शिक्षक र विद्यार्थीका पेशागत संगठनप्रति घृणा गर्ने सुमना प्रवृत्तिको शल्यक्रिया
चुनावी भेलमा ढोक्सा थाप्न माइती देश फर्किएका सुमना श्रेष्ठहरुबाट सिक्ने संस्कार भनेको आफ्नो प्रधानमन्त्रीलाई विदेशी भूमिमा अपमान र विरोध प्रदर्शन गर्नुपर्छ भन्ने हो ?
पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद सुमना श्रेष्ठमा बहुदलीय राजनीतिप्रतिको वितृष्ण हो वा अज्ञानता छ भन्ने त उनका अभिव्यक्ति र क्रियाकलापले बुझिएकै हो । तर, उनीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कति धेरै कुण्ठा र एक प्रकारको ओली फोबिया रहेछ भन्ने चाहिँ हालै उनले प्रधानमन्त्रीबाट हुने हार्वर्ड र कोलम्बिया विश्वविद्यालयको प्रवचनप्रतिको डाहले पुष्टि गरेको छ ।
सामाजिक सञ्जालमा एकाएक पूर्वमन्त्री सुमनाको पोष्ट देखियो । उनले नेकपा एमाले विद्यार्थी विशेष जिल्ला कमिटीको एउटा ब्यानर र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी विश्वविद्यालयमा प्रवचन दिने विषयको टपिक राखेर नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने..आदि इत्यादी भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि फर्क भन्ने हो ? यो प्रश्न गर्न उनले अमेरिकामा बस्नेहरूलाई आह्वान गरेकी रहिछन् ।
उनले आफ्नो स्टाटसमा ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन शपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नुभएको छ’ भनेर घटिया आरोप लगाएकी छन् । जान्नेलाई छान्ने सिद्धान्तको अर्थ सफेद झूट बोलेर भ्रम फैलाउनु हो भन्ने सुमनाले सिद्ध गरेकी छन् ।
पहिलो कुरा उनले राखेको ब्यानर विश्विद्यालयमा विद्यार्थीलाई राजनीति गराउने होइन एमालेको विद्यार्थी विशेष जिल्ला कमिटीको अभिमुखीकरण कार्यक्रम थियो । यसमा एमालेको सदस्यता प्राप्त विद्यार्थीहरू भाग लिने हुन् । दोस्रो कार्यक्रम असोज ५ गतेको छ र प्रधानमन्त्री ४ गते नै अमेरिकातर्फ प्रस्थान गरेको अवस्था छ । सुमना श्रेष्ठको ओली फोबिया र भ्रमको राजनीति योभन्दा फरेबी के हुन्छ ?
सुमनाहरू रविको पसल नचले बालेनको डिपार्टमेन्ट स्टोर खुल्ने प्रतीक्षामा छन्, त्यसैले उनीहरूका लागि पार्टी, जनवर्गीय संगठन र पेशागत संस्थाहरूप्रति नफरत छ ।
प्रधानमन्त्रीले स्वदेश फर्किएका कुन नेपाली युवालाई तुच्छ व्यवहार गरे ? सुमनाले खुलाएकी छैनन् । यदि उनले आफूलाई भनेकी हुन् भने राजनीतिमा लागेपछि अलिअलि घोचपेच सहन सक्ने क्षमता राख्नुपर्छ भन्ने सिक्दै गर्दा हुन्छ । संघर्ष मैदानबाट राजनीतिमा आएका हामी र हामीभन्दा अग्रज कार्यकर्ताले झेलेको पीडा सायद सुमनाजस्ता राजनीतिलाई फन्टासी सोच्ने मौसमी नेताले बुझ्न सक्दैनन् ।
सुमना श्रेष्ठले विद्यार्थीलाई दलगत राजनीतिमा लाग्न शपथ खुवाएको आरोप लगाउँदै प्रधानमन्त्रीलाई अमेरिकामा विरोध गर्न उक्साउने हिसाबले उक्त स्टाटस लेखेको प्रष्टै बुझ्न सकिन्छ । उनले नेपालमा बोल्ने, लेख्ने र स्वतन्त्रतापूर्वक जीवन जिउन पाउने अधिकारका लागि बलिदानी आन्दोलन गर्ने विद्यार्थी संगठन नै खारेज हुनुपर्छ भनेकी छन् । आफू शिक्षामन्त्री भएका बेला खुलेआम विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने धम्की पनि दिएकी हुन् ।
विदेशमा बसेर उतै घरजम गरेकी सुमना एकाएक चुनावका बेला आएको भेलमा माछा मार्न माइती देशमा फर्किएकै सबैले बुझेकै कुरा हो । विदेशमा बस्ने नेपालीले सुमनाबाट सिक्ने संस्कार भनेको आफ्नो देशका प्रधानमन्त्रीलाई विदेशी भूमिमा अपमान गर्नुपर्छ भन्ने हो ? माइती देशको राजनीतिक खहरे भेलमा माछा नपरे सुमनाहरू त ससुराली देशमै फर्किएलान् । तर, राजनीतिलाई माछा मार्ने भेल होइन समाज परिवर्तन र विकासको माध्यम बनाउने, लाखौं युवाको राजनीतिक दलमा आवद्ध हुने अधिकारविरुद्ध धावा बोल्ने हक उनलाई छैन ।
विवाह गर्ने, पेशा रोज्ने वा कहाँ बस्ने भन्ने कुरा हरेक व्यक्तिको निजी रोजाइको विषय हो । त्यस हिसाबले सुमनाको व्यक्तिगत स्वतन्त्रताको हामी सधैँ सम्मान गर्छौं । अझ आफू जन्मिएकै देशमा फर्किएर राजनीतिमार्फत ‘आफू पनि बन्ने र समाज पनि बनाउने’ सोच हो भने झनै सम्मान छ । तर, सुमनाले बुझ्नुपर्छ कि, राजनीतिमा उनीहरूजस्ता ‘आइ हेट पोलिटिक्स’ भन्दै विदेशमै घरजम गरिसकेका युवालाई देश फर्किएर सांसद बन्ने प्लेटफर्म राजनीतिक दल र तीनका भ्रातृ संगठनको आन्दोलनले निर्माण गरेको हो ।
यो देशमा लोकतन्त्रको बिउ रोप्ने र आजको स्वतन्त्रता दिलाउने आन्दोलनका रक्तबीज विद्यार्थी संगठनहरू र पेशागत संगठनहरूलाई अपमान गर्ने अधिकार कम्तिमा सुमनाहरूलाई छैन । पेशागत र वर्गीय संगठनहरू खोल्ने संवैधानिक अधिकार सुमना श्रेष्ठहरूजस्ता मौका परस्त राजनीतिकर्मीहरूले खोस्न सक्दैनन् । शिक्षक कर्मचारीहरू राजनीतिक दलको कमिटीमा बस्न पाउँदैनन्, तर आस्था राख्नबाट कसैले रोक्न पनि सक्दैन ।
प्रधानमन्त्रीले स्वदेश फर्किएका कुन नेपाली युवालाई तुच्छ व्यवहार गरे ? सुमनाले खुलाएकी छैनन् । यदि उनले आफूलाई भनेकी हुन् भने राजनीतिमा लागेपछि अलिअलि घोचपेच सहन सक्ने क्षमता राख्नुपर्छ भन्ने सिक्दै गर्दा हुन्छ । संघर्ष मैदानबाट राजनीतिमा आएका हामी र हामीभन्दा अग्रज कार्यकर्ताले झेलेको पीडा सायद सुमनाजस्ता राजनीतिलाई फन्टासी सोच्ने मौसमी नेताले बुझ्न सक्दैनन् ।
सुमना श्रेष्ठहरूलाई के कुराको जानकारी हुनुपर्छ भने, आज उनी जुन राजनीतिक भेलमा माछा मार्न जाल बोकेर आइपुगेकी छन्, त्यो भेलको मुहान शिक्षक आन्दोलन र विद्यार्थी आन्दोलनले खोलेको थियो । ढोक्सामा माछा नपरेको दिन सुमना माइती देश छाडेर कर्मक्षेत्र फर्किन सक्छिन् तर विद्यार्थी र शिक्षक संगठनहरूले लोकतन्त्रको मोर्चा छाड्दैनन् ।
इतिहास पढौं । अनेरास्ववियुलगायत विद्यार्थी संगठनहरूको आन्दोलनको बलमा २०३६ सालको जनमत संग्रह र त्यसले बहुदलीय व्यवस्थापको बिजारोपण गरेको थियो । २०३७ सालको शिक्षक आन्दोलनले प्रजातन्त्रको बिगुल फुकेको थियो । त्यो आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेको थियो ।
पछिल्ला केही वर्ष मेरो ८० प्रतिशत समय गाउँमै बित्ने गरेको छ । गाउँपालिका उपाध्यक्षको हैसियतमा जनताको साझा प्रतिनिधिको भूमिका निर्वाह गर्छु । पार्टीको जिल्ला कमिटी उपसचिवको हैसियतले एक राजनीति कार्यकर्ताको भूमिकामा हुन्छु । स्थानीय सरकारको उपप्रमुखको हिसाबले विद्यालयहरूको शैक्षिक उन्नयनका साथै शिक्षक कर्मचारीहरूको पेशागत हकहितको विषयमा छलफलमा बस्छु ।
सुमना श्रेष्ठ शिक्षकहरूका पेशागत संगठनलाई घृणा र अश्वीकार गर्छिन् । शिक्षामन्त्रीको अभिभावकीय कुर्सीमा बसेर शिक्षकको अपमान गर्छिन् । तर, हामी शिक्षकको हकहितका लागि लड्ने पेशागत संगठनलाई कदर गर्छौं । स्थानीय सरकारको अभिभावकीय कुर्सीमा बसेर शिक्षा दिने गुरुको सम्मान गर्छौं ।
सुमनाले बुझ्नुपर्छ कि, राजनीतिमा उनीहरूजस्ता ‘आइ हेट पोलिटिक्स’ भन्दै विदेशमै घरजम गरिसकेका युवालाई देश फर्किएर सांसद बन्ने प्लेटफर्म राजनीतिक दल र तीनका भ्रातृ संगठनको आन्दोलनले निर्माण गरेको हो ।
प्रतिस्पर्धी र गुणस्तरीय शिक्षाका लागि सहकार्य गर्दै पेशागत अभ्यास गर्न पाउने र संगठित हुने शिक्षकहरूको अधिकारलाई रोक्ने सुमना प्रवृत्तिसँग हामी कहिल्यै सहमत हुँदैनौं । यस हिसाबले सुमनामा संक्रमण भएको ओली फोबिया भोलि स्थानीय सरकारका जनप्रतिनिधिप्रति पनि बढ्ने होला । सुमनाजी, ओली फोबिया र निर्दलीय चिन्तनको संक्रमणबाट बाहिर आउनुस्, हामी स्वस्थ बहस गर्न तयार छौं ।
सुमना श्रेष्ठ शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने नाममा पेशागत हकहितका लागि संगठित हुने संवैधानिक हक खोस्न उद्यत छिन्, हामी शिक्षकले राजनीतिक दलको लागि काम गर्न हुँदैन तर पेशागत अधिकारका लागि संगठित हुनुपर्छ भन्छौं । सुमनाहरू रविको पसल नचले बालेनको डिपार्टमेन्ट स्टोर खुल्ने प्रतीक्षामा छन्, त्यसैले उनीहरूका लागि पार्टी, जनवर्गीय संगठन र पेशागत संस्थाहरूप्रति नफरत छ ।
सुमना श्रेष्ठहरुले अर्को के कुरा पनि बुझ्न जरुरी छ भने,उनी अहिले जुन पार्टीबाट सांसद भएकी छन् त्यहि पार्टीको भविष्यप्रति उनलाई विश्वास छैन । भोलि रविको साटो बालेन,बालेनको साटो दुर्गा प्रसाईको हावा चल्यो भने उनीहरु त्यतैबाट सांसद बन्न दौडिन्छन् । किनकी तलैदेखि किसान,मजदुर,विद्यार्थी,पेशा व्यवसायीहरुलाई संगठित गरेर बलियो राजनीतिक शक्तिमार्फत देशको विकास गर्नुपर्छ भन्ने चेत र आत्मविश्वास उनीहरुसँग छैन ।
तर कांग्रेस,एमाले,माओवादी वा अन्य राजनीतिक दलहरुको आधार भनेकै समाजका तीनै वर्ग हुन्,तीनीहरुको पिरामिड राजनीतिक पार्टी हो । समाज र समाजका जाति वर्ग क्षेत्र र पेशाबाट अलग भएको पार्टी एउटा चुनावी भेलबाट आए पनि त्यो दिगो र टिकाउ हुन्न भन्ने उदाहरण सम्भवतः सुमनाकै पार्टी बन्नेछ ।
खाँटी कुरा के हो भने सुमनाहरू बाढीले बगाएर किनारामा फालेका माछा टिप्न आएका यात्री हुन् । माछा परेन भने सुमनाहरू आफ्नो बाटो लाग्छन् । तर, शिक्षक र विद्यार्थी आन्दोलन अनि लोकतन्त्रको आन्दोलनबाट आएका र यही आन्दोलनमा समर्पित लाखौं राजनीतिक कार्यकर्ता भनेका मछियारहरू हुन्, जसलाई निराश हुने छुट छैन, निरन्तर राजनीतिको नदी बगिरहन्छ ।
(अस्मिता थापा लिखु गाउँपालिका उपाध्यक्ष तथा नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी उपसचिव हुन्)