महिला भलिबल लिग : भारतलाई दुई पटक काभा जिताएकी शिल्पा गण्डकीबाट खेल्ने – Nepal Press

महिला भलिबल लिग : भारतलाई दुई पटक काभा जिताएकी शिल्पा गण्डकीबाट खेल्ने

काठमाडौं । भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पा सिन्धुले वात्साल्या एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल) को फ्रेन्चाइजी टीम गण्डकी थन्डर्सबाट खेल्ने भएकी छन् ।

आउँदै गरेको सिजनका लागि गण्डकीले उनलाई टीममा अनुबन्ध गरेको हो । शिल्पा भारतीय टीमकी भरपर्दो खेलाडी हुन् । शिल्पाले भारतलाई अन्तर्राष्ट्रियस्तरमा सफलता दिलाउन महत्वपूर्ण योगदान गरेकी छन् ।

नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा उनी टीमको महत्वपूर्ण सदस्य थिइन् । २२ वर्षीय मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभीसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

शिल्पाले भारतमा हुने दानिकुट्टी डेविड मेमोरियल एन्डोमेन्ट अवार्ड २०२३ पनि जितेकी छन् ।

गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो । आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशाला कभर्डहलमा हुने ईडब्ल्यूभीएलका लागि गण्डकी तयार छ ।

गण्डकीले अब आफ्नो अन्तिम तथा तेस्रो विदेशी खेलाडी छिट्टै सार्वजनिक गर्ने टीमका प्रवन्धक विकास खेतानले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *