आठ महिनामा आधाभन्दा बढी खनियो सिद्धबाबा सुरुङमार्ग – Nepal Press

आठ महिनामा आधाभन्दा बढी खनियो सिद्धबाबा सुरुङमार्ग

रुपन्देही । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार उत्तरतर्फ २३७.८० र दक्षिणतर्फ ३०७.७७ मिटर खनिएको छ । सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको छ ।

नेपाल सरकारले २०७८ साल फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)लाई ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा उक्त सुरुङमार्ग बनाउने ठेक्का दिएको थियो । ठेक्का सम्झौताअनुसार सुरुङमार्ग निर्माणपछि पनि सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गर्नेपर्नेछ ।

हिउँदमा समेत पहिरो झर्ने यस ठाउँलाई सुरक्षित बनाउन २०८० माघ ४ गते सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो ।

बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ । आयोजनाको कूल भौतिक प्रगति २२.८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६.४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको र ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।

‘मुख्य सुरुङ आउँदो डिसेम्बरसम्म छेड्ने लक्ष्य छ । तीनवटा बाइपासमध्ये एउटा छेडियो, एउटा अबको १० दिनभित्र छेडिन्छ’, उनले भनिन् ।

विस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द हुने गरेको छ । कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी छ ।

सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ । यहाँ वर्षायाममा पहिरो झरिरहने समस्या छ । भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ ।

प्रायः हरेक वर्ष जाने पहिरोले जनधन क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो । आयोजनाका अनुसार सुरुङको उत्तर र दक्षिणी क्षेत्रमा रहेको जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने र सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाएर सडक माथिबाट खस्ने ढुंगालाई सीधै तल झारेर ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।

सुरुङमार्गका ३ स्थानमा खुला भाग राखिनेछ । आकस्मिक घटना भइहाले सोही स्थानबाट उद्धारको काम हुनेछ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर