जबरजस्ती करणी गरी फरार रहेको आरोपमा किरीयापुत्री पक्राउ – Nepal Press

जबरजस्ती करणी गरी फरार रहेको आरोपमा किरीयापुत्री पक्राउ

डोटी । जबरजस्ती करणी गरी फरार रहेका आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको आदर्श गाउँपालिका–६ बस्ने ३८ वर्षीय लाल रैकाललाई प्रहरीले पक्राउ गरेको हो ।

भाद्र ३१ गते २० बर्षीया युवतीलाई जवरजस्ती करणी गरी फरार रहेका उनलाई आईतवार उनकै घरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सूर्य भट्टले भने, ‘उनी कसुर गरी फरार भएको रहेछन्, शनिवार उनको आमाको मृत्यु भएपछि उनको दाह संस्कारका लागि आएको रहेद्धन् ।’

आइतवार आमाको दाहसंस्कार गरेर घर फर्केको अवस्थामा उनलाई पक्राउ गरेको भट्टले बताए । अभियुक्तका अन्य दाजुभाइहरु पनि रहेका कारण उनले आफैं किरीया बस्नु पर्ने अवस्था नभएको भट्टले बताए ।

प्रहरीका अनुसार अभियुक्तले युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेका थिए । उनले युवतीसंग रहेको नगद ३० हजार रुपैयाँसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालय डोटीले सार्वजनिक सूचनामा उल्लेख छ । प्रहरीले अदालतको अनुमतिले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तको चालचलन राम्रो नभएको स्थानीयहरु बताउँछन् । उनले गाउँमा त्रास फैलाउने गरेको पीडित पक्षले बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर