‘हामीले फिल्ममा टेक्स्टमात्रै देखिरहेका छौं, दृश्याङ्कनमा मेहनत गर्नुपर्याे’
अनि स्वस्तिमाले भनिन्, ‘म आफैं लगानी गर्छु’
काठमाडौं ।
फिल्म : बेहुली फ्रम मेघौली
लेखक-निर्देशक : आकाश बराल र सजन काफ्ले
उमेरले भर्खरै ३० कटेका युवाहरु आकाश बराल र सजन काफ्लेको एउटा सपना हो, ‘बेहुली फ्रम मेघौली’ । फिल्ममा स्वस्तिमा खड्का देखिए पनि फिल्मको पहिलो भ्रुण आकाश र सजनको दिमागमा तयार भएको थियो । स्वस्तिमा र निश्चल बस्नेत निर्माता भए पनि सफलताको उडान भर्नुपर्ने चुनौती आकाश र सजनमाथि छ ।
त्यसैले चुनौतीको चाङमाथि छन् पछिल्लो छिमलका यी युवा निर्देशकहरु । फिल्म सफल भए यी निर्देशकको करियरमा केही थोक बदलिनेछ । यिनीहरुले भन्न चाहेको कथाका लागि निर्माताहरु सहजै पाउनेछन् । त्यसैले अहिले यी निर्देशकद्वयलाई भ्याइनभ्याइ छ । इडिटिङमा काम गर्नु छ, कहिले साउन्डमा काम गर्नुछ । फिल्मलाई पुनः चेकजाँच गर्नुछ । सानातिना प्राविधिक त्रुटिहरु केलाउनु छ । यावत दौडधुपपछि आउँदो घटस्थापनाबाट फिल्म हलहरुमा लाग्दैछ ।
फिल्मको पूर्वकथा
यो फिल्म ३० वर्ष छोएको तर, विवाह नभएकी केटीको कथा हो । उमेर बढेसँगै आउने सामाजिक, मानसिक र पारिवारिक दबाब कथाको मेरुदण्ड हो ।
आकाश र सजनसँग कोरोनाकालअघि नै फिल्म बनाउने योजना थियो । अनेक कारणले सम्भव हुन सकिरहेको थिएन । उनीहरुसँग केही कथा त थिए, तर कुन कथामा फिल्म बनाउने ? दुवै अलमलमा थिए ।
सजनले आकाशलाई फोन गरे, ‘अब चाहिँ साँच्चै फिल्म बनाउनुपर्यो ।’
दुवैसित कथा थियो । यद्यपि पुरानै कथामा बनाउने कि नयाँ केही सोच्ने ? नयाँ कथा सोच्ने क्रममा समस्यालाई केलाउन थाले दुवैले । समस्या केको छ त ? बिहेको । समय यस्तो थियो, उमेरले पनि दुवै २९ वर्ष पुगेका थिए । दुवैले सल्लाह गरे, ‘बिहेमाथि गरौं न त !’ यो निर्णय लिने बेला रातको १०-११ बजिसकेको थियो ।
केटामाथि आइपरेको दबाबमाथि कथा लेख्ने सल्लाह गरे । फेरि सोचे, ‘केटाले त दबाबलाई इग्नोर गर्नसक्छ, तर सामाजिक रुपमा केटीलाई गाह्रो हुन्छ ।’
‘बिहेको दबाब झेल्न नसकेर भागेर हिँड्न पनि केटीलाई गाह्रो नै हुन्छ । ३० वर्ष पुग्न लागेको केटीमाथि कथा बनाऔं भनेर सल्लाह गरियो’, आकाशले कथाको पूर्वकथा सुनाए ।
कन्सेप्ट त बन्यो, तर कथा बनेको थिएन । दुवैले विभिन्न चरणमा काम गरे । बाउको दृष्टिकोणबाट कथालाई हेरे । बाउलाई एकदमै दबाब भएको कथा सोचे । यसरी केटीको लागि केटा खोज्ने विषयमात्रै त कथा हुन्न ! सजन भन्छन्, ‘त्यो हुन्न भनेपछि हामी एकैछिन कथा बन्द गरेर बस्यौं ।’
अलि पछि मूल कथाको लाइन आयो, जुन कथामाथि ‘बेहुली फ्रम मेघौली’ बनेको छ । पाँचछ महिनामा पहिलो ड्राफ्ट बन्यो, तर थन्कियो । आकाश सुनाउँछन्, ‘यसपछि हामी सँगै बस्नुपर्छ, नत्र लेख्न सकिन्न भनेर सजनलाई भनें ।’
आकाश काठमाडौंमा थिए, सजन बुटवलमा । आकाशले पटकथाकारको रुपमा ‘दिमाग खराब’ फिल्ममा काम गरिरहेका थिए । अर्को ‘लाखे’ भन्ने फिल्म पनि लेखिरहेका थिए ।
सजन बुटवलबाट आए । मध्य बानेश्वरको एक होस्टेलमा सँगै बसे । होस्टेलमा तीनचार महिना बसेपछि चार वटा ड्राफ्ट तयार पारे । बल्ल फिल्मको पटकथा पूर्ण रुपमा तयार भयो ।
अनि स्वस्तिमाले भनिन्, ‘आफैं लगानी गर्छु’
आकाश र सजनले फिल्मको बजेट सानो बनाएका थिए । आफैंले लगानी गर्ने मनस्थिति बनाएका थिए । नयाँ कलाकारसँग काम गर्ने सोचिरहेका थिए । बजेटको आँकलन गर्दा भने अरु लगानीकर्ताको पनि लगानी नभई फिल्म नबन्ने भयो ।
‘एकजना साथी हुनुहुन्थ्यो, उहाँसँग लगानीकर्ताको खोजीमा निस्कियौं’, आकाश भन्छन् ।
लगानीकर्तासम्म पुग्नलाई त कास्टिङ पनि बलियो चाहियो ! चलेका कलाकार नभएमा किन लगानी गर्ने ? केटीको भूमिका कसले गर्छ त ? टीमले आकाशलाई भन्यो, ‘स्वस्तिमालाई अप्रोच गर्दा ठीक हुन्छ ।’
आकाशले स्वस्तिमासँग ‘चपली हाइट ३’मा पटकथाकारको रुपमा काम गरेका थिए । ‘दिमाग खराब’मा पनि काम गरिरहेका थिए । स्वस्तिमाको नाम आउनुमा यत्ति नै प्रमुख कारण थियो । आकाश भन्छन्, ‘उहाँको विश्वास जित्न सजिलो हुने भएकाले मुख्य कलाकारको रुपमा एप्रोच गरियो ।’
आकाशले पटकथा स्वस्तिमालाई पठाए । तीनचार दिनपछि स्वस्तिमाले भनिन्, ‘हामी नै निर्माण गर्छौं यो फिल्म ।’
स्वस्तिमा र निश्चलको ब्ल्याक हर्सले निर्माण गर्ने भएपछि निश्चललाई पनि कथा सुनाउनुपर्यो । ‘दिमाग खराब’ सँगै लेखिरहेका कारण आकाश-सजनले सुटुक्क कथा सुनाए । निश्चलले भने, ‘हुन्छ, मिलेर काम गरौं ।’
ब्ल्याक हर्स र मेघौली फिल्म्सको ब्यानरमा तयार हुने भयो, ‘बेहुली फ्रम मेघौली’ ।
सुरुमा आकाश-सजनले एक करोड २० लाखको अनुमानित बजेट बनाएका थिए । ‘हामीले सोचेको बजेटमा धेरै कुरा राखेका रहेनछौं । हलमा टिजर लगाउँदा नै छुट्टै बजेट लाग्दो रहेछ’, दुवैले भने, ‘टीममा पनि धेरै मान्छे चाहिने रहेछ । यसपछि बजेट बढ्दै गयो । अहिले पनि बढिरहेको छ, कति बढ्छ थाहा छैन ।’
संयोगले आकाश-सजनको जुगलबन्दी
दुवैले मिलेर लेखेको पछिल्लो फिल्म हो, ‘बिहेपास’ । यसअघि नेपालबाट ओस्करमा गएको ‘हल्कारा’मा सजन सहायक निर्देशक थिए भने आकाश चाहिँ सहलेखक । अलि अगाडि ‘गरुड पुराण’मा पनि सजन सहायक निर्देशक र आकाश सहलेखक नै थिए ।
आकाश-सजनको भेट भने सन् २०१४ मा भएको थियो । जमलमा रहेको ब्ल्याक बक्स एकेडेमीले एनिमेसन पढाउँथ्यो । फिल्म बनाउने तिर्खा मेट्न आकाश त्यहाँ पुगेका थिए । सजन पनि त्यहाँ नै पुगेका थिए ।
दुवैको क्लासको समय फरक-फरक थियो । दुवैको त्यही पहिलो भेट भयो । चिनजान भयो । एनिमेसनको कोर्स सकेपछि सजन थप कोर्स गर्न भारत गए । एसियन एकेडेमी अफ फिल्म एण्ड एनिमेसनमा एक वर्षे कोर्स गरेर नेपाल फिरे ।
नेपालमा आकाश संघर्ष गरिरहेका थिए । दुईतीन वटा पटकथा पनि तयार गरेका थिए, तर कसलाई दिने ? चिनेजानेका कोही थिएनन् । ‘डाइङ क्यान्डल’का निर्देशक नरेशकुमार केसीलगायतको टीमले एउटा वर्कसप चलाएको थियो । त्यहाँ भेटिएका मान्छेलाई पटकथा दिने मनसायमा थिए आकाश । एउटा विशेष पटकथा चाहिँ निश्चल बस्नेतलाई नै बुझाउने सोचमा थिए ।
‘निश्चलसँग इमेलमा सम्पर्क हुन सकिरहेको थिएन । फोन नम्बर पनि पाउन सकिरहेको थिइनँ’, आकाश सुनाउँछन् ।
संयोगवस त्यही वर्कसपमा सहभागीलाई उत्प्रेरित गराउन निश्चल बस्नेत आए । आकाशले नम्बर लिए । पटकथा बुझाए । निश्चलले भने, ‘म पढ्छु, राम्रो लाग्यो भने हेरौंला ।’
तीनचार महिनापछि निश्चलले आकाशलाई भने, ‘म प्रोड्युस चाहिँ गर्छु, तर आफूले निर्देशन गर्दिनँ होला ।’
निश्चलले सोचेको निर्देशकले फिल्म नबनाउने भएपछि अर्को मान्छेलाई बिक्री गरिदिए । त्यो मान्छे थिए, ‘चपली हाइट’का निर्माता अर्जुनकुमार ।
‘त्यो पटकथा उहाँसँग अझै पनि छ । फिल्म नै नबन्नुको कारण चाहिँ उहाँले चपली हाइट ब्राण्ड भएकाले त्यो बनाउँदा अलि बढी नाफा हुनसक्छ भन्नुभयो’, आकाश सुनाउँछन्, ‘मैले ‘चपली हाइट ३’ को लेखन सुरु गरें । लेखेको धेरैपछि फिल्म बन्यो । स्वस्तिमासँग त्यही फिल्ममा भेट भएको थियो ।’
अहिलेका फिल्ममा टेक्स्ट छ, भिजुअल छैन
आकाशले लेखेको ‘चपली हाइट ३’, ‘गरुड पुराण’ जस्ता फिल्म चलेनन् । आकाश-सजनले लेखेको ‘बिहेपास’ पनि औसतमात्रै रह्यो । फिल्म नचल्नुको कारण चाहिँ के रैछ ?
आकाश खुल्छन्, ‘लेखकको दृष्टिकोणबाट हेर्दा चाहिँ निर्देशकले लेखकलाई भन्दा कलाकारलाई बढी विश्वास गरेकाले हो । लेखकसँग एउटा कुरामा निर्देशक ओके भएपछि त्यो कुरामा अडिन सक्नुपर्छ । फिल्म असफल हुनुमा म पनि जिम्मेवार हुनुपर्छ । यो बदलिनै हुन्न भनेर मैले अडान लिन सक्नुपर्थ्यो, तर मैले अडान लिन सकिनँ ।’
– सबैले गतिलो पटकथा भएन भन्छन् । अनि गतिलो पटकथा भनेको चाहिँ के रैछ ?
लेख्ने प्रक्रियामै इमानदार हुनासाथ गतिलो पटकथा आउँछ । लेखक र निर्देशकमध्ये एक जना इमानदार नहुनासाथ बिग्रन्छ । देखाउन चाहेको कुरा आउँदैन ।
– अहिले बनिरहेका नेपाली फिल्महरु कस्ता लाग्छन् ?
अहिलेका फिल्ममा टेक्स्ट आइरहेको छ, भिजुअलाइज भएको छैन । कथाहरु आइरहेका छन्, यसमा आशावादी छौं । अलिकति निराशा चाहिँ फिल्मको रुपमा फिल्म बनिरहेको छैन । हामीले स्क्रिनमा टेक्स्ट देखिरहेका छौं । भिजुअल देखिरहेका छैनौं । साँच्चिकै फिल्म बनाउने हो भने लेखिसकेपछि भिजुअलमा पनि मेहनत गर्नुपर्यो । पोस्ट प्रोडक्सनमा मेहनत गर्नुपर्यो । कथामात्रै नयाँ आएर हुँदैन, त्यो कथालाई फिल्ममा प्रस्तुत पनि त गर्नुपर्यो ।
– पटकथा लेखकलाई पैसा नै छैन भन्छन् नि ?
पटकथा लेखकलाई धेरै अन्डरस्टिमेड गरिन्छ । अहिले अलिकति पटकथा किन खोज्छन् भने कलाकारले पटकथा खोजेका छन् । अझै पनि मेकरले पटकथाको लेखनको आफ्नै चरण हुन्छन् भनेर सोच्दैनन् । कलाकारले पात्र खोज्छ भनेपछि मात्रै पटकथा लेखौं भन्नेहरु छन् । यस्तो चलन अहिले बदलिँदैछ । पूरा बजेटको एकदुई प्रतिशत रकम पटकथामा छुट्याउँछन् ।
यसरी छुट्याउनुको कारण भनेको लेखनको प्रक्रियालाई बुझ्ने निर्माता निर्देशकको कमी छ । लेखन भनेको कलम र कापी वा ल्यापटप लिएर एक हप्तामा लेखिने चिज नै होइन । पटकथा भनेको स्टोरी टेलिङ हो । लेख्दै जाँदा चारदेखि ६ महिना लाग्छ ।