कुम्भराजको बयान- धनराजले श्रीमतीलाई सँगै राखेर सहकारीको रकम फिर्ता गराउने प्रतिबद्धता गरेका थिए – Nepal Press

कुम्भराजको बयान- धनराजले श्रीमतीलाई सँगै राखेर सहकारीको रकम फिर्ता गराउने प्रतिबद्धता गरेका थिए

काठमाडौं । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफ्नो प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखिएको आरोप लगाएका छन् ।

संसदीय छानबिन समितिसँगको बयानमा कुम्भराजले धनराजकी पत्नी तत्कालीन सञ्चालक ज्योति गुरुङले रकम अपचलन गरेपछि सहकारी संकटमा पुगेको बताएका हुन् ।

तर धनराजले श्रीमतीसँग डिभोर्स गरिसकेको दाबी गरेका छन् । गुरुङमाथि सहकारी डिभोर्स गरेको आरोप छ । धनराजकी पूर्वपत्नी ज्योति अहिले सम्पर्कविहीन छिन् ।

बयानमा कुम्भराजले भनेका छन्, ‘संस्था समस्यामा पर्नुको कारण प्रवाह भएको ऋण असुल गर्न नसकेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न नसक्नु हो । साथै बचतकर्ताको ठूलो रकम दुरुपयोग पनि भएको थियो । संस्थाको महाप्रवन्धक ज्योति गुरुङलाई संस्था सञ्चालन गर्न सम्पूर्ण जिम्मेवारी दिइएको थियो । उहाँले १२ करोड ५० लाख रकम हिनामिना गरेको देखिन्छ, जुन रकम ब्याजसमेत गरेर १४ करोड ३१ लाख पुगेको छ ।’

उनले विद्यमान अवस्थामा पनि सहकारीको समस्या समाधान गर्न सकिने बताएका छन् ।

कुम्भराजले भनेका छन्, ‘ऋण, जोखिम कर्जा उठाउन सकियो र ज्योति गुरुङबाट अपचलन भएको रकम फिर्ता लिन सकियो भने समस्या समाधान गर्न सकिन्छ । संस्थाका सञ्चालक समितिका ९ जना सदस्यसहित माननीय धनराज गुरुङ र उहाँकी श्रीमती ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, तर पूरा भएन । हाल ज्योति गुरुङ कहाँ हुनुहुन्छ, मेरो जानकारीमा छैन ।’

यो सहकारीको रकम अपचलनको विषयमा समितिले छानबिन गर्न सिफारिस गरेको छ । यस सम्बन्धमा सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

One thought on “कुम्भराजको बयान- धनराजले श्रीमतीलाई सँगै राखेर सहकारीको रकम फिर्ता गराउने प्रतिबद्धता गरेका थिए

  1. पैसा तिरेपनि यो ठग धनराजलाइ कानुनले बाध्न पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *