संसदीय समितिबाट ठग किटान भएकी संगीता राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य नियुक्त – Nepal Press

संसदीय समितिबाट ठग किटान भएकी संगीता राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य नियुक्त

२ सयभन्दा बढी सहकारीको अर्बौ बचत अपचलन गर्ने बम्जन परिवारको यस्तो थियो जुक्ति, सहकारी र बैंक ठगीमा संलग्न संगीता तामाङले कांग्रेस कोटाबाट पाइन् नियुक्ति

काठमाडौं । सहकारी बचत अपचलनविरुद्ध एक्सनमा उत्रिएको सरकारले विभिन्न २ सय वटा सहकारी संस्थाको रकम हिनामिना गर्ने गोर्खा सहकारी घरानाकी एक सदस्यलाई राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नियुक्त गरेको छ ।

सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले कारवाहीको दायरामा राखेको गोर्खा सहकारी ग्रुपकी सदस्य संगीता तामाङ सहकारी विकास बोर्डको सदस्य नियुक्त भएर मन्त्रीको अध्यक्षताको बैठकमा भागसमेत लिइसकेको खुलेको छ । भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीको अध्यक्षतामा रहेको समिति बैठक आइतबार बसेको थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डको आइतवारको बैठकमा संगीता तामाङ (बायाँबाट दोस्रो उभिएको लहरमा) ।

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत रहेकी संगीतालाई कांग्रेसको सिफारिसमा बोर्ड सदस्य नियुक्त गरिएको बताइएको छ । सहकारी ठगीको साम्राज्य चलाएका डिबी बम्जनकी भान्जी संगीताको नामसमेत सहकारी बचत अपचलनकर्ताका रूपमा संसदीय छानबिन समितिले किटान गरेको छ । उनले महिला सहकारी कार्यकर्ताका रुपमा नियुक्ति पाएकी हुन् ।

संगीताका आमा हेमकुमारी तामाङ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट ओखलढुंगाको मोलुङ गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । संगीता भने उनकै मामा डीबी अध्यक्ष रहेको गोर्खा विकास बैंकको मानव स्रोत विभाग प्रमुखलगायत विभिन्न पदमा थिइन् । सो बैंक ग्राहकको अर्बौं रूपैया ठगेर डुबेको थियो ।

संगीताको बारेमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा यस्तो लेखिएको छ- गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड ८ फागुन २०५४ मा नेपालभर कार्यक्षेत्र भएर स्थापना भएको थियो । संस्थापक अध्यक्ष इच्छाराज तामाङ भए पनि त्यसपछि डम्बरबहादुर डीबी बम्जन तामाङले अध्यक्ष भएर संस्था सन्चालन गरेका हुन् । संस्थापहरूले तत्कालीन गोरखा विकास बैंक स्थापना गर्न गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभबाट पैसा लिने गरेको र उक्त ऋण नै अहिलेसम्म पनि चुक्त नभएको देखिन्छ ।

हेर्नुहोस् प्रतिवेदनमा लेखिएको विषय-

साविकको गोरखा विकास बैंकको संस्थापक शेयरमध्ये ७ लाख ८२ हजार ९० कित्ता शेयरको शेयर प्रमाणपत्र डीबी बम्बजन र तेजबहादुर तामाङको नाममा रहेको भए पनि त्यसमा लगानी भने सहकारीको थियो । तेजबहादुर डम्बरका सहोदर दाजु हुन् । त्यस्तै गोरखा विकास बैंकमा नै कर्मचारी भएर काम गरेको तथा विभिन्न सहकारी संस्थामा सञ्चालक समितिमा रहेर काम गर्ने संगीता तामाङको नाममा रहेको बैंकको शेयर पनि सहकारीले नै लगानी गरेको थियो ।

सहकारी ठगीका चर्चित पात्र जीबी राईका ससुराली हुने डीबी बम्जन, ज्ञानबहादुर बम्जन, तेजबहादुरलगायत । सोही परिवारकी भान्जी अर्थात डिबीकी सहोदर दिदी हेमकुमारीकी छोरी हुन् संगीता । अर्बौ रूपैयाँ ठगी गर्ने गिरोहकी सदस्यलाई नै नियामक तथा प्रबद्र्धन गर्ने निकाय सहकारी विकास बोर्डको सदस्य नियुक्त गरेको हो ।

के गर्छ राष्ट्रिय सहकारी विकास बोर्डले ?

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी संघसंस्थाको प्रवर्द्धन एवम् विकासका लागि आवाश्यक नीति तर्जुमा गरी त्यसको कार्यान्वयनको लागि सरकारलाई सिफारिस गर्न गठित निकाय हो । यस्तै सहकारी विकाससम्बन्धी आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने, गराउने र सहकारीलाई सुलभ तरिकाबाट ऋण वा अनुदान प्रदान गर्ने उद्देश्यले एक सहकारी विकास कोष खडा गरी सो कोषबाट सहकारी संघसंस्थालाई विकासमूलक कार्य सञ्चालन गर्नका लागि आवश्यक पुँजी उपलब्ध गराउने काम पनि विकास बोर्डले गर्छ । यसले सहकारी संघसंस्था र सहकारी बैंकको शेयर खरिद गर्ने काम पनि गर्न सक्छ ।

स्वदेशी बैंक वा अन्य निकायबाट ऋण लिँदा वा ऋणपत्र जारी गर्दा बोर्डको सहयोग मागेमा सहकारीहरूलाई आवश्यकतानुसार जमानत दिने तथा सहकारीहरुलाई प्राविधिक सहयोग उपलव्ध गराउँने र स्वदेशी तथा विदेशी लगानीकर्ता संघ/संस्था, कम्पनी तथा कर्पोरेशन र नेपाल सरकारसंग सहकारी क्षेत्रमा औद्योगिक विकासको लागि संयुक्त लगानी गर्न सम्झौता गराउने काम सहकारी विकास बोर्डले गर्दै आएको छ ।

बोर्डमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री वा राज्यमन्त्री अध्यक्ष रहने गरी उनीसहित १६ सदस्यीय कार्यकारी समिति रहने व्यवस्था छ । यसमा महिला सहकारी कार्यकर्ताबाट एकजनालई सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान छ ।

यस्तै सातै प्रदेशको सहकारीलाई प्रतिनिधित्व गर्ने गरी सातजना सदस्य रहने व्यवस्था भएको बोर्डमा नेपाल सरकारले तोकेको एकजना सहअध्यक्ष हुने व्यवस्था छ । बोर्डको कार्यकारी सदस्यमा राष्ट्रिय सहकारी महासंघको अध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर, अर्थ मन्त्रालयको सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिव, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, राष्ट्रिय योजना आयोगको एकजना प्रतिनीधि सदस्य रहने व्यवस्था छ ।

यसैगरी सहकारी विभागको रजिष्ट्रार, केन्द्रीय सहकारी संघका अध्यक्षहरुले आफूमध्येबाट निर्वाचत गरेका दुई जना,सम्बन्धित विषयका विशेषज्ञहरुबाट दुई जना, कृषि विकास बैंकको महाप्रवन्धक सदस्य रहने व्यवस्था छ भने नेपाल सरकारले तोकेको एकजना सदस्य सचिव रहने प्रावधान छ ।

हेर्नुस् कुन निकायबाट को-को छन् बोर्ड सदस्य

यस्तो छ बम्जन परिवारको सहकारी ठगी श्रृंखला

नेपाल प्रेसले यसबारे गत साता विस्तृत समाचार प्रकाशन गरेको छ । डीबी बम्जन र पछि ज्ञानबहादुर बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेका अधिकांश सहकारीलाई ठगी खाने भाँडोको रूपमा प्रयोग गरिएको पाइएको छ । सहकारीहरूमा उनीहरूको पारिवारिक जालो यसरी फैलियो, जसले देशभरका अधिकांश सहकारीमा हाली मुहाली गरे । सर्वसाधारणको ठूलो रकम आफ्नो स्वार्थमा प्रयोग गरे ।

अहिले ब्रिटिश गोरखा समूहका आफन्त र त्यहाँबाट छुट्टिएर गएका कर्मचारीहरूद्वारा देशभर खोलिएका ३०० भन्दा बढी सहकारी संस्थाहरू छन् । २०० भन्दा बढी सहकारी संस्थाहरूले ५० करोड रूपैयाँभन्दा बढीको कारोबार गरेका छन् । यस्तो बदमासी र ठगीको जालोमा देखिएका सहकारीका सञ्चालकहरू प्रायः बम्जन परिवारले सुरू गरेको सहकारीबाट प्रबद्र्धित छन् । अरु त्यहाँबाट छुट्टिएका शेयरधानी वा कर्मचारीले त्यहींको शैली र सफ्टवेयर लिएर सञ्चालन गरेका सहकारीहरू धेरै रहेका देखिन्छ ।

देशभरका सहकारीको कार्यकारी भूमिकामा रहेका ८० प्रतिशत व्यक्तिहरूको २ देखि ५ वर्षबीचको सम्पत्ति छानबिन गर्दा सबै सहकारीबाट बचत रकम कसरी हिनामिना, अपचलन र ठगी भएको विषय छर्लङ्ग हुने स्थिति रहेको छ ।

गोरखा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभमा बजार प्रमुख हुँदै निर्देशक भएर निस्किएपछि डीबी बम्जनका कान्छी आमापट्टिका साइला भाइ ज्ञानबहादुर तामाङ बम्जनले संस्थापक अध्यक्ष भई उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड स्थापना गरे । यस सहकारीमा २०६० सालमा केरदानाथ शर्मा उपाध्यक्ष बनेका थिए । हाल शिवशिखर र तुलसी सहकारी चलाएका केदारनाथ शर्माको शान्तिनगर गेटनजिकै दुई सटरको राम्रो पसल थियो । उपकारमा सबैभन्दा बढी पैसा राख्ने केदारनाथ नै थिए । यसै कारण उनलाई उपकारकै उपाध्यक्ष बनाइयो ।

चाबहिलको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. सहकारीको पनि संस्थापक अध्यक्ष उनै ज्ञानबहादुर तामाङ थिए । उनीपछि उनकै श्रीमती पुष्पाकुमारी तामाङ हुँदै सहपाठी सूर्यध्वज न्यौपानेलाई अध्यक्ष बनाए । हाल सो संस्थामा ईश्वर किराँत राई अध्यक्ष रहेका छन् ।

ज्ञानबहादुर तामाङको तजबिजीमा भक्तपुरमा खोलिएको हिमाल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभमा डमीका रूपमा उपकारको कलेक्सनमा कार्यरत विज्ञान राईलाई अध्यक्ष बनाएर सञ्चालन गरिएको थियो । हाल उक्त सहकारी संस्थाको अध्यक्ष ईश्वर किरात रहेका छन् । यसको पनि संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जन नै रहेको देखिन्छ ।

बज्रयोगिनी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ ज्ञानबहादुरकै स्कूलका सहपाठी सूर्यध्वज न्यौपानेलाई नै अध्यक्ष बनाएर स्थापना गरियो । ताम्राकार कम्पलेक्स न्यूरोडमा सहकारीको कार्यालय रहेको छ । अहिले सूर्यध्वज सल्लाहकार र सूर्यध्वजकी श्रीमती सुनिता कार्की अध्यक्ष रहेकी छिन् ।

डीबी बम्जनकी श्रीमती कुमारी तामाङ संस्थापक अध्यक्ष रहेर नयाँ बजारमा कार्यालय राखी लालीगुराँस सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभसञ्चालन गरिएको थियो । स्थापनाकालमा डीबी बम्जनका भाञ्जी ज्वाईं धनबहादुर तामाङ प्रवन्ध निर्देशक थिए। डीबी बम्जनकी भाञ्जी संगीता तामाङ गोरखा विकास बैङ्कको एचआर, एडमिन र प्रोक्युरमेन्टमा काम गर्थिन् । उनैमार्फत धनबहादुर तामाङ लालिगुराँसको अध्यक्ष बनेका थिए । उनै संगीता अहिले सहकारी विकास बोर्ड सदस्य नियुक्त भएकी हुन् ।

बम्जन परिवारको इन्ट्री एक पछि अर्को सहकारीमा हुदै सहकारीकै सम्राज्य विस्तार भयो । युनाइटेड गोरखा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ, स्वर्णलक्ष्मी सेभिङ एण्ड क्रेडिट कालीमाटी, बालुवाटरमा मुकुल सेभिङ एण्ड क्रेडिट, चन्द्रागिरिमा देवदर्शन सहकारी, ठिमीको शिखर बचत तथा ऋण सहकारी, गोरखाव्दिप सेभिङ, कल्याण सेभिङ र कस्मीक बचत सहकारी सम्म बम्जन परिवारको इन्ट्री भयो । यस्तै मनोकांक्षा र जनमुक्तिमा पनि बम्जन परिवारको संलग्नता रह्यो । उनीहरूको सहकारी ठगीको धन्दा काठमाडौ उपत्यकामा मात्र सिमित नभइ सुर्यदर्शन सहकारीबाट उपत्यका बाहिर विस्तार भयो ।

सूर्यदर्शनपछि इमेजको जन्म भयो । पोखरामा चल्तोपुर्जा देखिएको सूर्यदर्शन सहकारीमा देवकुमार नेपाली ४६ सहित ४ जना मेखबहादुर वि.क. विकास श्रेष्ठ र कल्पना पहरीले २०६७ मा शेयर राखे । पहिलो बैठकबाट देवकुमार सूर्यदर्शन सहकारीको उपाध्यक्ष बने । तर, लगातार तीनवटा बैठक बस्दा नबस्दै विवाद उत्पन्न भयो । विवादको जड ज्ञानबहादुर बम्जन र जीबी राईले २० करोड रूपैयाँभन्दा बढी हिनामिना गरेको भन्ने देवकुमार नेपाली पक्षको जिकिर थियो । उक्त रकम काठमाडौं पठाएको देखिएको थियो । ज्ञानबहादुर बम्जनसँग देवकुमार नेपालीको स्वार्थ नमिलेको देखिन्छ, उनीहरूकै इगोमा ईमेज सहकारी संस्था खोलेका थिए । पैसा संकलन गर्ने शैली सूर्यदर्शनकै कर्मचारीबाट सिकेको प्रष्टै देखिन्छ ।

को हुन् बम्जन परिवार ?

दर्जबहादुर तामाङ ब्रिटिश सैनिकबाट दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए । उनकी जेठी श्रीमती बिबिमाया तामाङबाट ५ भाइ, २ बहिनी जन्मिए । सात सन्तान जन्माएपछि बिबिमायाको डीबी २ वर्षको नाबालक हुँदा निधन भयो । दर्जबहादुरले दोस्रो श्रीमतीका रूपमा विबिमायाकै भदैनी आइतमाया तामाङसँग विवाह गरे । आइतमायाबाट पनि चार भाइ र पाँच बहिनीको जन्म भयो । १४३ तिनै १६ दाइ भाइ, दिदीबहिनीको विवाह, सम्धि सम्धिनी, माइती, ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिए ।

दर्जबहादुर तामाङको पहिलो श्रीमती बिबिमाया तामाङको तर्फका छोराहरूस् उत्तरबहादुर तामाङ, पदमबहादुर तामाङ, र मेशबहादुर तामाङ,तेजबहादुर तामाङ रडम्बरबहादुर तामाङ (बम्जन) थिए । यस्तै छोरीहरू विष्णु तामाङ र हेमकुमारी तामाङ थिए ।

दर्जबहादुर तामाङको दोस्रो श्रीमती आइतमाया तामाङको छोराहरू खड्गबहादुर बम्जन, शेरबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, खिलाबहादुर तामाङ थिए भने छोरीहरू नन्दा कुमारी बम्जन निर कुमारी बम्जन, नेत्रकुमारी बम्जन निशा भनिने भगवती बम्जन र रेश्मा बम्जन थिए ।

ब्रिटिश गोरखा भूतपूर्व सैनिकहरू पछिल्लो समय अधिकांश नेपालका घरहरू बेचबिखन गरेर बेलायतमै स्थायी बसोबास गरेका छन । आर्थिक समृद्धिमा लागेका ब्रिटिश गोरखा भूतपूर्व सैनिकहरूको रकमसँगै ब्रिटिश गोरखा ब्राण्ड नै धुमिल हुने गरी डीबी बम्जन परिवारले सोझा इमान्दार ब्रिटिश गोरखा भूतपूर्व सैनिक परिवारको रकम आफ्नो स्वार्थमा दुरूपयोग गरेको सहकारी छानबिन समितिको प्रतिवेदनको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर