गौतम बुद्ध क्रिकेट रंगशालाः धुर्मुसको डिजाइन भताभुंग, नयाँ डीपीआरमा छैन स्कोरबोर्ड र फ्लडलाइट – Nepal Press

गौतम बुद्ध क्रिकेट रंगशालाः धुर्मुसको डिजाइन भताभुंग, नयाँ डीपीआरमा छैन स्कोरबोर्ड र फ्लडलाइट

दर्शक क्षमता ३५ हजारबाट १५ हजारमा झारियो

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला नाम मात्रको अन्तर्राष्ट्रिय हुने भएको छ । रंगशालाको नयाँ डीपीआरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि अत्यावश्यक फ्लडलाइट र स्कोरबोर्डसमेत छैन ।

धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर रंगशाला निर्माण अघि बढाएको थियो । रंगशालाको ३९ प्रतिशत काम सकिएको अवस्थामा आर्थिक अभावका कारण निर्माण रोकिन पुग्यो । अन्ततः सम्झौता बमोजिम फाउन्डेसनले रंगशालाको निर्माणाधीन संरचना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण भए पनि ३ बर्षसम्म रंगशाला अलपत्र पर्यो । करिब ६३ करोडको संरचना नि:शुल्क प्राप्त गरेको महानगरले फाउन्डेसनको १८ करोडभन्दा बढी दायित्व सकार्न तयार भएन ।

यही अन्योलले रोकिएको रंगशालाको काम महानगरले भर्खरै टेन्डर प्रक्रियाबाट सुचारु गरेको छ । महानगरले हिमालयन कालिन्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने गरी गत असार २४ गते सम्झौता गरेको हो ।

यसअघि फाउन्डेसनले बनाएको डीपीआर भने भताभुंग भएको छ । नयाँ डीपीआरमा सिट क्षमता ३५ हजारबाट १५ हजारमा झारिएको छ । यति मात्र होइन, फ्लडलाइन र स्कोरबोर्ड समेत नराखीकन संरचनामात्रै ठड्याउन लागिएको महानगर स्रोतले बतायो ।

‘रंगशाला अहिले अन्तर्राष्ट्रियस्तरको हुँदैन,’ स्रोतले भन्यो, ‘खेल्नयोग्य मात्र हुने गरी डीपीआर बनाइएको छ ।’

नयाँ डीपीआर अहिलेसम्म सार्वजनिक गरिएको छैन । यसअघि फाउन्डेसनले कमलको फुल आकारको मनमोहक डिजाइन बनाएको थियो । तर, अब त्यो भताभुंग भइसकेको छ । अहिले दिइएको ठेक्कामा मैदानसहित ५ वटा पिच, १५ हजार दर्शक क्षमताको प्यारापिट, ड्रेन, २ वटा तीन–तीन तल्लाको भीआइपी टावर लगायत संरचना समेटिएका छन् । ३० महिनाभित्र काम सक्ने लक्ष्य छ ।

५ हजार जना अट्ने प्याराफिट धुर्मुस सुन्तली फाउन्डेसनले नै बनाइसकेको थियो । त्यसमाथि एक तल्ला थपेर माथिल्लो तल्लामा १० हजार क्षमताको प्याराफिट बन्ने छ । तर, माथिल्लो तल्लामा घाम पानी छेक्ने व्यवस्था छैन । तल्लो तल्लामा बस्ने दर्शकलाई माथिको ढलानले छेक्ने भए पनि माथिल्लो तल्ला खुल्ला हुनेछ ।

महानगरले रंगशालालाई खण्ड–खण्डमा निर्माण गर्ने दावी गर्दै आएको छ । पहिलो खण्डको लागि अहिले ठेक्का दिइएको हो । दोस्रो खण्ड पनि निर्माण सम्भव भयो भने अहिले छुटेका कुराहरुलाई पूर्णता दिन सकिने महानगरको भनाइ छ ।

अहिले तीन तल्लाको भीआइपी टावर र प्यारापिटको काम भइरहेको छ । दैनिक करिब एक सय जनाले काम गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *