एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक – Nepal Press

एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक

काठमाडौं । एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ । बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

प्राध्यापक अभि सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे ।

उक्त अवसरमा लेखक समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको बताए ।

‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ’, पुस्तकबारे उनले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ । कुनै लेख लेख्नुप¥यो च्याट जीपीटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ ।’

यही विषयलाई डा. खनालले मीठो भाषाशैलीमा लेखेको डा. समीरले बताए । उनले यो उपन्यास चिकित्सकले लेखे जस्तो नलाग्नेसमेत बताए ।

‘एआईले हामीलाई शासन गर्न सुरू गरिसकेको छ । यस आक्रमणबाट बालबालिकालाई बचाउने तरिकाको लागि यो किताब उपयुक्त छ’, उनले भने ।

लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन् । ‘सावर्णि’मा डा. खनालको अध्ययनको फैलावटसमेत देखिएको उनले बताइन् ।

उनले भनिन्, ‘यो किताब हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ ।’

शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन् ।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।’

पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन् । फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ । ‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताएका छन् ।

पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *