उदयपुरमा आमाछोरा हत्या काण्ड : विवाह गर्न दबाब दिएपछि मारेको ताराबहादुरको बयान – Nepal Press

उदयपुरमा आमाछोरा हत्या काण्ड : विवाह गर्न दबाब दिएपछि मारेको ताराबहादुरको बयान

विराटनगर । उदयपुरको कटारी नगरपालिका- १० सोरुङछबीसेमा आमाछोराको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ताराबहादुर थापामगरलाई पक्राउ गरेको छ । भदौ १९ गते निर्मला थापा र आरुष थापाको हत्या भएको थियो ।

प्रहरीका अनुसार ताराबहादुरले अवैध सम्बन्ध लुकाउन आमाछोराको हत्या गरेको बयान दिएका छन् । हत्यापछि पनि ताराबहादुर घटनास्थल आसपासमै थिए ।

सोरुङछबीसेमा किराना पसल गर्दै आएकी निर्मलाको गत भदौ १९ गते राति पसलमै हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

उनका अनुसार ताराबहादुरले निर्मलाको हत्या गर्न घरैबाट खुकुरी लिएर गएको बयानका क्रममा बताएका छन् । उनी बोलेरो चालक हुन् । घटना भएको १५ दिनको अनुसन्धानपछि मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगर र निर्मलाबीच सम्बन्ध रहेको र निर्मलाले विवाह गर्न दबाब दिँदै आएको पाइएको प्रहरीले जनाएको छ । घरमा श्रीमती भएकै कारण मगरले निर्मलालाई विवाह नगर्ने तर सम्बन्ध कायम राख्ने बताएका थिए । सोही विवादमा उनको हत्या भएको प्रहरीले जनाएको छ ।

निर्मलामाथि खुकुरी प्रहार गरेपछि सुतिरहेका छोरा आरुस उठेर कराएका थिए । आरुष कराएपछि उनलाई पनि खुकुरी प्रहार गरी हत्या गरेको थापामगरले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मगरमाथि ७ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले निर्मलाको मोबाइल, घटनास्थल नजिकैको खोलामा मगरले धोएर सुकाएको हाफपाइन्ट भेटाएको थियो । सोही आधारमा अनुसन्धान गर्दा थापामगर पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर