डोटीमा मेयर र पूर्वमेयरको राजनीतिक खिँचातान, एउटै विद्यालय भवन दुई चाेटि उद्घाटन – Nepal Press

डोटीमा मेयर र पूर्वमेयरको राजनीतिक खिँचातान, एउटै विद्यालय भवन दुई चाेटि उद्घाटन

डोटी । डोटीको शिखर नगरपालिका- ४ स्थित शारदा माविको नवनिर्मित भवन महिना दिन नपुग्दै दुई पटक उद्घाटन गरिएको छ ।

संघीय सरकारको लगानीमा निर्माण भएको दुई तले भवनको शुक्रबार शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरले एक कार्यक्रमबीच दोस्रो पटक उद्घाटन गरे । सो भवन भाद्र १३ गते सोही नगरपालिकाका पूर्वमेयर सीताराम जोशीले उदघाटन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिले औपचारिक रुपमा निर्णय गरी भाद्र १३ गते भवनको उद्घाटन भएको समितिका अध्यक्ष सुदर्शन शर्मा बताउँछन् ।

‘समितिले एक पटक औपचारिक रुपमा पूर्वमेयर सीताराम जोशीको हातबाट भवनको उद्घाटन गरिसकेको हो’, शर्माले भने, ‘तर हिजो फेरि मेयरले उद्घाटन गर्नुभयो भन्ने कुरा आयो, यो शक्ति प्रदर्शन गर्न खोजेको जस्तो लाग्यो ।’

हिजोको उद्घाटन कसको निर्णयमा भयो, के उद्देश्यका लागि भयो भन्ने कुरा आफूलाई थाहा नभएको अध्यक्ष शर्मा बताउँछन् ।

‘भवन फेरि उद्घाटन गर्नुप¥यो भन्ने नगरपालिकाबाट खबर आएको छ भनेर विद्यालयबाट मलाई खबर आएको थियो’, शर्माले भने, ‘एक पटक उदघाटन गरिसकेको भवन कति पटक गर्ने भन्दै मैले हुन्न भनेको थिएँ ।’

त्यसपछि के के भयो, आफूलाई जानकारी नभएको उनी बताउँछन् । उनले विद्यालय व्यवस्थापन समितिका कुनै पनि सदस्य शुक्रबारको उद्घाटनमा नगएका दाबी गरे ।

उनले थपे, ‘शिक्षक अभिभावक संघका अध्यक्षको अध्यक्षतामा कार्यक्रम गरेका रहेछन्, विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेछ ।’

अध्यक्ष शर्माले अभिभावकहरुको पनि कार्यक्रममा सहभागिता नभएको दाबी गरे ।

व्यवस्थापन समितिले आमन्त्रण गरेपछि आफूले विद्यालयको उद्घाटन गरेको पूर्वमेयर जोशी बताउँछन् ।

‘म मेयर हुँदा मेरै पहलमा भवन निर्माणको प्रक्रिया सुरु भएको थियो, त्यो विद्यालय मेरो गाउँकै विद्यालय पनि हो’, उनले भने, ‘अभिभावकहरुले मलाई उद्घाटन गर्न बोलाउनुभयो, मैले उद्घाटन गरेको थिएँ ।’

सोही विद्यालयमा अध्ययन गरेका जोशी आफू सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत रहिसकेको बताउँछन् ।

आफू मेयर भएको हैसियतले नगरपालिकाभित्रको विद्यालयमा बनेको नयाँ भवनको विधिवत रुपमा उद्घाटन गर्नु आफ्नो दायित्व भएको वर्तमान मेयर बलायर वताउँछन् ।

‘यसअघि के भयो भन्ने कुराको मलाई जानकारी छैन, भवन निर्माण भयो, नगर सरकार प्रमुखको हैसियतले मैले विधिवत उद्घाटन गरें’, उनले भने ।

यसअघि उद्घाटन भएको विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नभएको मेयर बलायर बताउँछन् ।

पहिलो पटक उद्घाटन हुँदा शिलालेख नराखिएको र पूर्वमेयरले विधिवत रुपमा पूजापाठ गरी भवनको उद्घाटन गरेको व्यवस्थापन समितिका अध्यक्ष शर्मा बताउँछन् ।

उनले भने, ‘हिजोको उद्घाटनमा शिलालेखसमेत राखिएको र त्यसमा नगरपालिकाले पनि भवन निर्माणका लागि लगानी गरेको भन्ने उल्लेख गरिएको भन्ने सुनेको छु, त्यो झूटो हो ।’

उक्त भवन निर्माणमा नगरपालिकाको कुनै योगदान नभएको उनी बताउँछन् । अघिल्लो उद्घाटन कार्यक्रममा वडा नं ४ का अध्यक्ष टेक मल्लको पनि सहभागिता रहेको तर दोस्रो कार्यक्रममा उनी पनि उपस्थित नभएको शर्माले बताए ।

बर्तमान मेयर र पूर्वमेयरबीचको विवादका कारण एउटै भवन दुई पटक उद्घाटन भएको बताउँछन् स्थानीय ।

‘यी दुवै कांग्रेसै हुन्, तर उनीहरुबीच तीव्र विवाद छ, एकले अर्काको नामै सुन्न चाहन्नन्’, एक स्थानीय भन्छन्, ‘दुवै आआफ्नै मनलाग्दी गर्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *