भैंसीपालनमा मस्त कोरिया रिटर्नी मेघनाथ – Nepal Press

भैंसीपालनमा मस्त कोरिया रिटर्नी मेघनाथ

रुपन्देही । गुल्मीको धुर्कोट गाउँपालिका- ६ चौरासीका मेघनाथ अर्याल रोजगारीका लागि दक्षिण कोरिया गए । तत्कालीन अवस्थामा राम्रै पैसा पनि कमाए । डेढ दशकअघि नेपाल फर्के । कोरियामा कमाएको पैसाले बुटवलमा सुविधा सम्पन्न घर बनाए । व्यवसाय गरे, गाडी चढे, तर सुखसुविधाको जिन्दगीबाट उनी सन्तुष्ट भएनन् । आफ्नो जन्मभूमिमा गुल्मी फर्केर उनले आधुनिक कृषि पेशा अँगाले ।

२०७७ सालमा गाउँ फर्केको एक वर्षपछि उनले ‘अर्याल पशुपक्षी फर्म’ दर्ता गरी भैंसीपालन गरे । मेघनाथको गोठमा अहिले २२ वटा माउ भैंसी छन् । त्योबाहेक साना पाडापाडी गरेर ३५ वटाभन्दा धेरै भैंसी छन् । मेघनाथको फर्ममा भारतबाट ल्याएको मुर्रा जातका भैंसीसमेत छन् ।

‘प्रतिलिटर सय रुपैयाँमा दैनिक ८० लिटर दूध तम्घास गइरहेको छ, गाउँका १० जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘गाउँको महत्व बुझाउने अभियान थालेको हुँ, तर राज्यको नीति अनुकूल नहुँदा चाहे जस्तो सफल भएको छैन ।’

मेघनाथले एउटा याममा १५० लिटरसम्म दूध बिक्री गरेको बताए । सुरुमा घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेको उनको भनाइ छ ।

गाउँमै भैंसी पाल्छु भन्दा धेरै गाउँलेले नपत्याएको तर अहिले आफ्नो कर्म देखेर उनीहरु दङ्ग परेको मेघनाथ बताउँछन् ।

चिल्लो गाडी चढ्ने र सुनका गहनाले सज्जिएर आउने उनी भैंसी पाल्छन् भन्दा धेरैलाई विश्वास लाग्ने कुरै भएन, कोरोना महामारीको समयमा शहरको सुविधायुक्त जीवनशैली त्यागेर आफ्नै गाउँमा भैंसीपालन गरेर नयाँ पुस्तालाई ऊर्जा थपिरहेको मेघनाथ बताउँछन् ।

उनी थप्छन्, ‘आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भनेर कोरियाबाट स्वदेश फर्केको हुँ, गाउँ खाली भयो, सबैका घरखेत बाँझो भयो, मेरा कारणले केही रोजगारी दिन सकिन्छ कि, मेरो मेहनत हेरेर अरुले पनि यस्तै काम थाल्छन् कि भनेर सुरु गरेको हुँँ ।’

मेघनाथका अनुसार उनलाई धेरै स्थानीयले बुटवलमा १६ वर्ष बसेकाले गाउँमा धेरै समय अडिन सक्दैन भनेका थिए । त्यसले पनि आफूलाई केही गरेर देखाउनैपर्ने चुनौती आएको उनको भनाइ छ ।

‘मेरो कारणले अब नकारात्मक सन्देश जानुहुँदैन, म फर्कें भने धेरैको रोजगारी गुम्छ भनेर निरन्तर संघर्ष गरें, अहिले सबैको वाहवाही पाएको छु । मेरो कमाइ नै यही हो, म खुसी छु, सबैको माया पाएको छु, यसमै रमाएको छु’, उनले भने ।

उनले भैंसीपालनसँगै व्यवसायिक धानखेती गर्दै आएका छन् । गाउँमा कृषि गर्दा अहिले कामदारको समस्या रहेको मेघनाथको भनाइ छ ।

‘रोजगारी छैन, बेरोजगारी समस्या छ भनिन्छ, तर गाउँमा काम गर्ने मान्छे पाउनै मुस्किल छ’, उनले भने । मेघनाथले भैंसी पाल्न व्यवस्थित गोठ बनाएका छन् । आवश्यक यन्त्र तथा उपकरण जोहो गरेका छन् । दुई वर्ष पहिले सुरु गर्दाको एक करोड बढी लगानी अहिले २ करोड बराबर पुगेको छ ।

मेघनाथले अहिले दैनिक ५ लाखको दूध बिक्री गर्ने योजना बनाइरहेको छन् । त्यसले पनि बर्सेनि लगानी बढेको उनको भनाइ छ ।

मेघनाथले व्यवसायिक धानखेती गर्न मालिका गाउँपालिका- ६ मा वार्षिक १८ लाख तिरेर ४२ रोपनी जग्गा भाडामा लिएका छन् । उनले आफ्नो ७२ रोपनीसहित गरेर ११४ रोपनी जग्गामा धानखेती गरेका छन् । गत वर्षसम्म धान बिक्री गरेका मेघनाथले अब भने आफ्नै ब्राण्डको चामल बिक्री वितरण गर्ने योजना बनाएको सुनाए ।

तीन तहका सरकारले प्रचार गरे जस्तो कृषिमा किसानले सजिलै सहयोग नपाएको भनाइ छ । सरकारी प्रक्रिया निकै झन्झटिलो भएको मेघनाथको गुनासो छ ।

‘सामान्य किसानले कागजी प्रक्रिया नै पु¥याउन सक्ने अवस्था छैन, यसैकारणले धेरै किसानमा निराशा छ’, मेघनाथले भने, ‘सरकारी निकायले यसको व्यवहारिक योजनै बनाउन सकेनन्, कर्मचारीको व्यवहारले धेरैलाई दिक्क बनाएको छ । जनप्रतिनिधिले नै सहज बनाउनुपर्छ ।’

पहाडमा धेरै सम्भावना भएको बताउँदै किसानलाई उत्पादन गर्न मात्रै लगाउने र बाँकी काम स्थानीय तहले जिम्मा लिए कृषिमा अभूतपूर्व नतिजा आउने उनले जिकिर गरे ।

धुर्कोट गाउँपालिकाले भने भैंसीपालकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पालिकाका कृषि शाखा प्रमुख दिलीप न्यौपानेले जिल्ला कृषि ज्ञान केन्द्रको समन्वयमा पशुको स्वास्थ्योपचारसँगै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।

पशुपालनमा लगानीअनुसार उत्पादन नहुनु र कामदार पनि नपाउँदा धेरै कृषकलाई समस्या परेको उनी बताउँछन् । कृषि शाखा प्रमुख न्यौपानेले बजारमा अन्य वस्तुको जस्तै कृषि उत्पादनको मूल्य नबढ्नाले वास्तविक कृषकहरु मारमा परेको औंल्याए ।

मेघनाथका दाइ नाता पर्ने खगेन्द्र अर्यालले भाइको अभियानले धेरैलाई उत्साहित बनाएको प्रतिक्रिया दिए ।

कृषिलाई पर्यटनसँग जोड्न सके कृषिप्रतिको निराशा हराउँदै जाने र कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उनको भनाइ छ ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले पनि मेघनाथको अभियानले ऊर्जा दिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *