एक अर्ब बजेट रकमान्तर गर्ने भएपछि चल्ने भयो बागमती प्रदेशसभा – Nepal Press

एक अर्ब बजेट रकमान्तर गर्ने भएपछि चल्ने भयो बागमती प्रदेशसभा

हेटौंडा । गत असारमा बजेट पास भएपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक सर्वदलीय सहमतिपछि आइतबार सुरु हुने भएको छ । सर्वदलीय बैठकमा विभिन्न विधेयकबारे छलफल गरिएको भनिए पनि मुख्य अजेन्डा बजेटकै रहेको एक प्रदेशसभा सदस्यको भनाइ छ ।

तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले ल्याएको बजेट एकतर्फी रहेको भन्दै विपक्ष दलले सबैलाई समानुपतिक तरिकाबक्ट बजेट बाँडिनुर्ने माग राखेको थियो । त्यसअघिको माओवादी–काङ्ग्रेस सरकारको समयमा पनि सरकारले एकतर्फी बजेट ल्याएको भन्दै एमालेले विरोध गरेको थियो ।

दुबै पटक जम्कट्टेल नेतृत्वको सरकारले ल्याएको बजेटलाई एमाले र कांग्रेसले पालैपालो विरोध गरेका थिए, तर अहिले काङ्ग्रेस– एमालेकै नेतृत्वमा सरकार भएको अवस्थामा विपक्ष दलको मागलाई पूरा गर्न करिब एक अर्ब रकमान्तर गरी बजेट कार्यान्वयन गर्ने सहमति बनेको बताइएको छ ।

सर्वदलीय बैठकबारे जानकारी दिँदै नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न ढकालले बजेटलाई रकमान्तर गरेर लैजाने विषयमा सहमति भएको बताए ।

२०८१÷०८२ मा जुन मापदण्ड बनाइएको थियो, तर बजेट त्योअनुसार आएन, यहाँ कर्मचारी र मन्त्रीले मात्र बजेट हाले, त्यो सच्याउन आजको सहमति बनेको राप्रपाका उपनेता गिरबहादुर तामाङले बताए ।

समानुपातिकलाई कम्तीमा एक करोड र प्रत्यक्षलाई तीन करोड बराबरको योजना बाँडफाँट हुनेगरी रकमान्तर गर्न सरकार तयार भएको उनले बताए । असोजको दोस्रो साताभित्र सहमति कार्यान्वयन गरिसक्ने सहमति भएको उनको भनाइ छ ।

सहमतिपछि बहादुर सिंह लामा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक आइतबार प्रदेशसभा बैठक बस्दैछ । सरकारले आइतबार नै न्यूनतम साझा कार्यक्रम पनि ल्याउने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *