युरोप क्लब फुटबल : नयाँ क्लबमा देखिएन ‘एक्स्ट्रा क्यापासिटी’ – Nepal Press

युरोप क्लब फुटबल : नयाँ क्लबमा देखिएन ‘एक्स्ट्रा क्यापासिटी’

हेटौंडा । गत सिजनमा युरोपेली फुटबलको चर्चित लिगमध्येको बुन्डेसलिगामा वायर लेभरकुसेन चमात्कारिक प्रदर्शन गर्दै लिग च्याम्पियन बन्यो । क्लब स्थापनाको एक शताब्दी नाघ्दासमेत उपाधिबाट बिमुख लेभरकुसेनले जर्मन लिगमा धमका पिट्यो र ‘अनबिटन’ लिग च्याम्पियन बन्यो । करिब २ दशकदेखि लिगमा एकछत्र राज गरेको बायर्न म्युनिखको जितको शृङ्खलालाई लेभरकुसेनले ब्रेक लगाइदियो ।

जर्मन लिगबाहेक युरोपको अन्य चर्चित लिग स्पेनिस ला लिगामा पनि जिरोना एफसी ‘अन्डरडग’को रुपमा उदायो । लिगको मध्य भागमा पुग्दा त केही चर्चित अन्तर्राष्ट्रिय खेल अखबारले इंग्लिस प्रिमियर लिग २०१५-०१६ को विजेता लेस्टर सिटी जस्तै जिरोनाको पनि जित हुनेछ भनेर भविष्यवाणी नै गर्‍यो, तर त्यस्तो भएन । लिग च्याम्पियन परम्परागत टोली रियल मड्रिडले नै जित्यो । २०२०-०२१ को एक सिजन छाड्ने हो भने पछिल्लो एक दशकमा ला लिगा रियल र बार्सिलोनाले नै आफ्नो पेवा बनाएका छन् ।

ईपीएलको अवस्था पनि उस्तै छ । पछिल्लो १० वर्षमा म्यान्चेस्टर सिटीको एकछत्र राज चलिरहेको छ । बीचमा एक पटक लिभरपुलले उपाधि जिते पनि त्यसपछि पुनः सिटीलाई हराउने कोही निस्केको छैन । आर्सनल र लिभरपुल दोस्रो को हुने भन्ने प्रतिस्पर्धामा छन् ।

ईपीएलमा कुनै समय एकछत्र राज गरेको म्यान्चेस्टर युनाइटेड, बेलाबेला च्याम्पियन हुने गरेको चेल्सी पछिल्लो दशक कमजोर छन् । तिनीहरु च्याम्पियन्स लिगमा समेत छनोट हुन नसक्ने भएका छन् ।

यी तीन चर्चित लिगबाहेक फ्रेन्च लिग वानमा भने पछिल्लो एक दशकमा पीएसजी, मोनाको, मार्सिलो, लिले, लियोन र लिन्सले लिग जिते । इटालिएन सिरि एमा २०१२ देखि २०२० सम्म युभेन्टसले एकछत्र लिग जित्यो । पछिल्लो चार सिजन भने इन्टर मिलान, एसी मिलान र नापोली च्याम्पियन भए । यहाँ पनि परम्परागत शक्ति नै क्लब फुटबलमा अघि रहे ।

अब यो सिजनको कुरा गरौं, युरोपेली क्लब फुटबलको २०२४-०२५ को नयाँ सिजन सुरु भएको ६ हप्ता भैसकेको छ । यो सिजनमा युरोपका पाँच चर्चित लिगमा नयाँ क्लबले कुनै कमाल गर्ने कुराको विश्वास पाँचौं राउन्डको खेल सकिँदासम्म गर्नसक्ने अवस्था देखिँदैन ।

इंग्लिस प्रिमियर लिगको पाँच चरणको खेल सकिँदा उहीँ पुरानै प्रतिस्पर्धीहरु निकट छन् । ईपीएलमा पाँच चरणको खेल सकिँदा म्यान्चेस्टर सिटी पहिलो नम्बरमा छ । उसको निकटमा लिभरपुल छ । एस्टनभिला, आर्सनल र चेल्सी त्यसपछि छन् ।

ईपीएलको प्रारम्भिक रुझान हेर्दा यो सिजन पनि सिटी, लिभरपुल र आर्सनल नै टप थ्रीमा रहने देखिन्छ ।

स्पेनिस ला लिगाको प्रारम्भिक रुझान पनि त्यस्तै छ । ६ वटा खेल सकिसकेको अवस्थामा बार्सिलोनाले लिगमा आफूलाई शीर्ष स्थानमा राखेको छ । उसको पछि रियल छ । त्यसपछि बिल्बाओ र एथ्लेटिको मड्रिड छ ।

यहाँ पनि नयाँ क्लबको हाल बेहाल छ । गत सिजन तहल्का मच्चाउन सफल जिरोना यो पटक कमजोर देखिएको छ ।

जर्मन लिग बुन्डेस लिगामा पनि बायर्न म्युनिख र लेभरकुसेनकै टक्कर छ । अन्य क्लबहरु त्यसपछिको प्रतिस्पर्धामा मात्र देखिएका छन् ।

फ्रेन्च लिग वानमा यो पटक पीएसजी, मार्सिले र मोनाकोको कडा टक्कर देखिएको छ । यहाँ पनि नयाँ क्लबहरुले जादु देखाउने छाँटकाँट देखिएको छैन ।

इटालियन सिरि एमा पहिलो पाँच चरणमा परिस्थिति केही फेरिएको छ । यहाँ यो पटक अन्डरडगको रुपमा टोरिनो क्लब देखिएको छ । पाँच चरणको खेल सकिँदा टोरिनो लिगको पहिलो स्थानमा छ । नेपोली दोस्रोमा रहँदा अर्को नयाँ शक्तिको रुपमा उडिनेस तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर