पत्रकार महासंघका कावा अध्यक्ष विष्टले पनि दिए राजीनामा- दलका भ्रातृ संगठनले नाङ्गो हस्तक्षेप गरेको आरोप – Nepal Press

पत्रकार महासंघका कावा अध्यक्ष विष्टले पनि दिए राजीनामा- दलका भ्रातृ संगठनले नाङ्गो हस्तक्षेप गरेको आरोप

काठमाडौं । सदस्य शुद्धीकरण विवादमा फसेको नेपाल पत्रकार महासंघका कावा अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । केन्द्रीय समितिलाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी र उपाध्यक्ष वाला अधिकारीलाई दिएका छन् ।

पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसके उनको भनाइ छ ।

‘राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमूना हो ‘, विष्टको भनाइ छ ।

‘पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो । सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाँड्न दिएको दबाब र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन्’, उनले राजीनामा पत्रमा लेखेका छन् ।

महासंघ पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्ता समीकरणको शिकार बन्न पुगेको भन्दै उनले दलगत रूपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित- हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएकोजिकिर गरेका छन् ।

यसअघि अध्यक्ष विपुल पोखरेलले चुनाव गराउन नसकेपछि राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर