रास्वपाको नयाँ नारा- अब जान्ने बनौं, लिडरसीप एकेडेमीबाट नेता उत्पादन गर्ने रविको अवधारणा – Nepal Press

रास्वपाको नयाँ नारा- अब जान्ने बनौं, लिडरसीप एकेडेमीबाट नेता उत्पादन गर्ने रविको अवधारणा

स्थानीय चुनावमा प्रतिस्पर्धा गर्न यस्तो छ रणनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको नयाँ नारा अघि सारेका छन्- अब जान्ने बनौं । उनले पार्टीभित्र नेतृत्व उत्पादनका लागि ‘लिडरसीप एकेडेमी’ बनाउने प्रस्तावसमेत गरेका छन् ।

रास्वपाको राष्ट्रिय भेलामा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै लामिछानेले उक्त प्रस्ताव गरेका हुन् । यसअघि पार्टीले लिएको ‘जान्नेलाई छान्ने’ नाराले एक हदसम्म काम गरेको भए पनि अब यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेको उनले बताए ।

रविको कार्यपत्रमा भनिएको छ, ‘पार्टी गठनको पाँच महिनामै २०७९ को आमनिर्वाचनमा होमिदा हामीले नारा बनाएका थियौं, ‘जान्नेलाई छान्ने’ । युवा उमेरमै समाजमा राम्रो पहिचान बनाएका, उच्च शैक्षिक योग्यता पनि भएका र नैतिक एवं राजनीतिक रूपमा इमान्दार हाम्रा उम्मेदवार तुलनात्मक रूपमा ‘जान्ने’ भएकाले यो नारा दिएका थियौं । यो नाराले अन्य दलका पनि ‘जान्ने’ उम्मेदवार छान्न मतदातालाई दबाब परोस् भन्ने अभिप्राय समेत बोकेको थियो । एक हदसम्म यो नाराले काम पनि गर्‍यो । एउटै नाराले बदलिएको अवस्थाको चित्रण र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले हामीले ‘अब जान्ने बनौं’ भन्ने नारा र यो नारालाई सार्थक बनाउने अभियान ल्याएका छौं ।’

यो नारालाई सार्थक बनाउनका लागि लामिछानेले लिडरसीप एकेडेमीको प्रस्तावसमेत गरेका छन् । यो एकेडेमीले युवाहरूलाई राजनीतिक र व्यवस्थाकीय ज्ञान दिने तथा अभ्यास गराउने उनको सोच छ ।

प्रतिवेदनमा लामिछानेले लेखेका छन्, ‘हामीले व्यवस्था त उन्नत ल्यायौं । तर, त्यसको व्यवस्थापन चाहीँ …? हो, हामी चुकेको व्यवस्थामा होइन, व्यवस्थापनमा हो । पूर्ण राजनीतिक चेतना र संस्कार तथा दृढ इच्छाशक्ति र नैतिक चरित्रयुक्त एवं योग्य सक्षम रचनात्मक व्यक्तिले मात्रै व्यवस्थापन गर्न सक्ने सत्य आत्मसाथ गरेर हामीले त्यो स्तरको राजनीतिक जनशक्ति उत्पादनको उद्देश्यमा लिडरसिप एकेडेमीको अवधारणा ल्याएका हौं ।’

लामिछानेका अनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट चिफ चान्सलर वा प्रधानसंरक्षक बनाइनेछ । यस्तै, विषय विज्ञहरूमध्येबाट एकेडेमी परिषदका १० जना पदाधिकारी नियुक्त गरिनेछ । विषयविज्ञहरूमध्येबाट १ कार्यकारी चान्सलर र विषयगत प्रशिक्षण दिने ख्यातीप्राप्त विज्ञ,, विशेषज्ञ, अनुसन्धानकर्ता एक सयजना राखिनेछ ।

लिडरसीप एकेडेमीबाट प्रशिक्षित भएर योग्य उम्मेदवार मतदाताबीच जाने लामिछानेले बताएका छन् । एकेडेमीबाट प्रशिक्षित नभइकन चुनाव लड्न पाइने छैन । यद्यपि, आसन्न स्थानीय तहको उपनिर्वाचनमा भने लिडरसीप एकेडेमीबाट उम्मेदवार चयन गर्न नभ्याइने भन्दै लामिछानेले फरक रणनीतिको प्रस्ताव गरेका छन् ।

‘१६ मंसिर २०८१ का लागि स्थानीय निर्वाचन घोषणा गरिएको छ । त्यस बेलासम्म हाम्रो योजनाको लिडरसिप एकेडेमीबाट योग्य उम्मेदवार तयार हुने सम्भावना कम भएकाले सो निर्वाचनमा हामी आफ्नो उम्मेदवार उठाउने, योग्य गैरदलीय स्वतन्त्र उम्मेदवारहरूलाई घन्टी चिन्ह दिने वा कुनै गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन मात्र दिनेमध्ये एक विकल्प छान्न सक्नेछौं ।’

तयारी र योग्यता पुगेको उम्मेदवार बिना चुनावमा सहभागी हुनु ठिक नहुने लामिछानेले बताएका छन् । सके हाम्रोले नसके राम्रोले जित्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “रास्वपाको नयाँ नारा- अब जान्ने बनौं, लिडरसीप एकेडेमीबाट नेता उत्पादन गर्ने रविको अवधारणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर