नेपालीको काल बन्दै क्यान्सरलगायत नसर्ने रोग – Nepal Press

नेपालीको काल बन्दै क्यान्सरलगायत नसर्ने रोग

काठमाडौं । परिवर्तित जीवनशैलीले क्यान्सरको जोखिमका कारक तत्व बढ्दै गएको छ । नेपाललगायत विभिन्न देशमा भएको सर्वेक्षणले खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलपामा आएको कमीले क्यान्सर जस्ता नसर्ने रोग बढेको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार नेपालमा पछिल्लो समय नसर्ने रोगको भार बढ्दै गएको छ । विगत एक दशकको अवधिमै क्यान्सर १३ प्रतिशतले बढेको महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगको कारणले हुने गरेको छ । जसको ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको महाशाखा प्रमुख घिमिरे बताए ।

महाशाखाका अनुसार नेपालमा सन् २०२२ मा क्यान्सरका ११ हजार जना नयाँ बिरामी देखापरेका थिए । १४ हजारभन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । नेपालमा धेरै देखिने क्यान्सरमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर र पाठेघरको क्यान्सर रहेका छन् ।

राष्ट्रिय स्वास्थ्य लेखा प्रतिवेदनअनुसार नेपालले नसर्ने रोगको स्वास्थ्योपचारमा सबैभन्दा बढी ६४ अर्ब ४० करोड रुपैयाँ खर्च गर्ने गरेको छ । जुन चालू आर्थिक वर्षको स्वास्थ्य खर्चको करिब ३२ प्रतिशत हुन आउँछ ।

त्यसैगरी स्वास्थ्योपचारमा हुने व्यक्तिगत खर्चको ४० प्रतिशत नसर्ने रोगको उपचारमा खर्च हुने गरेको तथ्यांकले देखाएको छ । नसर्ने रोगको स्वास्थ्योपचारमा हुने चालू खर्चमध्ये क्यान्सरको उपचारमा हुने खर्च ४ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

ग्लोबाकन २०२० को तथ्यांकअनुसार नेपालमा क्यान्सरबाट हुने मृत्युमध्ये करिब २४ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको पाइएको छ । विभिन्न उमेर समूहमा धूमपान प्रमुख समस्याको रुपमा देखिएको महाशाखाको अध्ययनले देखाएको छ ।

सबै नयाँ क्यान्सरमध्ये फोक्सोको क्यान्सरको हिस्सा पुरुषमा १८ प्रतिशत र महिलामा करिब ८ प्रतिशत रहेको छ । सन् २०१९ को एनसीडी स्टेप सर्वेक्षणअनुसार नेपालमा अहिले सुर्तीजन्य पदार्थ (धूमपान र धुवाँरहित) सेवन गर्नेको संख्या करिब २९ प्रतिशत रहेको छ । धूमपान नगर्नेको प्रतिशत १७ रहेको छ । २० वर्षको उमेर नपुग्दै धूमपान सुरु गर्ने दरलाई हेर्दा युवा लक्षित विशेष विद्यालयमा बृहत तथा संगठित रुपमा धूमपानविरुद्ध अभियान तत्काल सुरु गर्नुपर्ने विभागको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्यान्सरसँग सम्बन्धित मुत्युमध्ये ३ प्रतिशत मुत्यु मादकपदार्थ सेवनका कारण हुने गरेको छ । सन् २०१९ मा नेपालमा गरिएको एनसीडी स्टेप्स सर्वेक्षणले करिब २१ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा (३० दिनको अवधिमा) मादकपदार्थ सेवन गर्ने गरेको र झण्डै ८ जनामा १ जना पुरुष अर्थात करिब १२ प्रतिशतले दैनिक मादकपदार्थ सेवा गर्ने देखाएको छ ।

सर्वेक्षणअनुसार नेपालमा फलफूल र तरकारीको अपर्याप्त सेवन सबै वयस्कमा देखिएको छ । सर्वेक्षणअनुसार २४ प्रतिशत वयस्क (२३ प्रतिशत पुरुष र २५ प्रतिशत महिला)मा अधिक तौल र मोटोपन देखिएको छ । विश्व स्वास्थ्य संगठनले नै सन् २०१३ र २०१९ मा गरेको एनसीडी स्टेप्स सर्वेक्षणको तुलनात्मक तथ्यांक हेर्दा वयस्कमा पर्याप्त शारीरिक गतिविधि नगर्ने दर २ प्रतिशतबाट बढेर ७ प्रतिशत र किशोरकिशोरीमा ७ प्रतिशतबाट बढेर १० प्रतिशतसम्म पुगेको छ ।

वयस्कको तुलनामा किशोरकिशोरीमा शारीरिक सक्रियतामा कमी रहेको र वयस्कको पारिवारिक सम्पत्ति वृद्धिसँगै शारीरिक सक्रियता घटेको अध्ययनबाट देखिएको छ ।

यस्तै पाठेघरको मुखको म्यान्सर हुने एउटा प्रमुख कारक तत्वका रुपमा ह्युमन प्यपिलोमा भाइरस अर्थात एचपीभीको संक्रमण रहेको अध्ययनबााट देखिएको छ । यो भाइरस यौनाङ तथा मलद्वार (मलद्वार, भल्भा, योनी र लिङ्गमा हुने क्यान्सर) र टाउको तथा घाँटीमा हुने क्यान्सरको सम्भावित कारक तत्व भएको प्रमाण पनि अध्ययनमा भेटिएको छ ।

यस्तै नेपालमा मुख तथा घाँटीको क्यान्सरबाट हुने मृत्यु संख्या प्रतिएक लाख जनसंख्यामा करिब ५ प्रतिशत रहेको पाइएको छ । शल्यक्रिया गरिने क्यान्सरमध्ये मुख तथा घाँटीको क्यान्सरको हिस्सा ५० देखि ६० प्रतिशत रहेको छ । तीमध्ये ६० देखि ७० प्रतिशत अन्तिम अवस्थामा पुगेपछि मात्र पत्ता लागिरहेको छ ।

मुख तथा घाँटीको क्यान्सरको प्रारम्भिक पहिचान गर्ने काम नेपालका केही अस्पतालमा मात्रै सीमित रहेको छ । यस्तै नेपालमा वार्षिक करिब एक हजार ५०० नयाँ बालबालिकामा क्यान्सर हुने महाशाखाको अनुमान छ । तीमध्ये एक तिहाइमात्रै पत्ता लागेको छ ।

क्यान्सरको उपचार गर्ने ६ वटामात्रै सरकारी अस्पताल

नेपालमा अहिले ६ वटा सरकारी क्यान्सर अस्पताल रहेका छन् । तीमध्ये ४ वटा काठमाडौं उपत्यकामा रहेका छन् । एउटा चितवनमा र अर्को नेपालगञ्जमा रहेको छ । रेडियोथेरापी सेवा अहिले २ वटा सरकारी अस्पताल र ४ वटा निजी स्वास्थ्य सेवा केन्द्रमा मात्र सीमित छ ।

वीर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सुचारु गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अनुसार जतिसक्दो चाँडै काठमाडौंको सिभिल अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर अस्पतालमा पनि रेडियोथेरापी सेवा सुरु गर्ने सरकारको योजना छ ।

मन्त्रालयका अनुसार अन्कोलोजी सेवा सरकारी र निजी दुबै अस्तालमा प्रदान गरिएको छ । मेडिकल अन्कोलोजी सेवा नेपालका प्रमुख शहरमा उपलब्ध छन् भने रेडिएसन अन्कोलोजी सेवा सीमित ठाउँमा मात्र उपलब्ध छ । रेडियोथेरापी र केमोथेरापीको तुलनामा जनरल सर्जरी सेवा केही बृहत रुपमा उपलब्ध रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबै उपचार पद्धति सबै अस्पतालमा उपलब्ध नभएकाले बिरामीले क्यान्सरसम्बन्धी कुनै उपचार एउटा अस्पतालबाट र रेडिएसनथेरापी अर्को अस्पतालबाट गराउन बाध्य छन् । नेपालमा रेडियसन थेरापी अर्थात आरटी सेवा सीमित ठाउँमा मात्रै उपलब्ध छ ।

भविष्यको कुनै न कुनै समयमा क्यान्सर भएका ५० देखि ७० प्रतिशत बिरामीलाई रेडिएसनथेरापी आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दा नेपालमा ईबीआरटी विधिमार्फत क्यान्सरका बिरामीको उपचार गर्ने क्षमताको ठूलो कमी रहेको महाशाखाको अध्ययनले देखाएको छ ।

महाशाखाका अनुसार नेपालमा अहिलेको क्यान्सरको भारको आधारमा करिब ३० वटा रेडियोथेरापी युनिट आवश्यक पर्ने देखिएको छ, तर अहिले देशमा १० वटा मात्रै रेडियो थेरापी युनिट रहेका छन् ।

क्यान्सरको उपचारका लागि नेपालमा अहिले ४८ जना विकीरण ओन्कोलोजिष्ट, २० जना मेडिकल ओन्कोलोजिष्ट, ५० जना सर्जिकल ओन्कोलोजिष्ट र १८ जना मेडिकल फिजिसियनमात्रै कार्यरत छन् । सरकारी क्षेत्रका विभिन्न अस्पतालमा तालिमप्राप्त जनशक्तिको पदस्थापन नहुँदा सेवाको निरन्तरतामा प्रभाव परिरहेको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा मधेश प्रदेशमा सिराहा, सप्तरी, धनुषा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर तथा कर्णाली प्रदेश रुकुम पूर्व र रुकुम पश्चिम समेटेर ३ वटा जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री सञ्चालनमा रहेका छन् । जसले जम्मा जनसख्ंयाको २० प्रतिशत जनसंख्यालाई मात्र समेट्न सकेको छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २००३ मा अन्य अस्पतालसँग सहकार्य गरी सुरु गरेको अस्पतालमा आधारित क्यान्सर रजिष्ट्री अहिले १२ वटा अस्पतालमा विस्तार भएको छ ।

नेपालको संविधानले निःशुल्क आधारभूत स्वास्थ्य सेवा संवैधानिक हकको रुपमा स्थापित गरिसकेको छ भने जनस्वास्थ्य नियमावली २०७७ मा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक जाँच र परामर्श निःशुल्क हुने व्यवस्था गरेको छ । क्यान्सरलगायत ८ प्रकारका कडा रोगको उपचारका लागि आर्थिक सहुलियत प्रदान गर्न सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन गरेको छ ।

यसबाहेक स्वास्थ्य बीमा ऐन २०७४ ले क्यान्सर बिरामीलाई आर्थिक भारबाट राहत दिने व्यवस्था छ । नेपाल संघीय प्रणालीको शासन व्यवस्थामा रुपान्तरित भएकाले तीन वटै तहका सरकारले क्यान्सर उपचारका लागि विभिन्न आर्थिक योजना ल्याएका छन् । यी आर्थिक अनुदानबाट क्यान्सरका बिरामीले केही हदसम्म देशभित्रै उपचार सेवा लिन पाए पनि उपलब्ध गराइएका आर्थिक योजना क्यान्सर उपचारका सबै पक्षको दीर्घकालीन व्यवस्थापन गर्न अपर्याप्त रहेको अध्ययनले देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *