अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटक नेपालमा – Nepal Press

अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटक नेपालमा

काठमाडौं ।अपाङ्गता भएका १२ जनासहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

नेपालस्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका हुन्।

सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपीडिसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ ।

बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौं फर्किने तालिका रहेको छ ।

अपाङ्गता भएका पर्यटकहरुको आगमन र उनीहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए।

“हामीले कतिपय स्थानमा अपाङ्गता मैत्री टे«ल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपाङ्गता मैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं । जसले नेपाल सवलाङ्गका लागिमात्र नभई अपाङ्गताहरुका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्ने छ ।” उनले भने ।
विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख गर्दै नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे ।

“नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ । विगतका वर्षहरुमा नेपाल भ्रमणमा आएका अपाङ्गता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ ,। उनले भने ।

नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजवुत हुने विश्वास व्यक्त गरे । यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपाङ्गता भएका व्यक्तिहरुको नेपाल भ्रमण गर्ने सोंच र योजनाले विश्वरभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए।

“इच्क्षा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो । जुन इच्क्षा शक्ति र आत्मविश्वासले तपाईं हरुलाई नेपालसम्म आइपुग्न अभिप्ररित गर्‍यो , यसले अपाङ्गता भएका अन्य व्यक्तिहरुमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ । ”उनले भने ।

इजरायली राजदुतावासको समन्यवमा गत वर्ष पनि अपाङ्गता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *