नरेशको पक्षमा थप निर्णय : धरौटीमा छुट्न पाउनेबारे फेरि सुनुवाइ हुने, अन्तिम ट्रायल डिसेम्बरमै – Nepal Press

नरेशको पक्षमा थप निर्णय : धरौटीमा छुट्न पाउनेबारे फेरि सुनुवाइ हुने, अन्तिम ट्रायल डिसेम्बरमै

काठमाडौं । अमेरिकी अदालतले ममता काफ्लेको मुद्दामा प्रतिवादीप्रति सदाशयता देखाउने सिलसिला जारी राखेको छ । ममताको हत्याका आरोपी नरेश भट्टलाई अनुकूल हुने गरी एकपछि अर्को निर्णयहरू भइरहेका छन् ।

नरेश पक्षको माग अनुसार यो मुद्दा ‘स्पिडी ट्रायल’ को प्रक्रियामा गइसकेको छ । यो प्रक्रियामा जाँदा ५ महिनाभित्रै मुद्दाको छिनोफानो भइसक्नु पर्छ । प्रमाण जुटाउन बाँकी रहेकाले सरकारी वकिलहरू मुद्दालाई लम्ब्याउन चाहन्थे ।

नरेशका वकिलहरू भने छिटो फैसला होस भन्ने पक्षमा थिए । अदालतले नरेशका वकिलहरूको माग बमोजिम निर्णय लिएको छ ।

अन्तिम सुनवाइ कहिले गर्ने भनेर अस्ति १६ तारिखमा एउटा मोसन हियरिङ राखिएको थियो । उक्त सुनवाइमा सरकारी वकिलले जनवरीको अन्तिम वा फेब्रुअरीमा राख्न माग गरे ।

५ महिने डेडलाइनको अन्तिमतिर सुनवाइ राख्दा सबै प्रमाणहरू संकलन गर्न आफूहरूलाई सहज हुने उनीहरूको भनाइ थियो ।

यता नरेश भट्टका वकिलहरूले भने नोभेम्बर वा डिसेम्बरभित्रै सुनवाइ हुनुपर्नेमा जोड दिएका थिए । अभियोग पुष्टि हुने ठोस प्रमाण नभएकाले नरेशलाई धेरै थुनामा राखिरहन नहुने उनीहरूको तर्क छ । उनीहरूले ममता ज्यूँदै रहेको समेत अदालतमा दाबी गरेका थिए ।

प्रिन्स विलियम काउन्टी कोर्टका न्यायाधीशले नरेशका वकिलको माग अनुसार निर्णय लिएका छन् । डिसेम्बर ९,१०,११, १६, १७ र १८ तारिखमा मुद्दाको अन्तिम सुनवाइ हुने भएको छ । यो मितिप्रति ममताका वकिलहरू मात्र नभएर नेपाली समुदाय समेत सन्तुष्ट छैनन् ।

यो मुद्दालाई निरन्तर फलोअप गरिरहेका अमेरिका निवासी ‘लुइँटेलजी’ ले अदालतको दृश्य वर्णन गर्दै भनेका छन्, ‘अन्तिम सुनवाइको मिति निर्धारणको प्रक्रिया पनि रोचक थियो । न्यायाधीशले एउटा मिति प्रस्ताव गर्थे । नरेशका वकिलले त्यो दिन आफूले नभ्याउने बताउँथे । फेरि न्यायाधीशले अर्को मिति भन्थे । जनवरीको जुनसुकै दिन प्रस्ताव गर्दा पनि नरेशका वकिलले समय छैन भन्दै पन्छाए । र, उनीहरूकै माग बमोजिम डिसेम्बरको मिति तोकियो ।’

उनको भनाइ अनुसार नरेशका वकिलहरूकै अडानले गर्दा यो मुद्दा अहिले पुरुष न्यायाधीशहरुले मात्रै हेरिरहेका छन् ।

नरेशका वकिलहरूले राखेको अर्को माग पनि अदालतले पूरा गरिदिएको छ । उनीहरूको नयाँ माग थियो, नरेशलाई धरौटीमा छोड्ने विषयमा फेरि सुनवाइ राख्नुपर्ने । अदालतले उनीहरूको मागेबमोजिम ममता कार्यालयबाट निस्किँदै गर्दाको सीसीटीभी फुटेज प्रहरीले उपलब्ध गराएको थियो । त्यस आधारमा नरेश भट्टका वकिलले ममता ज्यूँदै रहेको भन्दै नरेश धरौटीमा छुट्नुपर्ने माग राखेका हुन् । यो मागलाई सदर गर्दै अदालतले २९ तारिखमा अर्को मोसन हियरिङ बोलाएको छ ।

यसअघि अदालतले नरेशको बोन्ड अपिल खारेज गरेको थियो । उनीबाट भाग्न सक्ने र अरूलाई जोखिममा पार्न सक्ने भन्दै न्यायाधीशले धरौटीमा छोड्न अस्वीकार गरेका थिए । तर, फेरि एक पटक यही विषयमा सुनवाइ हुने भएको छ ।

स्मरण रहोस् कि अहिलेसम्म नरेशविरुद्ध हत्याको मुद्दा हालिएको छैन । उनले ममताको हत्या गरेकोमा प्रहरी विश्वस्त रहेका पनि प्रमाण नपुगेको भन्दै मुद्दा नहालिएको हो ।

अहिले चलिरहेको मुद्दा लास बेपत्ता पारेको सम्बन्ध हो । यो अमेरिकी अपराध कानूनमा क्लास ६ फेलोनि अन्तरगत पर्छ । अभियोग प्रमाणित भएको खण्डमा एक देखि ५ वर्ष जेल र २५ सय डलर जरिवाना हुनसक्ने जानकारहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर