महिलाले बुझाैं आफ्नाे शक्ति र महिमा – Nepal Press
ब्लग

महिलाले बुझाैं आफ्नाे शक्ति र महिमा

हालैमात्र नेपाली महिलाहरुको ठूलो पर्व तीज मनायौं । यो पर्वको धार्मिक र सांस्कृतिक महत्व महिलाहरुका लागि विशेष छ । तीज पर्वको ऐतिहासिक पृष्ठभूमि हेर्दा शिव र पार्वतीको जीवन कथासँग जोडिएर अगाडि बढेको पाइन्छ । पार्वतीलाई उनका पिताले विष्णुसँग विवाह गरिदिने निर्णय र विवाहको चाँजोपाँजो देखेपछि पार्वती आफ्ना साथीहरूसँग भागेर जङ्गलमा गई शिव पति पाउँ भनी तपस्या गर्छिन् । तपस्याको फलस्वरूप शिवलाई पतिको रूपमा पाएको भन्ने विश्वास छ । यो एक किसिमको विद्रोह थियो । अहिलेको भाषामा भन्नुपर्दा अभिभावकको बलमा नभई आफूलाई मन परेको जीवनसाथी बनाउन पाउनुपर्छ भनेर एउटी नारीले गरेको विद्रोह हो । जीवन बिताउने र सृष्टि कर्ममा भाग लिने जोडी बन्ने कुरा जबरजस्ती र अरुको इच्छामा हुँदैन । आपसमा मन मिलेरमात्र तन मिलाउन सकिन्छ भन्ने वैज्ञानिक आधार पनि हो ।

त्यसैले यो दिनलाई पार्वतीले गरेको अधिकारको विद्रोहको स्वरूप मानिन्छ । यो विद्रोह छोरी जातिको समुदायको निम्ति चुनौती थियो । त्यही सन्दर्भलाई महिलाहरुले अधिकार प्राप्ति गर्ने दिनको रुपमा मान्दै आयौं तीज पर्व ।

नेपाली समाजमा हाम्रो पालासम्म अभिभावकको इच्छा र निर्णयमा धेरै चेलीहरू एक शब्द नबोली मेरो भाग्यमा यही रहेछ भन्दै रुँदै अपरिचित व्यक्तिसँग विवाह गर्न बाध्य थिए । कहीँ-कसैका छोरीले मन पराएकोसँग विवाह गर्न भागेर जान्थे भने समाज र परिवारले हेर्ने दृष्टिकोण फरक हुन्थ्यो । त्यसैले छोरीहरू बाध्यतामा पिल्सिएका थिए ।

आजभोलि भने छोराछोरीले आफूले मन पराएको साथीसँग विवाह गर्छु भने स्वीकार्ने र चाँजोपाँजो मिलाइदिने चलन चलिसकेको छ । यो राम्रो कुरा हो, तर साथी रोज्ने जिम्मा पूर्ण रुपमा उनैलाई दिँदा पनि विभिन्न समस्या र सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाइन्छ । हिजोको समाजमा डर, लाज, अनुशासन, कर्तव्य, सहनशीलता, धैर्यताले मर्यादा कायम थियो । आज अधिकार अघि लागेको छ । अनुशासित र इमानदारीपूर्वक कर्तव्य पूरा गर्दा अधिकार पाइन्छ भन्ने कुरा अलि बिर्सन थालेको हो कि ?

अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् भन्ने बिर्सिनुहुँदैन । लोकतन्त्रमा विचार आआफ्नो राख्ने हो । अहिले पार्वतीले जस्तो कठिन तपस्या गर्नुपर्दैन । असल साथी बनाउन उसको बानी, व्यवहार, सोच, चिन्तन, हैसियत सबै कुरामा परिचित भएर निर्णय लिन सकिन्छ । योग्य वर पाउँ भनेर व्रत बस्ने, मन्दिरमा धाउने, तर अधैर्यताले मायाप्रेमको जालमा परेर असल मान्छे छान्न नसक्ने, धोका पाउने, धोका दिने अनि ईश्वर पुकार्ने काम राम्रो होइन ।

नेपाली समाजमा हाम्रो पालासम्म अभिभावकको इच्छा र निर्णयमा धेरै चेलीहरू एक शब्द नबोली मेरो भाग्यमा यही रहेछ भन्दै रुँदै अपरिचित व्यक्तिसँग विवाह गर्न बाध्य थिए । कहीँ-कसैका छोरीले मन पराएकोसँग विवाह गर्न भागेर जान्थे भने समाज र परिवारले हेर्ने दृष्टिकोण फरक हुन्थ्यो ।

मन्दिरमा राखिएको मूर्ति र शिव लिंग ढोगेरमात्र होइन, मान्छे चिनेर असल पति/जीवनसाथी बनाऔं । आपसमा सेवा, सहयोग, सहकार्य, समझदारीले जीवन सफल बन्न सक्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । यो पर्वको महत्व र पृष्ठभूमिमा उल्लेख गरिएका आदर्श पात्र शिव पार्वतीको महिमाबाट यही सिकौं । निराहार बसेर, रोगी भएर आफ्ना जोडीको मनोभावना, सदभाव लिन सकिएन भने जति कठिन तपस्या गरे पनि जीवन सुन्दर हुँदैन । हरेक युग र समाजका आदर्श व्यक्तिका अनुकरणीय तरिका, व्यवहारिक चिज बुझेर आफूलाई सफल बनाउन प्रयोग गर्न सक्नुपर्छ ।

पार्वती, सीता, भृकुटी, योगमाया, पासाङ ल्हामु शेर्पा, पारिजात, झमक घिमिरे, फ्लोरेन्स नाइटिङ्गेल जस्ता आदर्श नारीबाट फरक फरक शिक्षा लिएर अघि बढ्ने प्रेरणा मिल्छ । जो जस्तो छ, त्यस्तै हुन सकिन्न । आफ्नो रुचि, क्षमता, लगनशीलता, धैर्य, सहनशीलता, परिवेश, अध्ययन, संगत, आन्तरिक वा बाह्य वातावरण जस्ता कुराले जीवनको गोरेटो कोरिन्छ ।

जुनसुकै चाडपर्वले आफ्नै महत्व र कुनै विशेष घटनाको पृष्ठभूमि बोकेको हुन्छ । तापनि मौलिकताले कालान्तरमा बुझाइ र रूपमा परिवर्तन हुँदै गएको पाइन्छ । एक खालको सामाजिक परिवेशमा सुरु भएको चलन रीतिरिवाज संस्कृति बन्दै जान्छ । समय बित्दै जाँदा, पुस्तान्तरण हुँदै जाँदा महत्व र बुझाइ पनि फरक पर्नसक्छ । मानिसको आर्थिक, सामाजिक परिवेशले मौलिकतामा पनि प्रभाव पार्दै जान्छ । पिता पुर्खाको बोलीचाली, रहनसहन, खानपान, जीवन जिउने कलाको आधारमा सिर्जिएको गीत, भाका परिवर्तित समयमा जस्ताको तस्तै खोज्नु मौलिकता होला, तर सबैकुरा जस्ताको तस्तै सम्भव छैन पनि । प्रयोगकर्ताको आर्थिक, सामाजिक परिवेशले फरक पार्नसक्छ ।

कतिपय पुराना अन्धविश्वास, कुरीति, कुसंस्कारबाट मानव जीवनमा हानि-नोक्सानी गर्ने अस्वस्थ कुरा भए परिमार्जन पनि आवश्यक छ । हामीले अपनाउने हरेक क्रियाकलाप सचेततापूर्वक वैज्ञानिक, व्यवहारिक र सुसंस्कृत बनाउँदै लानुपर्दछ । यो सचेत वर्ग वा समाजको दायित्व हो । संस्कृतिमा विकृति भित्रियो भन्ने चिन्ता गर्ने, खत्तम भयो भन्ने, तर सुधार गर्न, विकृति रोक्ने अभियानमा साथ नदिने, मौन बस्ने गर्नु सचेत नागरिकको लागि सुहाउँदैन । समयमै आफ्नो परिवार, समाजलाई सभ्य बनाउने जिम्मा हामी सबैको हो ।

पितृसत्तात्मक समाजमा अझै पनि राम्रो कामको जस पुरुषले लिने र नराम्रो, बिग्रेको सबै महिलाले, छोरोले राम्रो गरेमा बाउको नाम, छोरीको घर बिग्रिए आमाका कारण भन्ने चलन हटेको छैन । पुरुषमा मात्र होइन, महिलामा सानैदेखि बसेको छाप चिन्तन पनि बदलिन सकेको छैन ।

पहिले नेपाली समाजमा छोरीबुहारीहरू अर्काको घर जाने, दान दिने, लिने, उपभोग्य वस्तुको रुपमा लिँदासम्म महिलाहरु अन्याय, अत्याचार, दमन, शोषण सहन नसकेर आफ्नै श्रीमान, सासू ससुरा, नन्द, आमाजू, जेठाजु, जेठानीको बयानका गीत बनाए । वर्ष दिनको तीज पर्खेर गीत गाएर परिवार र समाजलाई सुनाए । उनीहरूको संसार नै साँघुरो र घरपरिवारभित्र थियो । अलि सचेत महिलाले समाज सुधारको बारेमा लेखे, गाए र सरकारसँग शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकारका गीत बनाए । अधिकारको संघर्ष गर्दा आफ्ना मनका भाव लयात्मक, कलात्मक प्रस्तुति दिए । समाज र राज्यलाई नै प्रभाव पारे । सबैभन्दा शक्तिशाली हतियारको रुपमा कलम, कला, गलाले मानिसको मन जिते । विचार मिल्नेलाई सङ्गठित गरे । तिनै गीत-संगीत नै बन्दुकको गोलीभन्दा बलिया बने ।

अग्रज लेखक, कलाकार, साहित्यकारको नेपालमा समाज परिवर्तन र राजनीतिक परिवर्तन ल्याउन ठूलो योगदान छ । आजभोलि छिटो भाइरल हुने, दाम कमाउने होडबाजीले चाडपर्वको नाममा सुन्न नसकिने गीत, हेर्न नसकिने प्रस्तुतिले हाम्रो समाजलाई कता धकेल्दैछ भन्ने चिन्ता थपिएको छ । घरका परिवारसँगै बसेर हेर्न नसकिने प्रस्तुति, सामाजिक सञ्जालमा पोष्ट गरिएका अंग प्रदर्शन, गीतका शब्दले घिन आयो भन्न थालेका छन् । कलाकारले धन कमाउन निकालेका गीतमा पेशेवर कलाकारमात्र नाच्न दिए हुन्छ । जिम्मेवार व्यक्ति पनि रमाइलोको नाममा आफ्नो हैसियत र जिम्मेवारी भुलेर उसै गर्न थालेका छौं कि ? साउने सक्रान्तिदेखि दर खान हिँड्ने, खाएपछि खुवाउनु पनि पर्ने, छिमेकी वा आफन्तको देखासिकी गर्ने, ऊभन्दा म के कम ? आआफ्ना बुढाको कमाइअनुसार गहना, कपडा देखाउनुपर्ने जस्ता समस्याले पनि देशमा भ्रष्टाचार मौलायो भन्ने कोणबाट हेरिन थालिएको छ ।

पितृसत्तात्मक समाजमा अझै पनि राम्रो कामको जस पुरुषले लिने र नराम्रो, बिग्रेको सबै महिलाले, छोरोले राम्रो गरेमा बाउको नाम, छोरीको घर बिग्रिए आमाका कारण भन्ने चलन हटेको छैन । पुरुषमा मात्र होइन, महिलामा सानैदेखि बसेको छाप चिन्तन पनि बदलिन सकेको छैन । समाजको छाप यति गहिरो हुन्छ कि जति आधुनिक हुन खोजे पनि मस्तिष्कमा बसेको चिन्तनले काम गरिरहन्छ । यही समाजमा कतै परिवार र समाजको ख्याल नगरी २-४ जना महिलाले कहीँकतै अरुले भन्दा फरक गर्न खोज्दा, स्वतन्त्रताको नाममा पुँजीवादले फिँजाएको जालमा फसिरहेका हुन्छन् ।

नेपाली दिदीबहिनीहरू अहिले पनि जीवनको वास्तविकता बुझ्न नसकेर वा आर्थिक कारणले उपभोग्य वस्तु बन्न बाध्य छन् । सामाजिक मूल्य मान्यता एउटा अनुशासन हो भन्ने बुझेर अघि बढ्न सकेमात्र सभ्य र मर्यादित समाज बन्छ । चाडपर्वमा मनोरञ्जन गर्दा पनि मर्यादा र अनुशासन भुल्नुहुँदैन । तीजको दौरानमा देखिन थालेका र सामाजिक सञ्जालमा आउने छिटपुट घटनाले आममहिला लजाउनुपर्ने भएको छ । महिला भनेका सबै उस्तै हुन्, स्वतन्त्रता बढी भयो भन्दै जाँदा महिला मुक्ति आन्दोलनमा धक्का लाग्नसक्छ । हामीले चाहेको लोकतन्त्र समतामूलक समावेशी प्रतिनिधित्व गर्दै समाजलाई सभ्य र समृद्ध बनाउने हो । हामीले चाहेको न पितृसत्ता हो न त मातृसत्ता । महिला पुरुष एक-अर्कामा मर्यादा कायम गरेर हामीले नै सभ्य समाज बनाउने हो । यो अभियानमा कोही पनि संस्कृतिका नाममा आउन सक्ने विकृतिविरुद्ध बोल्ने, लेख्ने, खबरदारी गर्ने, आफू सजग हुने गर्नैपर्छ ।

सामाजिक सञ्जालमा आउने छिटपुट घटनाले आममहिला लजाउनुपर्ने भएको छ । महिला भनेका सबै उस्तै हुन्, स्वतन्त्रता बढी भयो भन्दै जाँदा महिला मुक्ति आन्दोलनमा धक्का लाग्नसक्छ ।

एक दार्शनिकका भनाइअनुसार कुनै समाज वा राष्ट्र २-४ जना मूर्खका कारणभन्दा चुप लागेर बस्ने सज्जनका कारण बिग्रनसक्छ । कुनै पनि समस्या वा रोग विकराल हुन नपाउँदै औषधिमुलो गर्नुपर्छ, नत्र क्यान्सर जस्तो फैलिन्छ । आधुनिक जमानामा सबै बिग्रियो, सकियो, भत्कियो, खत्तम भयो भन्ने नकारात्मक भाषाले मात्र सुध्रिने होइन । आफ्ना सन्तान, परिवार, साथीभाइ, आफन्तलाई समयमा राम्रो सुझाव र सल्लाह दिएर सुसंस्कृत बनाउँदै लानुपर्छ, आलोचना र तिरस्कार कदापि होइन । सबै बिग्रिएको छैन । २-४ प्रतिशत विभिन्न कारणले फरक देखिए पनि जिम्मेवार अभिभावकले परिवार र सन्तानलाई समय दिने र ज्येष्ठ नागरिकको मर्यादामा चल्न सिके नयाँ पुस्ताले त्यही सिक्छन् ।

सबै नराम्रा चलन आएका छैनन् । सामूहिक कार्यक्रममा समावेशी छ । आफ्ना दाजुभाइ र दिदीबहिनीसँगै हुन नपाए पनि सामूहिकताले नजिक बनाएको छ । हिजोको जमानामा घरमा काम गर्दा बुहारीलाई मात्र बोझ पर्थ्यो, अहिले छोरीबुहारी समान भएका छन् । दिदीबहिनी ढुक्कसँग रमाउन पाएका छन् । धेरै राम्रा परिवर्तन भएका छन्, मात्र आफूलाई प्राप्त अधिकार, स्वतन्त्रता र अवसरलाई कस्तोमा प्रयोग गर्ने भन्ने सम्बद्ध व्यक्तिको विचार, दृष्टिकोण र संगतको कुरा हो, मौरी र झिंगाले आआफ्नो कर्म गरेजस्तै । हरेक घटनालाई सही विश्लेषण गर्न सक्नुपर्दछ ।

पहिले नेपालमा मातृसत्ता थियो । विस्तारै जिम्मेवारीले महिलालाई कमजोर र परिवारको व्यवस्थापकको जिम्मा पर्दै जाँदा पितृसत्तात्मक समाजमा परिवर्तन भएको पाइन्छ । समाज जंगली युगबाट कृषि युग, औद्योगिक युग र पुँजीवादी युगमा प्रवेशसँगै महिलाहरु उपभोग्य सामानको रुपमा पितृसत्ताले प्रयोग गर्दै आयो । यसको विस्तारै प्रतिरोध गर्दै उपभोग्य र दान दिने-लिने साधन होइन, एउटा पुरुषको एउटी महिला असल जीवन संगिनी र सहयोद्धा सहयात्री हो भन्ने मान्यता स्थापित भएको छ । कतिपय आयातित संस्कृति जानी नजानी देखासिकीमा भित्रिएका छन्, तर आफ्नो परिवार, समाजमा सद्भाव विकास भएको छ कि छैन त्यतातिर पनि गम्भीर भएर सोच्नुपर्छ । नेपाली मौलिक संस्कृतिमा कसरी विदेशी संस्कृति भित्रिँदैछ ? खाने, लगाउने, गाउने, नाच्ने कुरामा पनि कसरी विदेशी अर्थतन्त्र बलियो बनाउँदैछौं ? स्वदेशी अर्थतन्त्र कसरी खस्काउँदैछौं ? यतातर्फ हामीले ध्यान दिन छाडेका छौं । संस्कृति, चाडबाड र रमाइलोको नाममा पनि कतै होस् गुमाएका त छैनौं भन्ने प्रश्न उठ्न थालेको छ । त्यसैले नेपाली सचेत महिलाहरू लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको लागि होसियारीपूर्वक अगाडि बढ्न जरुरी छ ।

अहिले नेपाली समाजमा तीन किसिमको बुझाइ विकास भएको पाइन्छ ।

  • यथास्थिति वा जस्ताको त्यस्तै मान्ने अन्धविश्वासी कथाहरूमा लेखिएका सबै कुरा जस्ताको तस्तै मान्ने, पाप र धर्मको हिसाबले हेर्ने, स्वर्ग नर्कको, पूर्वजन्म पुनर्जन्ममा विश्वास गर्ने ।
  • विश्लेषणात्मक विचार गर्ने, पुराना राम्रा स्वीकार गर्ने र नयाँ वैज्ञानिक तरिकाले मनाउने । हरेक घटना र विषयवस्तुलाई विश्लेषणात्मक ढंगले अध्ययन गर्ने, राम्रो र नराम्रो, अनुशासनमा ध्यान दिने ।
  • उपभोगवादी, उग्रवादी सोच, उपभोक्तावाद, उपभोग गरिहाल्ने, खाइहाल्ने, गरिहाल्ने उपभोग गरेको आफ्नो हो, जीवन रमाउन हो भन्ने तरिकाले लाग्ने ।

समाजमा अझै पनि धेरै दिदीबहिनी सबै प्रकारका हिंसाबाट मुक्त हुन सकेका छैनन् । हिमाल, पहाड, तराईमा फरक फरक समस्या र हिंसाका रूप देखिएका छन् । जति आवाज उठ्दैछ, उति रूप बदलेर हिंसा हुँदैछ । सबैभन्दा बढी आर्थिक विपन्नताका कारण दिदीबहिनी हिंसा सहन बाध्य छन् ।

एक्काइसौं शताब्दीका आजका सचेत वर्ग अन्धभक्त र अन्धविश्वासी भएर हिँड्नु पनि हुँदैन । पूरै उपभोक्तावादी जस्तोमा तल्लीन भएर पनि हुँदैन । हरेक समाजका आआफ्ना मूल्य मान्यता रहेका हुन्छन् । मानिस सामाजिक प्राणी भएकाले समाजमा व्यक्तिगत स्वतन्त्रताका नाममा नसुहाउने, पचाउन नसकिने गतिविधि पनि गर्नुहुँदैन । आफ्नो समाज, परिवारको आर्थिक अवस्था हेरेर आफूलाई चलाउन सके पछुताउनु पनि पर्दैन । आफ्ना सन्ततिलाई पनि त्यसैगरी सानैबाट प्रशिक्षित गर्दै समाज अनुकूल बनाउनुपर्दछ । चाडपर्व, विवाह, व्रतबन्ध, देवकार्य, कुलको संस्कार, पितृकार्यको महत्व पृष्ठभूमिको बारेमा नयाँ पुस्तालाई राम्रो गरी बुझाउन आवश्यक छ । अभिभावकको मूल्य मान्यता वैज्ञानिक छ भने सन्तानले मान्नुपर्छ, तबमात्र परिवार, समाज, राष्ट्र सभ्य र मर्यादित बनाउन सकिन्छ ।

नेपालमा लोकतन्त्र प्राप्तिपछि संविधानसभाले घोषणा गरेको संविधानको धारा १६ देखि ४६ सम्म थुप्रै मौलिक हकको व्यवस्था गरिएको छ । हरेक घटना र विषयवस्तुलाई बुझ्ने तरिका फरक हुन सक्छन् । मैले माथि उल्लेख गरेका तीन विचारमध्ये जीवन र जगतलाई हेर्ने र बुझ्ने दृष्टिकोण र आफ्नो जीवनको लक्ष्यमा भर पर्दछ, तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्ने, बाधा पुर्‍याउने काम राम्रो होइन । स्वतन्त्रता हुँदैमा सामाजिक मूल्य मान्यतामा आँच आउने गरी समाजले पचाउन नसक्ने गतिविधि गर्नु शोभनीय होइन ।

नेपाली समाज अझै पितृसत्तात्मक नै छ । महिलाहरूलाई उपभोक्तावादसँग जोडेर गहना, कपडा, श्रृंगारका सामानमा लोभ्याउने, प्रेरित गर्ने, आहा कति सुहाएको भनिदिने, गीत पनि चिटिक्कै भैछुरे भन्दै नाच्ने, नचाउने समाज पनि यही हो । सँगै खाने, बस्ने, नाच्ने र उत्तेजित पारेर रमाउने अनि भोलिपल्ट फेरि महिलाको चरित्रमाथि प्रश्न उठाउने, महिला छाडा भए, उनीहरुलाई अधिकार धेरै भयो, पचाउन सक्दैनन् भन्ने उपभोक्तावादी समाजलाई आजको एक्काइसौं शताब्दीको महिलाले राम्रोसँग बुझ्न जरुरी छ, बुझ्न सक्नुपर्छ । समाजमा अझै पनि धेरै दिदीबहिनी सबै प्रकारका हिंसाबाट मुक्त हुन सकेका छैनन् । हिमाल, पहाड, तराईमा फरक फरक समस्या र हिंसाका रूप देखिएका छन् । जति आवाज उठ्दैछ, उति रूप बदलेर हिंसा हुँदैछ । सबैभन्दा बढी आर्थिक विपन्नताका कारण दिदीबहिनी हिंसा सहन बाध्य छन् ।

महिला महिला लडाएर, महिलाको शत्रु महिला हो भन्ने भाष्य खडा गरेर, सक्षम महिलाको विरुद्धमा अर्को विधि विधानभन्दा आफ्नो हितमा चल्ने पात्र खडा गर्ने, एकजुट हुन नदिएर फुटाउ र शासन गर भन्ने सामन्ती नीति हटेको छैन । त्यसैमा रमाउने जमात पनि समाजमा बलियै छ । छोरीबुहारी, श्रीमतीहरूलाई उनीहरूको सबै इच्छा पूरा गरिदिएर कोभन्दा कम बनाएको छु भन्दै मख्ख पार्ने र आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति हराएको छैन ।

महिलाहरू हिजोको जमानामा आत्मनिर्भर थिएनन्, बाध्यता थियो । अहिले आफैं पनि आर्थिक उपार्जनमा भाग लिन थालेका छौं । फेरि कमाउन थालेकोमा आफूखुसी, स्वतन्त्र, तिमीभन्दा म के कम भन्दै अराजक तरिकाले चल्नुहुँदैन । आफ्नो परिवार, सन्तान, समाज आफन्तमा सद्भाव बढाउँदै सफल जीवन जिउन सिक्नु र सामाजिक काममा पनि अग्रसर हुँदै जाने आजको आवश्यकता हो । समाजलाई सभ्य, मर्यादित बनाउन जरुरी छ । पुराना चलिआएका संस्कार र संस्कृतिलाई पनि मान्दै जाने क्रममा कतिपय अवैज्ञानिक र अन्धविश्वास हटाउँदै सुसंस्कृत र सबैजनालाई हेर्न सुन्न मिल्ने बनाउनु हरेक युगको सचेत समाजको दायित्व हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *