सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर- वर्षमाननिकटको वर्चश्व, अरु कसको भागमा कति ? – Nepal Press

सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर- वर्षमाननिकटको वर्चश्व, अरु कसको भागमा कति ?

कैलाली । सुदूरपश्चिम प्रदेशका ६ जिल्ला माओवादी केन्द्रले इन्चार्जहरू हेरफेर गरेको छ । यहाँको ९ जिल्ला कञ्चनपुर,बैतडी र बाजुरा बाहेकका अन्य ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेर जिल्ला इन्चार्ज तोकिएको सर्कुलर प्रदेश इन्चार्ज र अध्यक्षलाई पठाएका छन् ।

‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज कमरेड गिरिराजमणि पोखरेलसँगको परामर्श र सुझावको आधारमा सुदूरपश्चिम प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्यहरूको जिम्मेवारी निम्नानुसार गरिएको यो पत्र जारी गरिएको छ सोही अनुसार गर्न गराउन हुन निर्देशन गरिन्छ’, अध्यक्ष र महासचिवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त सर्कुलर अनुसार टेकेन्द्र भट्टले कञ्चनपुर, नेप बहादुर चौधरीले कैलाली जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै कुन्ती जोशीले डडेल्धुरा, त्रिलोचन भट्टले डोटी, नरेन्द्र कुवरले बैतडी, लक्षण दत्त जोशीले दार्चुला इन्चार्जको जिम्मेवारी पाएका छन् ।

बझाङमा मीनबहादुर कुवर, बाजुरामा कर्ण बहादुर विश्वकर्मा र अछाममा सदरसिंह भण्डारी इन्चार्ज तोकिएको छ ।

यस अघि कञ्चनपुरमा इन्चार्ज रहेका टेकेन्द्र भट्ट, बैतडीका नरेन्द्र कुवर र बाजुराका कर्णबहादुर विश्वकर्माले सोही जिल्लामा पुन इन्चार्जको जिम्मेवारी पाएका छन् भने अन्य ६ जिल्लाको इन्चार्ज फेरिएका छन् ।

यस अघि कैलालीमा हरि ज्ञवाली अखण्ड,डोटीमा शिवसिंह ओली, अछाममा झपट साउद, डडेल्धुरामा जगत पार्की, बझाङमा देवराज रेग्मी र दार्चुलामा लक्ष्मी विक इन्चार्ज रहेका थिए ।

डोटीमा अघि इन्चार्ज रहेका शिवसिंह ओली अहिले प्रदेश सभा सदस्य छन् । उनको ठाउँमा नयाँ सर्कुलरमा त्रिलोचन भट्ट तोकिएको छ । भट्ट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।

पहिलो कार्यकाल पुरै मुख्यमन्त्री भएर पाँच वर्ष चलाएका भट्टले दोस्रो पटक प्रदेश सभाको टिकट पाएका थिएनन् । उनकै प्रमुख स्वकीय सचिव रहेका ओलीले टिकट मात्रै पाएनन् जित पनि हासिल गरे । अहिले उनै ओलीको ठाउँमा भट्ट इन्चार्ज तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा यस अघि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकटका नेताहरूको इन्चार्जमा वर्चस्व रहेको छ । अहिले नयाँ सर्कुलरमा भने उपमहासचिव वर्षमान पुन निकटका धेरैले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

करिब ५ जिल्लामा पुन निकटका नेताहरू इन्चार्ज बन्दा २ जिल्लामा अर्का उपमहासचिव जनार्दन शर्मा निकटका नेताहरू इन्चार्जको जिम्मेवारीमा आएका छन् ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकर र महासचिव देव गुरुङका १/१ जनाले मात्रै इन्चार्जको जिम्मेवारी पाए ।

डोटी, अछाम बाजुरा, दार्चुला र डडेल्धुरामा पुन निकटका इन्चार्ज बन्दा, कञ्चनपुर र बैतडीमा शर्मा त्यस्तै कैलालीमा गुरुङ र बझाङमा श्रेष्ठ निकटकाले इन्चार्जको जिम्मेवारी पाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर