दशैं लक्षित अग्रीम टिकट खुला गर्न सरकार र यातायात व्यवसायी सहमत – Nepal Press

दशैं लक्षित अग्रीम टिकट खुला गर्न सरकार र यातायात व्यवसायी सहमत

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबीच उक्त सहमति भएको हो ।

भौतिक पूर्वाधा तथा यातायातमन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतमलगायतका प्रतिनिधिहरुले बीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका सवारीसाधनमात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न माग गरेका थिए । उक्त मागपछि गृह मन्त्रालय तथा नेपाल प्रहरीमा आग्रह गर्ने निर्णय भएको महासंघका अध्यक्ष स्वाँरले बताए ।

उनका अनुसार यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोर्टिङ गर्ने निर्णयसमेत भएको छ ।

छलफलमा यातायात व्यवसायीहरुले यात्रुको यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन विगत एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेकको अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएको आवाज उठाएका थिए । उक्त सन्दर्भमा आवश्यक तयारी गरी छठ पर्वपछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने भएको मन्त्रालयले जनाएको छ ।

विभागलाई यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको सम्बोधन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यातायात व्यवस्थापनसँग सम्बद्ध अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेश गर्न पनि विभागलाई निर्देशन दिइएको अध्यक्ष स्वाँरले जानकाी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर