सन्दीपको मुद्दा सर्वोच्च जाने सम्भावना कमजोर, गौशाला २६ विदेश उडेकी हुन् ? – Nepal Press

सन्दीपको मुद्दा सर्वोच्च जाने सम्भावना कमजोर, गौशाला २६ विदेश उडेकी हुन् ?

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता भन्छन्- मुद्दा पुनरावेदन गर्ने निर्णय भएको छैन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने क्यानडामा विश्वकप लिग २ क्रिकेट खेलिरहँदा नेपालमा उनको मुद्दा ब्युँताउन लविङ सुरु भएको छ । सन्दीपलाई उच्च अदालत पाटनले बलात्कारको मुद्दामा निर्दोष ठहर गरेको थियो ।

यो सरकारवादी मुद्दा भएकाले तल्लो अदालतबाट भएको फैसला माथिल्लो अदालतमा पुनरावेदन गर्न सकिन्छ । सन्दीपविरुद्ध गौशाला २६ ले दिएको मुद्दामा जिल्ला अदालतले उनलाई दोषी ठहर्‍याएको थियो, तर उक्त फैसलालाई उल्टाउँदै उच्च अदालतले सफाइ दिएको हो । सरकारले चाहेको खण्डमा अब सर्वोच्चमा पुनरावेदन गर्नसक्ने अन्तिम विकल्प छ ।

फैसलाको पूर्णपाठ आएपछि उच्च सरकारी वकिलको कार्यालय पाटनले पुनरावेदनका लागि राय तयार पारेर महान्यायाधिवक्ता कार्यालयमा बुझाएको थियो । अब यसमा महान्यायाधिवक्ता कार्यालयले निर्णय लिनुपर्ने हुन्छ, तर अहिलेसम्म कुनै पनि निर्णय नभएको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उच्च सरकारी वकिलको कार्यालयबाट मुद्दा चलाउने राय आएको हो । यसमा हामी प्रारम्भिक छलफलमै छौं । महान्यायाधिवक्ताज्यूसम्म फाइल पुगेकै छैन ।’

महान्यायाधिवक्ता कार्यालयले निर्णय गर्ने तीन चरण हुन्छन् । अन्तिम चरणमा महान्यायाधिवक्ताले निर्णय गर्नुपर्छ, तर अहिलेसम्म महान्यायाधिवक्ता रमेश बडालले यो मुद्दाको फाइल नहेरेको दाहालको भनाइ छ ।

महान्यायाधिवक्ता कार्यालय स्रोतले यो मुद्दा अब माथिल्लो अदालत जाने सम्भावना क्षीण बनेको बतायो । यसका दुईवटा कारण छन् । यसको मुख्य कारण भनेको जाहेरीकर्ता गौशाला २६ स्वयम् मुद्दाबाट पछि हट्नु हो ।

गत साउन महिनामा गौशाला २६ आफैं सरकारी वकिल कार्यालयमा पुगेर मुद्दालाई यही अन्त्य गर्न सन्देशसहित लिखित निवेदन दिएकी थिइन् । उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपश्चात उनले निवेदन दिएकी हुन् ।

गौशाला २६ ले भनेकी छन्, ‘यो मुद्दा दर्ता भएलगत्तै देखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’

महान्यायाधिवक्ता कार्यालय स्रोत भन्छ, ‘पीडित भनिएको व्यक्तिबाटै आफूले दबाबमा परेर मुद्दा लडेको भनेर पत्र आइसकेपछि पुनरावेदन गरिरहनु वाञ्छनीय हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ ।’

सरकारलाई पुनरावेदन नगर्ने सन्देश दिएकी गौशाला २६ अहिले कसैको पनि सम्पर्कमा छैनन् । उनको फोन धेरै दिनदेखि अफ छ । उनी अध्ययनका लागि विदेश उडेको हुनसक्ने अनुमान गरिएको छ । केही निकटस्थ व्यक्तिलाई गौशाला २६ ले आफू देश बाहिर रहेको बताएकी छन्, तर कुन देशमा भन्ने खोलेकी छैनन् । उनी सम्भवतः बंगलादेशमा रहेको हुनसक्ने निकटस्थको दाबी छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *