अहिले संविधानमाथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक छ: एमाले उपाध्यक्ष पाण्डे (भिडिओ) – Nepal Press

अहिले संविधानमाथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक छ: एमाले उपाध्यक्ष पाण्डे (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले हिजो नयाँ संविधानको आवश्यकता किन पर्‍यो र आज त्यही संविधान माथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको संविधान कार्यान्वयनको १० वर्षस् अनुभव, चुनौती र अबको बाटो विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले के गर्नको लागि संविधान बाइयो र के आवश्यकता पुरा भएन र आज संविधान प्रति असन्तुष्टि बढेको छ भन्ने विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए । ‘एउटा कुरा खोज्ने, अर्को कुरा परिणाम आएन भनेर रिसाएर हुन्छ ?’ उनले भने ।

नेपालको वर्तमान संविधान समावेशिता भएन, सबैको सहभागिता भएन भनेर त्यसलाई सम्बोधन गर्न बनेको पाण्डेले बताए । संविधान बनाउने बेलामा विकासको बहस नै नभएको पाण्डेले दाबी गरे ।

‘देश बनेन भनेर छलफल भएको हो त्यो बेला?आर्थिक विकास भएन भनेर बहस भएको हो? त्यसको लागि संविधान चाहिएको हो त्यहाँ ? त्यो बिलकुल थिएन, समावेशी भएन भनेर खोजेको कुराबाट आर्थिक विकास भएन भन्ने रिजल्ट खोजेर कमेन्ट गरियो भने कुनै नतिजा आउँछ ? एउटा कुरालाई अर्को कुरासँग तुलना गरेर कुनै कुरा आउँदैन, त्यो समावेशिताको तस्बिर चाहिँ आयो कि आएन भन्दा आयो’ उनले भने ।

संविधान बनाउन आर्थिक विकासको लागि आर्थिक संरचना कस्तो हुनपर्छ भन्ने विषयमा छलफल नै नभएको उनले बताए । ‘त्यस कारणले आर्थिक विकास भएन’, उनले भने।

आर्थिक विकासको मुख्य ड्राइभ गर्ने निकाय कुन हो भन्ने नै नेपालमा स्पष्ट नभएको उनले बताए । सबैलाई कारबाही गर्न सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्था बनाएर राजनीतिले समस्या समाधान गर्न सक्दैन भन्ने भाष्य निर्माण गरिएको उहाँको धारणा छ । बनाउनलाई संवैधानिक परिषद्ले, हटाउनलाई दुई तिहाइ’, उनले भने।

काम गर्‍यो कि कुन बेला कारबाही हुने हो भने र कोही हस्ताक्षर नै गर्न तयार नभएका उनले बताए । यस्तो संरचना बनाएर विकासको काम अघि नबढ्ने उहाँले स्पष्ट पारे। ‘अर्थतन्त्र बनाउन बनाइएको संविधान होइन हाम्रो, समावेशी बनाउन बनाइएको हो’, पाण्डेले भने ।

भ्रष्टाचार नियन्त्रण हुनुहुँदैन भनेर आफूले नभनेको भए पनि त्यसको नियन्त्रण कार्यकारीले गर्नुपर्ने उहाँले बताउनुभयो । त्यो गर्ने अधिकार नहुनु र गर्न नसक्नु नै राजनीतिको असफलता भएको उहाँको धारणा छ । राजनीति प्रति नै कसैको विश्वास छैन, जब राजनीतिमा आफैँ प्रति विश्वास छैन भने त्यो राजनीतिले ड्राइभ कसरी गर्छ? सबैभन्दा माथि राजनीतिक संस्कार चाहियो, हाम्रो समस्या राजनीतिमा नै छ, समाधान त्यहीँ खोज्नु पर्छ’, उनले भने ।

समानुपातिक निर्वाचन नराख्दैमा वा थ्रेस होल्ड बढाउँदैमा पनि एक दलको सरकार बन्न नसक्ने उहाँले बताउनुभयो । त्यसको उदाहरण भारत भएको बताउँदै पाण्डेले समस्याको समाधान राजनीति भित्रबाटै खोज्नु पर्ने बताए । राजनीतिमा प्राविधिक कुराहरूले त्यति धेरै महत्त्व नराख्ने उनको धारणा छ ।

अब पुरानै कुराबाट अध्ययन गरे नहुन पनि उनले बताए। अब हरेक कुरालाई नयाँ कोणबाट विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए । वर्ग परिवर्तन भइसकेकोले अब त्यसलाई त्यही कोणबाट विश्लेषण गर्नुपर्ने पाण्डेले बताए।


प्रतिक्रिया

One thought on “अहिले संविधानमाथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक छ: एमाले उपाध्यक्ष पाण्डे (भिडिओ)

  1. मुख्य कुरा सरकार कसरी स्थिर हुन्छ र ५ वर्ष चल्छ भन्ने व्यवस्था गर । अरू कुरा संवत: मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर