लाइभ आउँदै रविले भने- कसैको राजनीति बचाइदिन म बलि चढिदिनुपर्ने ? – Nepal Press

लाइभ आउँदै रविले भने- कसैको राजनीति बचाइदिन म बलि चढिदिनुपर्ने ?

'कसैको राजनीति जोगाउन मलाई बलि चढाउन खोजियो'

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।

पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बाेधन गर्दै उनले कसैकाे राजनीति जाेगाउन यस्ताे गरिएकाे दाबी गरे ।

‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भने ।

लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे ।

‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु’, उनले भने ।

कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै उनले प्रश्न गरेका छन् ।

उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ ? लैजानुहोस् म जहाँ पनि जान तयार छु । छानबिनका लागि सघाउन ।’

उनले आफू हिजो पनि अन्यायको शिकार भएको बताए ।

त्यस्तै, उनले आफूले कानून मान्ने, अनुसन्धानमा सघाउने, आफूले केही नबिराएको र नडराएको बताए । तर अन्याय नसहने उनले उद्घोष गरे ।

‘सबैलाई हेक्का रहोस् कि रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको हो’, उनले भने, ‘प्रहरीको अनुसन्धानले दोषी देखिएको छैन भन्छ, अदालतमा मुद्दा गएको छ प्रतिवादी छैन भन्छ, कसैको बयानले बोलेको छैन, देशको प्रहरी प्रमुखले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन भन्छन् । सहकारी समितिले पनि सहकारीको रकम ल्याएकोबारे केही निर्णय गरेको छैन भन्छ । तर कुन नयाँ तथ्य आयो र यसरी गर्न खोजियो ।’

उनले आफू नभागेको बताए । ‘म भागेको छैन । गल्ती गर्ने भागेका छन् । तर सरकारको यो कदममा शंका छ । अन्याय गर्न पाइँदैन’, उनले भने ।

त्यस्तै, उनले आफूमाथि षड्यन्त्र भएको र अन्याय भएको भन्दै आफ्ना कार्यकर्तालाई अलर्ट हुन निर्देशन पनि दिए । ’सरकारले पक्राउ पुर्जि जारी नगरिएको भन्ने जानकारी आएको लामिछानेले उल्लेख गर्दै भने, ‘हुन त सरकारको भरोसा छैन । यसरी सानो पार्टीबाट डराएको सुहाएन ।’

उनले कार्यकर्तालाई सत्यको पक्षमा उभिन आग्रह गरेका छन् । भने, ‘व्यक्ति रवि लामिछानेका लागि होइन । सत्यको लागि न्यायका लागि लड्न तयार हुनुहोस् ।’


प्रतिक्रिया

One thought on “लाइभ आउँदै रविले भने- कसैको राजनीति बचाइदिन म बलि चढिदिनुपर्ने ?

  1. घडी चोर, बाख्रा चोर, रातो पासपोर्ट काण्डको कोपभाजनमा परेपछि मान्छेलाई कठिन हुन्छ । तर जित त नचोर्ने कै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *