२०७२ सालमा संविधान जारीपछि नेपाल र भारतका सुरक्षाकर्मीबाट भएका प्रमुख तीन घटना – Nepal Press

२०७२ सालमा संविधान जारीपछि नेपाल र भारतका सुरक्षाकर्मीबाट भएका प्रमुख तीन घटना

काठमाडौं । दोस्रो संविधानसभाले २०७२ भदौ ३० गते सात प्रदेशको खाकासहित नेपालको नयाँ संविधान अनुमोदन गर्‍यो । उक्त संविधानमा तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७२ असोज ३ गते हस्ताक्षर गरे । संविधानसभाबाट बनाइएको नेपालको पहिलो संविधानको दस्तावेजलाई ढोगे र दुई हातमा दस्तावेज उठाएर संविधान जारी गरे ।

नेपाली इतिहासमा संविधानको कोणमा त्यो ऐतिहासिक दिनकै आसपास नेपाल र भारतको कूटनीतिक इतिहासमा भने खराब संकेतहरु आइरहेका थिए । तत्कालीन भारतीय विदेशसचिव तथा हालका विदेशमन्त्री एस. जयशंकरले नेपाली नेताहरुलाई दबाब दिएर तत्काल संविधान जारी नगर्न दबाब दिए । असोज १ र २ मा नेपाल भ्रमणमा आएरै उनले त्यस्तो दबाब दिएका थिए ।

संविधानमा असन्तुष्टि व्यक्त गरेको भारतले चीन, अमेरिकालगायतका देशले बधाई दिँदा पनि उसले दिएन । मात्रै उसले नेपालले जारी गरेको संविधानलाई ‘नोट’ गरेको औपचारिक जानकारी दियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई त आफू र बाबुरामलाई जयशंकरले थर्काएकै कुरा गरेका थिए । यो कुरा कमल थापाले भदौमा सार्वजनिक गरेको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’मा लेखेका छन् ।

उसो त किताब आउनुभन्दा पाँच महिना अगाडि २०८० चैतमा प्रशारण भएको लल्लनटप नामको भारतीय युट्युब च्यानलका प्रधानसम्पादक सौरभ द्विवेदीले नै जयशंकरलाई यसबारेमा सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जयशंकरले नेपाली नेताहरुलाई थर्काएको कुरा दलको दस्तावेजमै राखेको तथा पत्रकार सम्मेलनमा भनेको कुरा कोट्याउँदै प्रधानसम्पादक द्विवेदीले सोध्दा जयशंकरले उत्तर दिएनन् । बरु उल्टै प्रश्न गरे, ‘तपाईंलाई लाग्छ कि म मान्छे धम्क्याउँछु ?’

नेपाल र भारतको कूटनीतिक दरार संविधान जारी गरेको समयमा कुन स्तरमा पुगेको थियो भन्ने कुराको नजिर जयंशकर प्रकरणबाट थाहा हुन्छ । नेपाल र भारतको संविधानको मुद्दामा लिएर भारतले आधा वर्ष लामो नाकाबन्दी नै लगायो । त्यो बीचमा दुई देशका सुरक्षाकर्मीको तर्फबाट केही दुःखद घटना भएका थिए । एक देशको सुरक्षाकर्मीबाट अर्को देशका नागरिक मारिएको घटनामा दुवै पक्ष जोडिएका छन् ।

यहाँ त्यस्तै तीन उदाहरण प्रस्तुत गरिएको छ, जुन कुरालाई कमल थापाले प्रकाशन गरेको ताजा पुस्तकमा पनि प्राथमिकताका साथ ‘तीन अप्रिय घटना’ भनेर चित्रित छ । २०७२ कात्तिक १६, मंसिर ९ र पुस १४ मा वीरगञ्ज, सुनसरी र झापामा ती तीन दुःखद घटना घटेका थिए, घटाइएका थिए ।

घटना १ : मधेशी आन्दोलनकारीसँग मिसिएका भारतीय नेपाल प्रहरीबाट मारिए

घटना २०७२ कात्तिक १६ को हो । नेपाल भारत वीरगञ्ज-रक्सौल सीमा नाकामा मधेशी आन्दोलनकारीहरु बसेर आन्दोलन गरिरहेका थिए । भारतीयहरु पनि मिसिएर बसेका आन्दोलनकारीहरुले भारतीय सीमामा बसेर नेपालमा सवारीसाधन चल्न दिइरहेका थिएनन् । उनीहरु नेपालतर्फ आएर नेपाल प्रहरीसँग जुधेका थिए । त्यस क्रममा नेपाल प्रहरीले गोली चलायो । गोली लागेर मधेशी आन्दोलनकारीसँग मिसमास भएर आएका भारतीय नागरिक आशिषकुमार राम मारिए ।

परराष्ट्र मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गरेर सूचना नै सार्वजनिक गरेको थियो । नेपाल प्रहरीबाट भारतीयको मृत्यु भएको खबर नेपाल र भारतमा मात्रै होइन, अमेरिकाका न्यू योर्क टाइम्स, लस एन्जलस टाइम्स लगायतका अखबारहरुमा पनि प्रकाशन भएको थियो ।

घटना २ : सुनसरीमा नेपाली बस्ती छिरेर भारतीय एसएसबीबाट तीन जनामाथि गोली प्रहार

नाकाबन्दी कालमा कोशी प्रदेशको सुनसरीमा पनि दुःखद घटना घटेको थियो । घटना २०७२ मंसिर ९ गतेको हो । उक्त दिन नेपाली सीमामा छिरेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालीलाई गोली हानेका थिए । हतियारधारी जवानहरुले हरिहरपुरको पुर्नी टोलमा गोली हानेका थिए । कमल थापाले किताबमा भने पुर्नी टोललाई पूर्वी टोल भनेर लेखेका छन् । उक्त घटनामा आगो तापिरहेका चार नेपालीलाई एसएसबीले गोली चलाएको थियो ।

रासायनिक मल तस्कर गरेको भन्दै उनीहरुले नेपाली सीमाको १०० मिटर छिरेर गोली हानेका थिए । सुनसरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तत्कालीन तथ्यअनुसार घाइते हुनेहरुमा अशोक यादव, नरेश यादव, सरोज यादव र मनोज यादव थिए । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो ।

घटना भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतलाई घटनाबारेमा छानबिन गर्न भनेका थिए । भारतीय दूतावास काठमाडौंले भने नेपालभित्र छिरेर गोली चलाएको अस्वीकार गरेको थियो ।

घटना ३ : झापामा हतियारसहित भारतीय सुरक्षाकर्मीहरु नेपाल प्रवेश

यो घटना भारतसँग संधियारी भएको झापाको कचनकवल क्षेत्रमा घटेको थियो । २०७२ पुस १४ गते १३ जना भारतीय एसएसबीका जवान नेपालमा हतियारसहित प्रवेश गरे, उनीहरुले कसैलाई गोली चलाएनन् । कसैलाई केही क्षति गरेनन्, तर कानून मिचेर उनीहरुले नेपालको सीमा प्रवेश गरेका थिए । नेपाली पक्षले उनीहरुलाई पक्राउ गर्‍यो । नेपाल छिरेका उनीहरुलाई नेपाली नागरिकहरुले घेरा हालेपछि मात्रै नेपाली सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।

पक्राउ परेका भारतीयहरुलाई नेपालले ७ घण्टा नियन्त्रणमा लिएर छोडेको थियो । छोडेपछि नेपालीहरुले नाराबाजी गरेर विरोध गरेका थिए । भारतीय पक्षले भने सुपारी तस्करलाई पच्छ्याउँदै भूलवस नेपाल छिर्न पुगेको दाबी गरेको थियो । उक्त घटनालाई लिएर नेपालले भारत सरकारसँग त्यस घटनाबारेमा विरोध गरेको तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर