पत्रकार महासंघको निर्वाचन: सर्वोच्चद्वारा कारण देखाउ आदेश – Nepal Press

पत्रकार महासंघको निर्वाचन: सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएकोमा कारण देखाउ आदेश जारी भए पनि अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।

रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग पनि गरिएको थियो । महासंघको वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निर्वाचन गराएर महासंघलाई निकास दिन रिट निवेदनमा माग गरिएको छ ।

रिट निवेदकले अब प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरी त्यसै भेलाको निर्णयबाट समितिले गरेका काम–कारबाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरेका छन् ।

यस्तै रिट निवेदनमा अघिल्लो वार्षिक साधारणसभामा सहभागी पुराना सदस्यलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेरमात्रै निर्वाचन गर्नु भनी विपक्षीका नाममा परमादेश आदेश जारी गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघको विधानअनुसार महासंघको कार्यसमितिको कार्यकाल ३ वर्ष पूरा भएपछि पुनः नयाँ कार्यसमिति निर्वाचित भएर आउनुपर्नेमा अहिलेको कार्यसमितिको कार्यकाल पूरा भएको ६ महिना पुग्न लाग्दा पनि महासंघको निर्वाचन हुन सकेको छ ।

महासंघले पाँचौं पटकसम्म निर्वाचनको मिति तय गरेको भए पनि अहिलेसम्म निर्वाचन गर्न सकेको छैन । महासंघको विधानअनुसार आगामी असोज मसान्तसम्म वर्तमान कार्यसमितिले निर्वाचन गर्न नसकेको अवस्थामा जिल्ला शाखा अध्यक्ष र प्रदेश अध्यक्षको भेला बोलाएर उक्त भेलाले आगामी ६ महिनाभित्र निर्वाचन मिति तोकेर निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर