टेकु अस्पतालमा सरुवा रोगका बिरामीको चाप – Nepal Press

टेकु अस्पतालमा सरुवा रोगका बिरामीको चाप

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनका अनुसार बिरामीको चापका कारण शय्याको अभाव हुन थालेको छ । अहिले डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना बिरामीको भर्ना गरेर उपचार भइरहेको छ ।

अस्पतालमा हिजोआज दैनिक ८ सयबढी बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन ।

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् । समयमा यसको उपचार गर्न नसके मिर्गौला, कलेजोमा असर पर्ने डा. बसौला बताउँछन् । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शय्यामा सञ्चालन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *