‘सरापे गीत’ को सफलताले बाबुल गिरी हर्षित, आलोचनाबारे के भन्छन् ? – Nepal Press

‘सरापे गीत’ को सफलताले बाबुल गिरी हर्षित, आलोचनाबारे के भन्छन् ?

‘गीतमा अझै घनघोर सराप थियो, दीपकजीसँग बसेर छाँटकाँट गरेका हौं’

काठमाडौं । अहिले सामाजिक सञ्जालमा ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप सङ’ निकै चर्चामा छ । रिलिजलगत्तै भाइरल बनेको गीतमा युवा–युवतीहरु मच्चीमच्ची टिकटक र रिल्स बनाइरहेका छन् । प्रेमी वा प्रेमिकाहरुबाट धोका पाएकाहरुका लागि त यो गीत मानौं ‘वरदान’ नै भयो । धोका पाएकाहरुले धोका दिनेमाथि झ्वाँक पोख्न यही गीतको प्रयोग गरिरहेका छन् ।

गीतमा कतिपयले आलोचना पनि गरेका छन् । ‘यस्तो गालीगलौज पनि गीत हुन्छ ?’ भन्ने कतिपयको टिप्पणी छ, तर यस्ता टिप्पणी र विवादले पनि गीतलाई थप भाइरल हुन मद्दत मिलेको छ भन्दा फरक नपर्ला । गीतको युट्युबमा भ्यूज २५ लाख पुग्न आँटिसकेको छ ।

यो गीतका सर्जक बाबुल गिरी यतिबेला गदगद छन् । दीपकराज गिरीको टीमसँग उनको यो दोस्रो सहकार्य हो । यसअघि ‘छक्का पञ्जा–४’ मा उनले गाएको र संगीत भरेको ‘सिरुपाते जुँगामा’ बोलको गीत हिट भएको थियो । त्यही गीतको सफलताले उनी डिमान्डेड भए । अहिले ‘छक्का पञ्जा ५’ को गीत भने उनी आफैंले लेखेका हुन् । कम्पोजिसन र आवाज पनि उनैको हो । गायकीमा दीपाश्री निरौलाले साथ दिएकी छन् ।

गीतमा यति धेरै प्रतिक्रिया आउनु नै ठूलो कुरा भएको बताउँछन् बाबुल । उनी भन्छन्, ‘सकारात्मक, नकारात्मक जस्तो प्रतिक्रिया आए पनि राम्रो हो ।’

गीतको रचना गर्भका विषयमा उनी हामीसँग यसरी खुले ।

यो गीत तयार गर्दा मलाई गाली चाहिँ गर्न सक्छन् भन्ने नै थियो, तर गीतले भने जस्तै भावना त मान्छेको हुन्छ नि ! यही भावनालाई गीत बनाइदिए कस्तो होला भन्ने लागिरहेको थियो । किनभने गालीमात्रै गरेको, झगडामात्रै गरेका कुरा सञ्जालमा आइरहेका हुन्छन् । बरु यसलाई गीतै बनाइदिन पाए अरुभन्दा फरक हुन्छ कि भन्ने लागेर लेखिएको हो ।

गीत बनाएपछि दीपकराज गिरी दाइलाई पठाइदिएँ । फिल्ममा त म्याच हुँदैन होला, यस्तै टाइपको छ भन्ठानेर पठाइदिएकोमात्रै थिएँ । अरु गीतकारका गीत पनि पठाएँ । दाजुले ‘हुन्छ, म सुन्छु’ भन्नुभएको थियो । अनि यो ‘ब्रेकअप सङ’ चाहिँ ‘रमाइलोको लागि है दाइ’ भनेर पठाएको थिएँ ।

तीन दिनपछि दाजुले बिहानै कल गरेर भन्नुभयो, ‘भाइ मलाई त यो ‘सरापे गीत’ पो राम्रो लाग्यो त । अलि फरक पारा पनि छ । फरकपन नै खोजेको हो खासमा ।’

त्यसपछि केही शब्द चाहिँ दाइले आफैं करेक्सन गर्नुभयो । विशेष गरेर दोस्रो अन्तराको एक–दुई शब्द मिलेर करेक्सन गर्‍यौं ।

यसरी छाँटकाँट गरेर मीठो बनाएको हो । यो गीतमा शब्दहरु त अझै घनघोर ‘सरापे’ थिए । कडा खालका सरापलाई छाँटकाँट गरेर मिलाएर अलिअलि राख्यौं ।

– सामाजिक सञ्जालमा अनेक खालका प्रतिक्रिया आइरहेका छन् । त्यसलाई कसरी लिइरहनुभएको छ ?

अब देख्दै नदेखेको कुरालाई कसैले केही पनि भन्दैन । आकाशमा जून नलागेको दिन कसैले केही भन्दैन । जून लागेको दिन ‘आधा रछ’, ‘कति सानो भएको आज’, ‘त्यो जूनलाई बादलले छेक्यो’, ‘यो जूनमा किन बीचमा दाग देखिएको होला’ भनेर कमेन्ट गर्छन् । कतिले राम्रो देख्छन्, कतिले नराम्रो देख्छन् ।

– कतिपय मान्छेले यो त गीतै भएन समेत भनिरहेका छन् नि ?

‘म तिमीविना बाँच्न सक्दिनँ’ भन्दा गीत हुने । त्यो पनि गीत हो र ? दुःखेसो पोखेको होइन ? गीतमा यस्तो दुःख पोख्ने हो ? आलापविलाप गर्ने हो ? यस्तो पनि गीत हुन्छ भनेर हुन्छ त ? हुँदैन नि त ! ‘मेरी माया तिमी कति राम्री’ भनेर तारिफ गर्दा चाहिँ गीत हुने । ‘मलाई छाडेर जाने धोकेबाज तिमी’ भन्दा गीत हुने । अनि तारिफ गरेको मान्छेले छाडेर गएपछि सराप्दा चाहिँ गीत नहुने भन्ने कुरो होइन । अहिलेसम्म यसरी सरापेर कसैले पनि गीत निकाल्नुभएको थिएन, अब झट्टै एकपल्ट सुन्दा कतिलाई अनौठो नै लाग्नसक्छ । यो गीत अनौठोलाग्दो नै छ ।

गीतमा सरापेकै छ । अब नकारात्मक प्रतिक्रिया दिनुहुनेहरुले पनि सराप्दै, मजा लिँदै लेखिरहनुभएको होला । सबैको भावना फरक हुन्छ । कति जना तपाईंलाई मनपर्छ । कति जना मलाई मनपर्छ । तपाईंलाई मनपर्ने मलाई मन पर्दैन । मलाई मनपर्ने तपाईंलाई मनपर्दैन । तपाईंलाई राम्रो लागेको शब्द मलाई नराम्रो लाग्छ । तपाईंलाई ठीकै लागेको शब्द मलाई झनै आहा लागिरहेको हुन्छ । मेरो मनको भाव त सञ्जालमा पोख्न पाइहालें नि ! उहाँहरुले गाली गर्नुभो भन्दैमा हामी निराश हुनुपर्ने कुरा नै छैन । मैले गीतमा सरापेको देख्दा कतिलाई कति सरापेको होला जस्तो लाग्छ । कतिलाई चाहिँ मैले सरापेको देख्दा ‘म भए झनै सराप्थेँ’ जस्तो पनि लाग्न सक्छ नि !

एउटा धोका खाएको मान्छेले उसको मनको भाव त पोखेको हो नि ! महिलालाई मात्रै टार्गेट गरेर भनिएको छ र ? त्यो त छैन । यो केटाले गाउँदाखेरि पो महिलालाई भने जस्तो हो त ! केटीले गाउँदा केटालाई भन्ला । यो मेल भर्सन भएको कारणले अलिकति केटीलाई सरापेको जस्तो लागेको हो । केटीले गाउँदा यसैलाई उल्टो पारेर पनि सोच्नुपर्‍यो नि त ! कति जना केटीहरुले नै केटाहरुलाई सपिङ गरिदिनुभएको हुन्छ । केटाहरुले छाडेर गएको हुन्छ त्यसो गर्दा पनि । अनि त्यो अर्थमा गाउँदा कुरो उही त हुन्छ नि ! यहाँ हर कुरामा लिंग विभेद गर्न पाइँदैन ।

– यो गीत दीपाश्री निरौलाले नै गाउनुको कारण के हो ? राम्रा गायिकाहरु थिएन त ?

उहाँलाई नै गाउन दिनुमा कारण त केही थिएन । यो गीत पहिल्यै रेकर्ड भइसकेको थियो । गीतमा पुरुषको आवाजमात्रै थियो । तर, पछि फिल्ममा कन्सेप्ट बदलिएपछि उहाँलाई गाउन दिइएको हो । यदि गीत धेरै राम्रोसँग गाउनुपर्ने भएको भए अन्य गायिकाहरु पनि थिएनन् होलान्, तर दीपाश्रीको आवाज पनि कम मीठो छैन नि ! उहाँकै आवाज मीठो छ भनेपछि किन अरुलाई गाउन लगाउने भन्ने भयो ।

उहाँले गाीत गाएको भन्दा पनि भिडियोमा अभिनय गरेको जस्तो देखिन्छ । पात्रको अनुभूतिअनुसार अभिनय गराउँदा गीत म्याच भएको पनि छ । अनि एकपटक गाइ हेरौं भनेर कोसिस गर्दा उहाँले दमदार गाउनुभयो । अनि उहाँकै स्वरलाई फाइनल गरिएको हो ।

– युट्युबमा गायिका दीपाश्रीको नाम त छैन नि ?

अब नामहरु मैले राख्ने होइन । उहाँहरुले राख्ने कुरा हो ।

– यो गीत तपाईंको जीवनसँग कतिको मेल खान्छ ?

एउटा सत्य भनुँ, म संगीतमा लागेदेखि बिहान ९ बजेदेखि रातिसम्म स्टुडियोमा हुन्छु । मैले अहिलेसम्म रेकर्डिङमा बाहेक कुनै केटीसँग बसेर १० रुपैयाँको चिया पनि खाएको छैन । यो गीत त मैले कल्पना गरेर लेखेको हो ।

– यो गीत यसरी भाइरल हुन्छ जस्तो तपाईंलाई लागेको थियो ?

एक्स्ट्रा टाइपको भएपछि कि गाली खाइन्छ कि त माया खाइन्छ भन्ने हुन्छ । एउटा त भइहाल्छ नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *