सिद्धार्थनगरका मेयर-उपमेयरको विदेश भ्रमण : कार्यवाहकमा राजनीतिकरण
रूपन्देही । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा गएपछि कार्यवाहकको विषयलाई लिएर वडाध्यक्षहरूबीच विवाद भएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका छन् । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् । तर, कार्यवाहक मेयरबारे आफूलाई केही जानकारी नभएको प्रवक्ता मुक्तिनाथ (भोला) यादवले बताए ।
‘सामाजिक सञ्जालमा मेयर कोरिया र उपमेयर चीन गएको देखेको छु तर मलाई औपचारिकरूपमा कुनै जानकारी नै छैन, सुनेको र फेसबुकमा देखेको भरमा केही हुने कुरा भएन, म प्रवक्ता हुँ तर किन यस्तो भद्रगोल बनाउन खोजियो आश्चर्य लागेको छ’, उनले नेपाल प्रेससँग भने ।
मेयर-उपमेयर दुवैजना औपचारिक बिदाई भएर नगएको टिप्पणी गरे । प्रवक्ता यादवले जसलाई कार्यवाहक दिए पनि सिस्टमअनुसार दिनुपर्ने बताए । उनी राप्रपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।
तर, नगरपालिकाका सूचना अधिकारी चेतनशील लम्साल भने कार्यवाहक मेयर वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले पाएको बताउँछन् ।
‘कार्यवाहक १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले पाउनुभएको छ, हामीलाई यही जानकारी छ’, उनले भने ।
मेयर इस्तियाकले आन्तरिकरूपमा कांग्रेसबाटै निर्वाचित रहेका वडाध्यक्ष गुरुङलाई कार्यवाहक दिँदा प्रवक्ता रहेका वडाध्यक्ष यादव असन्तुष्ट रहेको बताइएको छ ।