सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउने एमालेको योजना, एकताबद्ध प्रतिवाद र प्रतिरोध गर्ने – Nepal Press

सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउने एमालेको योजना, एकताबद्ध प्रतिवाद र प्रतिरोध गर्ने

काठमाडौं । नेकपा एमालेले नियोजितरूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको भन्दै त्यसको संगठितरूपमा प्रतिवाद गर्न तलैसम्म परिपत्र गरेको छ ।

केन्द्रीय सचिवालय बैठकले पारित गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार गर्नेबारे विभिन्न योजना तय गरिएको छ ।

महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययोजनामा पार्टीविरोधी शक्तिहरूबाट नियोजितरूपमा पार्टी र नेतृत्वका विरुद्ध चरित्रहत्या गर्ने र प्रतिष्ठामा आघात पुर्‍याउने खालका अवान्छित र भ्रमपूर्ण विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको उल्लेख छ ।

कार्ययोजनामा भनिएको छ- पार्टीविरोधी तत्वका यस्ता भ्रमपूर्ण प्रचारका कारण सर्वसाधारणमा नकारात्मक प्रभाव विस्तार हुने अवस्था छ । पार्टी कामको योजनाअन्तर्गत पार्टी तथा नेतृत्वको सरकारले गरेका कामहरूको प्रभावकारी प्रचार र गलत तथा भ्रमपूर्ण कुराको प्रभावकारीरुपमा प्रतिवाद गर्नेगरी प्रचार कार्यलाई प्रभावकारी बनाउने विषयलाई महत्वका साथ समेट्नु पर्दछ ।

एमालेले सो योजनाअन्तर्गत प्रत्येक कमिटीले डिजिटल प्रचार डेस्कमार्फत सामाजिक सञ्जाललाई प्रभावकारी परिचालन गर्ने भनेको छ । पार्टीविरुद्ध फैलाइएको भ्रम र अफवाहहरू अध्ययन गरी त्यसको एकताबद्ध रूपमा प्रतिरोध र प्रतिवाद गर्ने एमालेको वार्षिक कार्ययोजनामा उल्लेख छ ।

एमालेले आफ्ना सदस्यहरूका बीचमा सूचना आदान-प्रदान गर्नका लागि प्रत्येक पार्टी कमिटीले प्रविधिमा आधारित सूचना सञ्जाल (नेटवर्क, ग्रुप) निर्माण र परिचालन गर्न तल्लका कमिटीलाई परिपत्र गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर