काठमाडौंबाट पक्राउ परेका छविलाल जोशीलाई पोखरा पुर्याइयो (भिडियो)
काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा पुर्याइएको छ ।
उनलाई पोखरा प्रहरीकै पत्रका आधारमा काठमाडौं प्रहरीले सहजीकरण गरेर पक्राउ गरेको थियो । जोशीलाई आजै जहाजमार्फत पोखरा पुर्याइएको कास्कीका एसपी मोहन कुमार थापाले जानकारी दिए ।
सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
यसैबीच रवि लामिछानेलाई समेत पक्राउ गर्न लागिएको बताइए पनि आज भने पक्राउ नपर्ने प्रहरी स्रोतले बताएको छ ।