसन पार्टनर्स नामक कम्पनीले लाखौँ रकम खर्चेर नेपाल ल्याएका हुन् ।

भदौ ३१ गते झापा आइपुगेका चायवालालाई त्यहाँको पाँचतारे होटेल मेची क्राउन प्लाजामा राखिएको थियो । झापामा उनले आफ्नो शैलीमा चिया पकाएर पनि देखाए । त्यहाँ घुमफिर पश्चात् आज प्लेन चढाएर काठमाडौं ल्याईंदैछ ।

काठमाडौंबाट चायवालाले माउन्टेन फ्लाइट गर्ने आयोजक ग्लोबल इनोभेसन्स पार्टनर्सका आरिफ अलीले बताए । अलीले भने, ‘उहाँलाई काठमाडौंबाट माउन्टेन फ्लाइट गराउँदैछौं । साथै काठमाडौंमा सेलिब्रेटीहरुलाई बोलाएर इभेन्ट पनि गर्दैछौं ।’

को को सेलिब्रिटीहरुलाई बोलाइएको छ भन्ने चाहिँ उनले बताएनन् । आफूले लेखेको ‘फ्रम न्युटन टु नाउ’ भन्ने किताबलाई बिल गेटससम्म पुर्‍याउन डली चायवालाले सहयोग गर्ने आशासमेत आरिफले राखेका रहेछन् ।

ग्लोबल इनोभेसन पार्टनर्सका म्यानेजिङ डाइरेक्टर दिव्य सापकोटाले धनाढ्य बिल गेट्ससँग डली चायवालाको सीधा सम्पर्क रहेको दाबी गरे ।

उनले भने, ‘डली सरको अहिले पनि बिल गेट्ससँग सीधा सम्पर्क छ । अरू ठूल्ठूला मान्छेसँग पनि चिनजान छ । त्यही भएर अली सरको किताब ठूल्ठूला मान्छेसम्म कसरी पुर्‍याउने भनेर छलफल गर्न पनि नेपाल आउनुभएको हो ।’

दुईजना बडीगार्ड र एक जना म्यानेजर सहित नेपाल आइपुगेका डली चायवालालाई कति खर्च गरेर ल्याइएको हो त ? यसबारे भने खुलाउन नमिल्ने आरिफ अलीले बताए । दुवै पक्षबीच पारिश्रमिक नखुलाउने सम्झौता भएको उनको भनाइ छ ।

बडीगार्ड र म्यानेजरसहित पाँचतारे होटेलमा बस्दा, माउन्टेन फ्लाइट गर्दा राम्रै बजेट खर्च भएको देखिन्छ । सापकोटाले भने, ‘खर्चको रेन्ज चाहिँ महँगै हो ।’

जी–सेभेनको बैठकमा सहभागी हुन भारत आउँदा बिल गेट्सले डली चायवालाको चिया पिएको भिडियो आफ्नो पेजमा राखेपछि संसारभरका मिडियाले उनको चर्चा गरेका थिए । यसपछि विश्वव्यापी रूपमा चर्चामा आएका डली चायवाला अहिले विभिन्न देशहरू घुमिरहेका छन् । उनको पुरानो पेशा चाहिँ चिया पकाएर बेच्ने नै थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर