सहकारी ठगीमा अधिकांश कांग्रेस-एमालेका नेताहरु छन्, कारबाही हुनेमा आशंका छ: दाहाल (भिडिओ) – Nepal Press

सहकारी ठगीमा अधिकांश कांग्रेस-एमालेका नेताहरु छन्, कारबाही हुनेमा आशंका छ: दाहाल (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबैजसो पात्रहरु कांग्रेस–एमालेका नेताहरु रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता भने पुष्टि नभएको बताए ।

रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको उनको भनाइ थियो ।

संसदीय छानबिन समितिका सदस्यसमेत रहेको सांसद दाहालले गोर्खा मिडियामा जीबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको बताए ।

‘सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको छ, जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै भेटिएन’, उनले भने ।

नेता दाहालले सहकारी ठगी छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको आरोप लगाए ।

त्यस्तै एमाले नेता शेरबहादुर तामाङले सहकारी छानबिन समितिले प्रतिवेदन ल्याइसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको टिप्पणी गरे ।

भ्रष्टाचार निवारणको लागि आफूले सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव कानूनमन्त्रीको जिम्मेवारीमा हुँदाखेरि राखेको उनले बताए ।

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले रास्वपाका सांसदहरु रवि लामिछानेलाई बचाइदेउ भन्दै कांग्रेस र एमालेका नेताहरुको घरघरमा दौडिरहेको टिप्पणी गरे ।

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबै कुरा घाम जस्तै छर्लङ्ग भएको भन्दै उनले अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको बताए ।

नेता प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब रवि लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने जिकिर गरे ।


प्रतिक्रिया

2 thoughts on “सहकारी ठगीमा अधिकांश कांग्रेस-एमालेका नेताहरु छन्, कारबाही हुनेमा आशंका छ: दाहाल (भिडिओ)

  1. सुन तस्करीमा अधिकांश माओबादीका नेता तिनका छोरा बुहारी श्रीमती मुछिएका छ्न कारबाही हुनेमा आशंका छ : नेपाली जनता

  2. सिन्धुलीमा जनतासँग ठगेर उठाएको ४५ लाख रूपैयाँ सुप्रिमोसम्मले मिलेर खाएका छन् । कारवाही हुनेमा आशंका छ । अनि समितिमा बसेर कुन कुन एमालेका नेताले कहाँ कहाँ सहकारीको पैसा खाए निकाल्नुपर्दैन अनैतिक ? अहिले कराउने ? बरू सुप्रिम सहकारीको पैसा दिपेस पुन हुँदै माओवादीका नेताले खाएका छन् । कारवाहीमा आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *