नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेबारे एकडका अध्यक्षसँग छलफल – Nepal Press

नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेबारे एकडका अध्यक्षसँग छलफल

काठमाडौं । नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुलेको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले यसको प्रकृया अघि बढाएको हो । सोमबार इन्जिनियरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग प्रारम्भिक अन्तरक्रिया भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूले समेत यो प्रकृयालाई अघि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री दाहालले यसका लागि आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।

‘यो प्रकृया अघि बढाउन निक्कै ढिला भएको छ’ मन्त्री दाहालले भने , ‘तर ढिलै भए पनि प्रकृयाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिई पूरा गर्नुपर्छ ।’

वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रकृया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इन्जिनियरीङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्रा. डा. नरेन्द्रमान शाक्यले नेपालमा इन्जिनियरिङ शिक्षा तथा पेशागत अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उक्त एकडमा आवद्ध राष्ट्रहरूका इन्जिनियरहरूले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने कार्यक्रममा बताइयो ।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रकृयाको थालनी गरिएको बताए । यो प्रकृया पूरा हुन ४ देखि १० वर्षसम्म लाग्ने भए पनि प्रकृयाको थालनीले नेपाली इन्जिनियरिङ क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे ।

यो प्रकृयाको थालनीले नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुलेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर