रास्वपा राष्ट्रिय भेलाः पहिलो दिन साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’ – Nepal Press

रास्वपा राष्ट्रिय भेलाः पहिलो दिन साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला काठमाडौंको प्रज्ञा भवनमा मंगलबार सुरु भएको छ । बुधबारसम्म चल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गरेका थिए ।

पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गरे ।

उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे ।

‘हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ । यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौं । रास्वपा जित्न र हार्न नभई परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्ने छैन’, सभापति लामिछानेले भने ।

राष्ट्रिय भेलाको पहिलो दिन मंगलबार कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ ।

भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । मंगलबार विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ ।
मंगलबार नै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।

बुधबार प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । बुधबार नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ । अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुने रास्वपाले जनाएको छ ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर