उपेन्द्रको दाबी- यो संविधान केही लेखनदासले लेखेका हुन्, सबै समुदायले मेरो भन्न सकेका छैनन् – Nepal Press
नेपाल टक

उपेन्द्रको दाबी- यो संविधान केही लेखनदासले लेखेका हुन्, सबै समुदायले मेरो भन्न सकेका छैनन्

'थ्रेस होल्ड सद्दे मान्छेले बोल्न सुहाउँदैन, विगत ७० वर्षमा कुनचाहीँ सरकारले आफ्नो पूरा कार्यकाल काम गर्‍यो ?'

संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरू संविधान संशोधन पश्चगामी हुने बताइरहेका छन् । सरकारले संविधान संशोधनालाई आफ्नो सात बुँदे सहमतिआनुसार न्यूनतम साझा कार्यक्रममा पनि प्राथमिकताका साथ राखेको छ । सबै दललाई साथमा लिएर संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताइरहेका छन् । यो विषयले सत्ता पक्ष र प्रतिपक्षमाबीच संसददेखि विभिन्न कार्यक्रममा सवालजवाफ चलिरहेको छ । यसै मेसोमा न्यूज एजेन्सी नेपालले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरेको कुराकानीको अंश ।

– संविधान कार्यान्वयनको नौ वर्ष पूरा भएर दश वर्ष प्रवेश गर्दैगर्दा संविधान कार्यान्वयनको अवस्था कस्तो छ, कसरी समीक्षा गर्नुहुन्छ ?

यो संविधान संविधानसभाबाट घोषणा गरिएको हो । केही लेखनदासहरू मिलेर लेखेको संविधान हो । संविधानसभामा ३६६ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । कुनैमाथि छलफल नगरी, सोझै जबरजस्ती घोषणा एकातर्फ गराए संविधानसभाबाट । अर्कोतर्फ जनता यसको विरुद्धमा थिए जसमाथि गोली हान्दै थिए । जनताको हत्या गरेर संविधानसभामा संशोधनमाथि पनि छलफल नगरिकन जबरजस्ती दलका दम्भका आधारमा कांग्रेस-एमालेले यो संविधान घोषणा गराएका हुन् । संविधानसभाले बनाएको संविधान भन्न मिल्दैन ।

दोस्रो कुरा, यो संविधानमा केही सकारात्मक, केही नकारात्मक कुराहरू छ । सकारात्मक कुरा हेर्दा सार्वभौमसत्ता सम्पन्न जनता छन् । संघीयता छ । गणतन्त्र छ । समावेशिता छ । धर्मनिरपेक्षता ‘लंगडो’ छ । मौलिक हक छन् । सामाजिक न्यायको कुरा गरिएको छ । यावत कुराहरू रहेका छन् जो सकारात्मक कुरा हो । तर, यो संविधान विभेदकारी छ । यसको सुरूवात नै विभेदकारी छ ।

संविधानको प्रस्तावनामा जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनहरूको उल्लेख गरिएको छ । तर, ऐतिहासिक मधेश जनविद्रोह, जुन आन्दोलनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भयो त्यसको उल्लेख नगर्नु भनेको किन ? कि त अरुको पनि गर्नु हुँदैन थियो । कि त मधेस आन्दोलनको पनि गर्नुपर्थ्यो । त्यो नगर्नुपर्ने कारण के हो भने मधेसीहरुप्रति यति पूर्वाग्रही भए, कि मधेशको आन्दोलन र त्यहाँ दिइएको सहादतलाई समेत स्वीकार गर्न सकेनन् यो संविधान बनाउनेहरूले । जनताहरुले, विभिन्न समुदायहरूले आफ्नो पहिचान खोजिरहेका थिए ।

वास्तवमा नेपाल बहुराष्ट्रिय मुलुक हो । बहुजातीय मुलुक हो । सबैको आ-आफ्ना भेषभूषा, भाषा, संस्कृति, पहिचान र परम्परा रहेका छन् । तिनलाई स्वीकार गर्ने कुरा सामान्य कुरा हो गर्नुपर्थ्यो । त्यसो गरिएन । तर, खस आर्यलाई संविधानमा परिभाषित गरियो । खस आर्यलाई परिभाषित पनि, थरहरू पनि तोकियो । अरुको परिभाषा लेखिएन । भनेपछि खस आर्यको परिभाषा लेख्नु, अरुको नलेख्नु, सबै आन्दोलनको चर्चा प्रस्तावनामा गर्नु, मधेस जनविद्रोहको चर्चा नगर्नु भनेको के हो भन्दाखेरी पूर्वाग्रहपूर्ण विभेदकारी हो भन्ने कुरा त देखिन्छ नि ।

– संविधानलाई त तपाईँहरूले पनि स्वीकार गर्नुभएको छ नि होइन ?

होइन, हामीले प्रक्रियालाई अगाडि बढाइदिएका हौँ । हामीकहाँ दुईवटा बाटा थिए त्यो बेला । या त यो सम्पूर्ण संविधानलाई नै खारेज गराएर अर्को बनाउनेतिर लाग्ने । वा यो संविधानमै रहेका त्रुटि, कमी कमजोरीहरूलाई, विभेदकारी प्रावधानलाई सच्याउने । हामीले लोकतान्त्रिक विधिलाई अपनायौँ । संविधान संशोधन, परिमार्जन र पुनःलेखनको बाटोबाट यो संविधानलाई सच्याउनुपर्छ भन्यौँ । अहिले पनि हामी यो संविधानको पुनर्लेखन नै हुनुपर्छ भनिरहेका छौँ । संविधानको संशोधन, परिमार्जन नै गर्नुपर्छ भनिरहेका छौँ । जहाँ-जहाँ गल्ती त्यहाँ सच्याउँ भनेको हो ।

सच्याउँछौ भनेर पटक-पटक कांग्रेस, एमाले, माओवादी समेतले सरकार बनाउँदाखेरी हामीहरूसँग धेरैवटा सम्झौताहरू गरेका छन् । संविधान संशोधन गर्ने भनेर । एकपटक त शेरबहादुरजी प्रधानमन्त्री हुँदाखेरी संविधान संशोधनको प्रस्ताव नै लगिएको थियो । बहुमत त भयो तर दुईतिहाइ नभइ पास भएन । पछिल्लो पटक केही दिनका लागि म कानूनमन्त्री हुँदाखेरी संविधान संशोधन गर्नका लागि संविधान विज्ञहरूलाई राखेर यो संविधानको पूरा पुनरावलोकन गरेर, त्यसका सिफारिसका आधारमा संशोधन गरौँ भन्ने प्रस्ताव लगेका थियौँ । संविधान पुनरवलोकन आयोग बनाऔँ भनेर । आफैँले संविधान संशोधन गर्छु भन्ने प्रधानमन्त्रीले त्यो आयोग गठन गर्न मान्नुभएन र मैले सरकार नै छोडिदिएको हो ।

– यो संविधान सफल भयो कि असफल त हालसम्मको कार्यान्वयनको स्थिति हेर्दा ?

यो संविधानलाई सफल भन्न मिल्दैन । किन मिल्दैन भने यो संविधान पूरै देशका सबै समुदायले मेरो संविधान भन्न सकेको छैन । जबसम्म सबै समुदायका जनताले आफ्नो संविधान मान्दैन । यसको स्वामित्व लिँदैन । तबसम्म यो संविधान सफल भएको मानिँदैन । कार्यान्वयनको हकमा अहिलेसम्म पनि संविधानले कार्यान्वयन गर्न सकेको छैन ।

उदाहरणः संविधान घोषणा भएको तीन वर्षभित्र संघीयता कार्यान्वयन गर्ने सबै कानूनहरू बनाइसक्ने भनेर संविधानमा लेखियो । त्यो नलेखेको भए पनि हुन्थ्यो । तर ९ वर्ष काटिसकियो त । खोई कानून बनेको ? खोइ कार्यान्वयन भएको ? अझै संघीयता कार्यान्वयन भएको छैन । अझै प्रदेशहरू अधिकार सम्पन्न छैनन् । प्रदेशलाई चाहिने कानून संघले बनाएको छैन । कर्मचारी, प्रहरीलगायत समायोजन गर्न सकेका छैनन् । अझै प्रदेशहरुले वित्तीय अधिकारहरु पाएका छैनन् । संविधानमा लेखिएका छन् नि स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र, कागजमा मात्रै छ । त्यसकारणले संविधान कार्यान्वयनमा सरकार बनाउने, संसदको चुनाव गर्ने, संवैधानिक नियुक्ति गर्ने बाहेक अन्य कुराहरु कार्यान्वयन गर्न सक्ने अवस्थामै छैन ।

– संविधान के-केमा संशोधन गर्नुपर्छ ?

सबभन्दा पहिले विभेदकारी प्रावधान जति हटाउनुपर्छ । दोस्रो संशोधन गरिहाल्नुपर्ने मुल विषय भनेको संघीयता हो । संघीयतामा जुन सातवटा प्रदेश छ यो अव्यवहारिक, अवैज्ञानिक छ । राज्य पुनःसंरचना आयोगले दिएको दश प्लस एक प्रदेशको अवधारणा योभन्दा धेरै उपयुक्त छ । दोस्रो, प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्‍यो । तेस्रो, के हो भन्दाखेरी राष्ट्रिय सभालाई अधिकारसम्पन्न बनाउनुपर्छ । अहिलेको जस्तो गहनाजस्तो राखेर के अर्थ छ र !

शासकीय स्वरूप प्रधानमन्त्रीय प्रणाली नेपालमा असफल भइसकेको छ । यसले भ्रष्टाचार र राजनीतिक अस्थिरताको अखडा बनाइदिएको छ नेपाललाई । यसलाई खारेज गरेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणाली र समानुपातिक, समावेशी हुनेगरी जनताबाट निर्वाचित संसद हुनुपर्छ । संसदले सरकार बनाउने होइन । जनताबाट निर्वाचित कार्यकारिणी अधिकार सम्पन्न राष्ट्रपतिले आफ्नो सरकार बनाउने हो विज्ञहरूलाई लिएर । अर्को संशोधन गर्नुपर्ने निर्वाचन प्रणाली हो । यो खिचडी निर्वाचन प्रणाली, विकृतिमूलक निर्वाचन प्रणाली हो ।

एक त समानुपातिकमा विकृति छ, यो समानुपातिक पनि होइन । यो मिक्स गर्दाखेरी झन् गलत-गलत भएको छ । नेपालजस्तो अल्पविकसित मुलुकमा संसारको धनि र खर्चिलो चुनाव प्रणाली हो यो । यो चुनाव प्रणालीलाई हटाएर पूर्ण समानुपातिक, समावेशी निर्वाचन हुनुपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली जहाँ न दलले आर्थिक खर्च गर्नु परोस् न उम्मेदवारले परोस् । जुन प्रणाली संसारका करिब ७० देशमा अहिलेपनि चलिराखेको छ ।

सत्ताको दुरुपयोग, पैसाको दुरुपयोग गर्ने र भ्रष्टाचार गर्ने जग नै, आधार नै चुनाव प्रणालीले दिएको छ । प्रदेशहरू स्वायत्त अधिकार सम्पन्न भएपछि जुन स्थानीय तहहरू हुन् नि, स्थानीय तहहरुलाई दल विहीनताको आधारमा चुनाव गराउनुपर्छ । दल प्रदेश र केन्द्रमा रहने हो । स्थानीय तहलाई दल विहीनताका आधारमा गराएर दलको चुनाव चिन्हबाट नगराउने । र, त्यो प्रदेशका मातहतमा रहनुपर्दछ । प्रदेशका क्षेत्राधिकारभित्र रहनेगरी गर्नुपर्छ ।

अर्को कुरा न्यायपालिकाको । न्याय यति महङ्गो भयो, सामान्य मान्छेले तलदेखि सर्वोच्च अदालतसम्म पुग्नै सक्दैन । वर्षौं वर्ष लाग्ने भयो । अहिले पनि १८/१९ जना न्यायाधीश हुन्छन् सर्वोच्चमा । २४/२५ हजार मुद्दा छ । दिनमा ४/५ मुद्दा छिन्छन् । ५०/६० वटा दर्ता हुन्छ । अनि त्यो कहिले टुंगिने ? व्यवस्था संघीय प्रणालीमा छ । न्यायपालिका एकात्मक प्रणालीमा छ । यसलाई पनि संघीय प्रणालीमा लगेर यसको संरचनागत परिवर्तन गर्नुपर्छ । अर्को कुरा, सबै समुदायहरुको जनसङ्ख्याका आधारमा सबै ठाउँमा प्रतिनिधित्व गर्ने खालको समावेशीय लोकतन्त्रको दिशामा लानुपर्छ । र, सामाजिक न्यायलाई प्रत्याभूति गराउने जसमा शिक्षा र स्वास्थ्य जस्ता आधारभुत कुराहरुलाई राज्यले नै दायित्व लिने गरी अगाडि बढ्नुपर्छ ।

निर्वाचन क्षेत्र जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था हुनुपर्छ । जहाँ जनसङ्ख्या नै छैन । त्यहाँ रुख, विरुवाले प्रतिनिधित्व गर्ने होइन । जहाँ जनसङ्ख्या छ, जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व प्रणाली गर्ने । अहिले रहेका संसदीय निर्वाचन क्षेत्र, प्रादेशिक निर्वाचन क्षेत्रलाई पुनःसंरचना गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीमा देश नै एउटा निर्वाचन क्षेत्र हुने भएकाले त्यहाँ केही गर्नुपरेन । यो निर्वाचन क्षेत्र खारेज हुन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमै राख्ने हो भने दलित, महिलाजस्ता अति सीमान्तकृत समुदायहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनु पर्छ । जहाँ उनीहरुबाटै प्रतिनिधित्व होस् ।

– प्रतिनिधिसभाबाट समानुपातिक हटाएर राष्ट्रियसभामा लैजाने भन्ने चर्चा छ नि ?

त्यो त वैमनश्यपूर्ण कुरा हो । समानुपातिक प्रणालीबाट निमुखा जनताहरू, सीमान्तकृत जनताहरू, महिलाहरू प्रतिनिधित्व गर्न पाएका छन् । उनीहरूले आवाज उठाउन पाएका छन् । त्यो आवाजलाई बन्द गर्ने षड्यन्त्र हो । उनको प्रतिनिधित्व हुन नदिने षड्यन्त्रस्वरूप आएका कुराहरू हुन् । यो मान्य छैन ।

– थ्रेसहोल्ड बढाउने कुरा पनि छ, राजनीतिक स्थिरताका लागि ?

सद्दे मान्छेले बोल्न सुहाउँदै यो । थ्रेसहोल्ड कहिलेदेखि आएको ? भर्खर आएको हो, संविधान बन्दा राखेको । कानूनमा राखेको हो खासगरीकन । राजनीतिक स्थिरता २००७ सालदेखि अहिलेसम्म कहिले थियो ? ००७ सालदेखि ०१७ सालको बीचमा त दर्जनौ सरकार बदलिए । त्यहाँ के भएर बदलिएको हो ? ०४६ सालदेखि आएर पनि सरकार बदलिए । अनि पञ्चायतकालमा त कुनै थ्रेसहोल्ड थिएन । त्यहाँ पनि सरकार बदलिइरहन्थे । विगतको ७० वर्षमा कुनचाहीँ सरकारले आफ्नो पूरा कार्यकाल पूरा गर्‍यो त ? त्यसकारण राजनीतिक अस्थिरताका कारण थ्रेसहोल्ड होइन । राजनीतिक अस्थिरताका कारण निर्वाचन प्रणाली र शासकीय स्वरूप नै हो ।

– संघीयताको प्रभावकारी कार्यान्वयन किन हुन सकेन त ?

कांग्रेस र कम्युनिस्टहरुको पार्टीको सत्ता उच्च वर्ग र उच्च जातिहरूको, सम्भ्रान्त वर्गहरूको कब्जामा छ । उनीहरूले आफ्नो स्वार्थ यसैबाट पूरा गर्छन् । यसैमा हालिमुहाली गर्न सकिन्छ । अन्य परिवर्तन भयो भने यो स्वार्थ जनतामा जाने हो कि भन्ने भय, आतंकले संविधानलाई संकूचित र संकीर्ण बनाएका हुन् ।

– प्रतिनिधिसभाको यो कार्यकालमा संविधान संशोधन होला ?

मलाई त विश्वास नै छैन, उहाँहरूले संविधान संशोधन गर्नुहोला भनेर । गरेपनि प्रतिगमनतिर जानेगरी गर्नुहोला । अग्रगमनतर्फ जानेगरी संविधान संशोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । उहाँहरूले गर्न चाहनुभयो भने हाम्रो साथ हुन्छ । तर, प्रतिगमन ल्याउने, जनताले पाएका अधिकार खोस्ने, समानुपातिक, समावेशितालाई समाप्त पार्ने, संघीयता समाप्त पार्ने जस्ता षड्यन्त्रमा कांग्रेस, कम्युनिस्ट लागेको कुरा जगजायर छ नि !

– अन्त्यमा केही भन्नु छ ?

यो संविधानलाई केही मुठीभर मान्छेहरूले स्वीकार गरेका हुन् । देशको आधा भन्दा ठूलो जनसङ्ख्या रहेको मधेश, आदिवासी, दलितहरू रहेका पहाडले स्वीकारेका छैनन् । जबसम्म यी सबै समुदायले यो संविधानलाई स्वीकार्दैनन्, या स्वीकारयोग्य संविधान बन्दैन, तबसम्म राजनीतिक स्थिरता भयो । शान्ति हुन्छ । आन्दोलन र विद्रोह हुन्न भन्नेकुराको कल्पना नगरे हुन्छ । त्यसकारणले यो संविधानको संशोधन, परिमार्जन गरौँ या पुनःलेखन गरौँ । समय सापेक्ष जनताको भावना अनुकूल सबै समुदायलाई समेट्ने गरी बनाऔँ ।


प्रतिक्रिया

2 thoughts on “उपेन्द्रको दाबी- यो संविधान केही लेखनदासले लेखेका हुन्, सबै समुदायले मेरो भन्न सकेका छैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर