राजेन्द्र महतोलाई सुमन सायमीको साथ, नयाँ दलको कोर टीममा अरु को को ? – Nepal Press

राजेन्द्र महतोलाई सुमन सायमीको साथ, नयाँ दलको कोर टीममा अरु को को ?

काठमाडौं । नेवाः समुदायका चर्चित युवा अभियन्ता सुमन सायमी पुराना मधेसी नेता राजेन्द्र महतोको नयाँ पार्टीमा लागेका छन् । महतोले आज घोषणा गरेको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक पार्टीको कोर टीमका एक सदस्य हुन् सायमी ।

महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियानको घोषणा गरेका थिए । त्यही अभियानलाई अहिले पार्टीको रुप दिइएको हो । यस पार्टीमा अध्यक्षबाहेक अरु कुनै पनि पदाधिकारीको घोषणा गरिएको छैन ।

महतोको मुक्ति क्रान्ति अभियानमा सायमी पनि जोडिएका थिए । आदिवासी जनजातिको अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानले सायमीलाई महतोसँग जोडेका हुन् । यसप्रकारले कट्टपन्थी मधेसी, जनजाति र नेवाः अगुवाको अपूर्व मिलन भएको छ । महतो, मोक्तान र सायमी नै नयाँ पार्टीका तीन पिल्लर हुन् ।

पार्टी घोषणाअघि अभियानमा ३५२ जनाको राष्ट्रिय समिति बनाइएको थियो । त्यसमध्ये आफ्नो नेवाः समुदायबाट करिब ६० जना रहेको सायमीले बताए । नेवाः नेसनल काउन्सिलबाट सायमी र उपत्यका विशेष व्युरोबाट रवीन्द्र श्रेष्ठ समितिमा सदस्य थिए । श्रेष्ठ पनि नयाँ दलको कोर टीममा छन् । मगरातबाट जुनतारा मगर र तमुवानबाट कमला गुरुङ पनि कोर टीमका सदस्य हुन् ।

संघर्ष र विद्रोहमा जान अभियानले मात्र पुग्दैन, दल नै चाहिन्छ भन्ने महसुस गरेर आफूहरुले यो निर्णय लिएको सायमीले बताए । पदीय जिम्मेवारीको टुंगो लाग्न भने बाँकी रहेको उनको भनाइ छ ।

राजनीतिक छवि गतिलो नभएका राजेन्द्र महतोलाई किन रोज्नुभयो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘पात्रभन्दा पनि विचार ठूलो कुरा हो । उहाँले बोक्नुभएको विचार र हाम्रो विचार मिलेपछि सहकार्य सम्भव भयो ।’

सुमन सायमी काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेर चर्चामा आएका थिए । बालेनसँगै प्रतिस्पर्धा गरेका सायमीले राम्रो भोट पनि ल्याए । मेयरमा उनले १३ हजार ७७० भोट ल्याउँदै चौंथो स्थानमा रहेका थिए । उनले प्रतिनिधिसभाको निर्वाचनमा पनि प्रतिस्पर्धा गरे । काठमाडौं ८ बाट चुनाव लडेका उनी रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठका निकटतम प्रतिस्पर्धी बन्दै पराजित भएका थिए ।


प्रतिक्रिया

One thought on “राजेन्द्र महतोलाई सुमन सायमीको साथ, नयाँ दलको कोर टीममा अरु को को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर