लुम्बिनी विकास कोषका पदाधिकारीमाथि ठेकेदारको समूहले गर्‍यो हातपात, सदस्यसचिव र कोषाध्यक्ष घाइते – Nepal Press

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि ठेकेदारको समूहले गर्‍यो हातपात, सदस्यसचिव र कोषाध्यक्ष घाइते

रुपन्देही । सकिएको कामको बजेट नपाएको भन्दै लुम्बिनी विकास कोषका पदाधिकारीमाथि ठेकेदारहरूले हातपात गरेका छन् । राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको लुम्बिनीस्थित फाइभ इलाभेन होटलमा मंगलबार कार्यक्रम भइरहेको बेला निर्माण व्यवसायीहरूको एक हुल आएर कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यमाथि आक्रमण गरेका हुन् ।

गुण्डागर्दी शैलीमा कोषाध्यक्ष र सदस्य सचिवमाथि आक्रमण भएको प्रत्यक्षदर्शी कर्मचारीले बताए । करिब २० जनाको समूहले एकाएक कार्यक्रमस्थलमै आएर कुटपिट गरेको कोषाध्यक्ष भट्टराईले बताए । कुटपिटबाट सदस्य सचिव शाक्यको मुखमा चोट लागेको छ ।

केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले असन्तुष्टि जनाइरहेका थिए । माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले गुनासो गरे । आफ्नो ज्यान नै जोखिममा परेको भन्दै उनले सुरक्षाको प्रत्याभूति नहुँदासम्म कुनै चेकमा हस्ताक्षर नगर्ने बताए ।

ठेकेदार कम्पनीहरूलाई भुक्तानी गर्ने रकम सरकारबाट निकासा नआउँदा भुक्तानीमा ढिलाइ भइरहेकोमा हिजोमात्र कोषको खातामा रकम जम्मा भएको थियो । भुक्तानीको प्रक्रिया सुरू गर्न आजै अपरान्ह उपाध्यक्ष ल्हारक्याल लामासहितको बैठक डाकिएको थियो । धर्नामा रहेका निर्माण व्यवसायीलाई सोसम्बन्धी जानकारी गराएर आफू कार्यक्रममा आएको भट्टराईले नेपाल प्रेसलाई बताए ।

विकास कोषका लागि सरकारले राष्ट्रिय गौरवको आयोजना छुट्याएको ४९ करोड बजेटको काम भएकोमा ४४ करोड केही दिनअघि अर्थमन्त्रालयबाट निकासा भएर आएको र त्यसकै प्रकृयाका लागि आज कोषका पदाधिकारी बैठक बस्ने तयारीबीच आक्रमण भएको हो ।

कोषका अनुसार यो संघीय बजेट नै भएकाले यहाँको कुनै अधिकार नभएकाले माथिबाटै निकासा ढिला हुँदा भुक्तानी रोकिएको हो ।

कोषका पदाधिकारी सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका छन् । आक्रमणकारीलाई कारबाही नभएसम्म भुक्तानीको चेक नकाट्ने उनीहरूको अडान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर