प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा, आइतबार राष्ट्रपतिले प्रदान गर्ने – Nepal Press

प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा, आइतबार राष्ट्रपतिले प्रदान गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिकोत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ ।

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युटलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ । यस पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार भने रातोपाटी डटकमले पाउने भएको छ ।

काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो । स्थापनाको ५५ वर्ष पुगेको अवसरमा असोज ६ गते आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काउन्सिलले यी पुरस्कार प्रदान गर्नेछ ।

सोही दिन काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पेसागत मर्यादा, प्रतिष्ठामा आँच नआउने गरी विश्वसनीय पत्रकारिता विकास गर्न नेपाली सञ्चार जगतले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

मिडियामा युट्युबसहित सामाजिक सञ्जालको बाक्लो उपस्थिति भइरहेको सन्दर्भमा रचनात्मक पत्रकारिताको प्रयोगमार्फत यो क्षेत्रलाई बलियो बनाउन सञ्चार क्षेत्र र सम्बद्ध पक्ष गम्भीर भएर जुट्नुपर्ने खाँचो उनले औंल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *