प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने, प्रहरी महानिरीक्षक पनि देशबाहिर – Nepal Press

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने, प्रहरी महानिरीक्षक पनि देशबाहिर

सहकारी ठगीमा पहिल्यै चलिरहेको छ मुद्दा, संसदीय छानबिनपछि के हुन्छ ?

काठमाडौं । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परे लगत्तै रास्वपा सभापति रवि लामिछाने आइतबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयमा पुगे । रवि पनि पक्राउ पर्न सक्ने हल्ला चलेपछि कार्यालयमा रास्वपा नेता-कार्यकर्तादेखि सञ्चारकर्मीको भीड लाग्यो ।

रवि स्वयम् आफूलाई पक्राउ गर्न प्रहरी आउन सक्ने आँकलन गर्दै तयारी अवस्थामा रहेका थिए । राती अबेरसम्म पनि रास्वपा कार्यालय भित्र र बाहिर बेचैनी अवस्था थियो । तर अबेरसम्म पनि प्रहरी पक्राउ गर्न आएन । प्रहरी प्रधान कार्यालय र अनुसन्धान गरिरहेको कास्की प्रहरीका अधिकारीहरूले पक्राउको तयारी नै नरहेको प्रष्टीकरण दिए ।

संसदीय विशेष छानबिन समितिले गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक समिति सदस्य जोशीसहित चार जनालाई कारबाही सिफारिस गरेको छ । जोशी पक्राउ परेपछि प्रहरीले समितिको सिफारिस कार्यान्वयन सुरु भएको उद्घोष गरेको थियो । आफूले सहकारीबाट पैसा ल्याउने प्रक्रियामा कुनै भूमिका नखेलेको र सहकारीबाट आइसकेको रकम कार्यालयको प्रयोजनमा प्रबन्ध निर्देशकको हैसियतले खर्च मात्र गरेको लामिछानेले बताउँदै आएका छन् ।

संसदीय समितिले अहिले छानबिन गरे पनि जीवी राईले सञ्चालन गरेका सहकारीहरूमाथि पहिल्यै प्रहरी अनुसन्धान भइसकेको थियो । प्रहरीले जिल्ला अदालतमा अभियोग पत्रसमेत दायर गरिसकेको छ । अहिले गृहमन्त्रीको निर्देशनपछि गोरखा मिडियाका सञ्चालकहरूमाथि प्रहरीले फेरि नयाँ अनुसन्धान सुरु गरेको हो ।

पक्राउ परेका जोशीमाथि प्रहरीले ठगीमा मात्र नभएर संगठित अपराधको कसुरमा पनि म्याद लिएको छ । यसको मतलब उनलाई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ । बीचमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने योजना रहेको प्रहरी स्रोतले बतायो ।

‘सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भयो भने आरोपीलाई हामीले ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन् ।

समितिले कारबाही सिफारिस गरेकामध्ये राई फरार छन् । रम्तेल भने थुनामा छन् । यो प्रकरणमा प्रहरीले ठगी तथा संगठित अपराधमा मात्र अनुसन्धान गरेमा बढीमा ६० दिनभित्र को–को प्रतिवादी बन्नेछन् भन्ने तय हुने छ ।

प्रहरीले पक्रिन चाहेकाहरूलाई यही अवधिभित्र पक्राउ गरिसक्नुपर्छ । अदालतमा अभियोग पत्र दायर भएपछि पक्राउ नपरेका प्रतिवादी सोझै अदालत हाजिर हुन सक्छन् । त्यसपछि प्रहरीले पक्राउ गरिहाले पनि २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्छ ।

प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको बतायो । यो राजनीतिक मुद्दा भएकाले प्रहरीले माथिकै आदेश पर्खिने स्रोतको भनाइ छ । अहिलेसम्म लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छैन । लिइहाल्ने सुरसार पनि छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिकामा छन् । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले प्रधानमन्त्री फर्किएपछि मात्रै रविका विषयमा निर्णय हुने बताए ।
‘यो राजनीतिक विषय पनि जोडिएको हुँदा प्रधानमन्त्री स्वदेश नफर्कीकन उहाँमाथि केही हुँदैन’, ती अधिकारी भन्छन्, ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा गएका हुन् । उनको भ्रमण तालीका १० दिन लामो छ । उनी असोज १४ गते स्वदेश फर्किनेछन् ।

यसैगर, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पनि अहिले स्वदेशमा छैनन् । इन्टरपोलको बैठकमा भाग लिनका लागि उनी हिजो ग्रिस प्रस्थान गरेका हुन् । उनी असोज १५ गते फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री र आईजीपी दुवै देशबाहिर रहेको हुँदा पूर्वगृहमन्त्रीविरुद्ध प्रहरीले तत्काल कुनै पनि कदम चाल्ने सम्भावना नरहेको स्रोत बताउँछ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने, प्रहरी महानिरीक्षक पनि देशबाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर