पराजयलायक थिएन गुल्शनको अलराउन्ड प्रदर्शन, कहाँ चुक्यो नेपाल ? – Nepal Press

पराजयलायक थिएन गुल्शनको अलराउन्ड प्रदर्शन, कहाँ चुक्यो नेपाल ?

काठमाडौं । ओमानविरुद्धको रोमाञ्चक खेलमा नेपालले जितको नजिक पुगे पनि अन्ततः निराशा हात पारेको छ । अन्तिम ओभरमा ८ रन जोगाउन नसक्दा नेपालले लिग २ शृङ्खलामा महत्त्वपूर्ण २ अंक ओमानलाई सुम्पिनुपर्‍यो ।

दुई दिनअघि क्यानडासँग फराकिलो अन्तरले हारेको नेपाल जसरी पनि जित निकाल्ने योजनामा थियो । ओमानविरुद्ध नेपाली खेलाडी आत्मविश्वासी किन थिए भने दुई देशबीचको पछिल्ला चार भिडन्तमा नेपालले तीन जित निकालेको छ । नेपाल र ओमान पछिल्लो पटक एसीसी प्रिमियर कपको समूह चरणमा भिडेका थिए । घरेलु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ८४ रनको विशाल जित निकाल्न सफल भयो ।

तर, क्यानडाको किङ सिटी मैदान नेपाल टीमका लागि कीर्तिपुरजस्तो सहज छैन । नेपाली ब्याट्सम्यानहरू यस्तो कठिन पीचमा बारम्बार लड्खडाउने गरेका छन् । अघिल्लो म्याचमा घरेलु टिम क्यानडाविरुद्ध नेपालको ब्याटिङ पूर्णरुपमा फ्लप भएको थियो । तल्लो क्रमले अलिकति इज्जत जोगायो । ओमानविरुद्ध नेपालले सुधारिएको प्रदर्शन त गर्‍यो, तर जितका लागि पर्याप्त भएन ।

अघिल्लो म्याचको पराजयबाट आत्तिएर नेपालले रणनीति परिवर्तन गर्दै प्लेइङ सेटमा तीनवटा महत्त्वपूर्ण परिवर्तन गरेको थियो । कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीजस्ता तीन स्टार ब्याट्सम्यानहरूलाई एकै पटक विश्राम दिइयो । कठिन पीच भएकाले आक्रामक ब्याट्सम्यानहरूलाई बाहिर राखेर अर्जुन साउद, आरिफ शेख र अनिल साहलाई इन्ट्री गरियो । तर, यही निर्णयले नेपाललाई ब्याक फायर गर्‍यो भन्दा फरक नपर्ला ।

पिच कठिन भए पनि आक्रामक ब्याट्सम्यानहरूका लागि मौका पनि थियो भन्ने गुल्शन झा र सोमपाल कामीको इनिङबाट महसुस गर्न सकिन्छ । प्राय सम्हालिएर खेल्ने कप्तान रोहित पौडेलले समेत राम्रो स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । तर, अग्रंपंतिका ब्याट्सम्यानहरूले डिफेन्सीभ माइन्डसेटमा खेल्दै अत्यधिक बल खपत गर्न पुगे, जसले गर्दा नेपाल बलियो स्कोरबाट चुक्यो ।

तीन शीर्ष ब्याट्सम्यान अर्जुन साउद, आसिफ शेख र भीम सार्कीले क्रमशः ४१, ३९ र ३४ को स्ट्राइक रेटमा ब्याटिङ गरेर असाध्यै धिमा सुरुवात दिए । नेपालले १३.१ ओभरमा ३ विकेट गुमाउँदा जम्मा ३१रन जोड्न सकेको थियो । तेस्रो विकेट गएपछि आएका आरिफ शेखले कप्तान पौडेलसँग उपयोगी साझेदारी त गरे, तर व्यक्तिगत स्ट्राइक रेट उकास्न सकेनन् । टेस्ट शैलीमा ब्याटिङ गर्दै उनले ८८ बलमा ३५ रन जोडेका थिए ।

ब्याटिङ क्रममा परिवर्तन गर्दै नेपालले गुल्शन झालाई छैटौँ नम्बरमा पठायो । यो निर्णय फलदायी भयो । ओमानका बलरमाथि काउन्टर अट्याक गर्दै गुल्शनले विष्फोटक अर्धशतक बनाए र नेपाललाई राहत दिए । कप्तानी इनिङ खेल्दै पौडेलले ७२ बलमा ६० रन जोडे । १० औँ नम्बरमा आएर सोमपाल कामीले ८ बलमा २० रन हान्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याए ।

बलिङमैत्री पीचमा नेपालले यति स्कोर डिफेन्ड गर्न सक्ने अपेक्षा थियो । तर ओमानले ब्याटिङमा शानदार सुरुवात गर्‍यो । १६ ओभरमा विना विकेट क्षति ७५ रन जोड्दा ओमान सहज जितको बाटोमा देखियो । १६.१ ओभरमा सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गरिरहेका जतिन्दर सिंहलाई पेभिलियनको बाटो देखाएपछि नेपालले खेलमा फर्किने बाटो खुल्यो । अर्का ओपनर कश्यम प्रजापतिलाई ३६ रनको अवस्थामा आरिफ शेखले आउट गरे । त्यसपछि सुरु भयो ‘गुल्शन झा शो’ ।

गुल्शनले अकिब इलियास र आयान खानलाई छोटो अन्तरालमा आउट गरेपछि नेपाल वास्तविकरुपमा खेलमा फर्कियो । ओमानले २८.३ ओभरमा १२९ रन जोड्दा ४ विकेट गुमाएपछि खेल सन्तुलनमा आएको थियो । त्यसपछि ओमानका खालिद कैल र प्रतिक अथाभलेले ओमानलाई अगाडि बढाउँदै १५९ रनसम्म पुर्‍याए । उनीहरूको साझेदारी करण केसीले तोडे । आफ्नो लगातार दुई ओभरमा उनले दुवै ब्याट्सम्यानलाई आउट गरेपछि ओमान १६४ रनमा ६ विकेट गुमाएर चुनौतीपूर्ण अवस्थामा पुग्यो । जितका लागि अझै ५७ रन बाँकी छँदा नेपाल खेलमा हाबी हुन थाल्यो ।

त्यसपछि गुल्शन झाले ३ विकेट लिँदै पहिलो पटक आफ्नो खातामा ५ विकेट पुर्‍याए । एक दिवसीयमा एकै खेलमा ५ विकेट र अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् गुल्शन । ४७.१ ओभरमा ओमानले नवौँ विकेट गुमाउँदा जितका लागि १८ बलमा १० रन आवश्यक थियो । पुछारका दुई ब्याट्सम्यानले सम्हालिएर खेले । नेपालले उनीहरूलाई आउट गर्न सकेन । अन्तिम ओभरमा ओमानलाई ८ रन चाहियो ।

नेपालसँग बलिङमा धेरै अप्सन बाँकी थिएन । करण, गुल्शन र सन्दीपले बलिङ कोटा पूरा गरेका थिए । सोमपाल कामी, आरिफ शेख, र ललितमध्ये एकजनालाई बल थमाउनुपर्ने थियो कप्तानले । सोमपाल सुरुबाटै महँगा बनिरहेका थिए । तर, फ्रन्टलाइन फास्ट बलर भएको हिसाबले कप्तान पौडेलले उनैलाई विश्वास गरे । तर, सोमपालले ८ रन जोगाएर नेपाललाई जिताउन सकेनन् । दुईवटा चौका हान्दै अन्तिम ओभरको पाँचौं बलमा ओमानले लक्ष्य भेट्यो ।

खेलको नतिजा नेपालको पक्षमा नरहे पनि गुल्शनको प्रदर्शन एउटा सुखद समाचार हो । उनले आफ्नो अलराउन्ड क्षमता देखाए । ब्याटिङ र बलिङ दुवैमा आफूलाई प्रमाणित गरे । गुल्शन क्रिजमा आउँदासम्म नेपालको रनरेट एकदमै दयनीय थियो । नेपालले ३७ ओभरमा ४ विकेट गुमाउँदा ११४ रन मात्र जोड्न सकेको थियो र दुई सय रन पुर्‍याउन मुस्किल हुने अवस्था थियो । गुल्शन आएपश्चात कप्तान पौडेलले खुलेर खेल्न थाले । उनले ७२ बलमा ४ छक्का र २ चौकासहित ६० रन बनाएर आउट भए । त्यसपछि गुल्शनले हात खोले । ४६ औँ ओभरमा गुल्शनले अकिब इलियासलाई दुई छक्का र दुई चौकासहित २३ रन हान्दै नेपाललाई २ सय रन नजिक पुर्‍याएका थिए ।

तल्लो क्रममा ब्याटिङ गर्दै यसअघि पनि नेपालका लागि थुप्रै महत्त्वपूर्ण इनिङ खेलेका छन् गुल्शनले । बलिङमा भने उनको यो प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट हो । एउटा वास्तविक अलराउन्डर प्रमाणित गरेका छन् उनले आफूलाई । खेल नेपालले नजिते पनि उनी म्यान अफ दी म्याच बने । नेपालले खेल जितेको भए गुल्शनको प्रदर्शन अझै अविस्मरणीय बन्न सक्थ्यो । त्यस हिसाबले उनी अभागी बने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *