फणिन्द्र नेपालको एक्स अकाउन्टमाथि भारतमा प्रतिबन्ध, मोदी सरकारले नै दिएको थियो दबाब – Nepal Press

फणिन्द्र नेपालको एक्स अकाउन्टमाथि भारतमा प्रतिबन्ध, मोदी सरकारले नै दिएको थियो दबाब

भारतीय संस्थापनको टाउको दुखाइ किन बने फणिन्द्र नेपाल ?

काठमाडौं । राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालको ट्विटर (एक्स) अकाउन्टलाई भारतभित्र प्रतिबन्ध गरिएको छ । भारत सरकारको दबाबमा ट्विटरले उनका ट्विटहरु भारतभर नदेखिने बनाएको हो ।

ग्रेटर नेपाल अभियानका संवाहकका रुपमा परिचित नेपाल विगतदेखि नै भारतीय संस्थापनको लागि आँखाको कसिंगर बन्दै आएका छन् । सुगौली सन्धिमार्फत भारतमा गाभिएका नेपालको जमिन फिर्ता पाउनुपर्ने एजेन्डालाई भारतले उनलाई निरन्तर निगरानीमा राख्दै आएको छ । ‘एक्स’ लाई पठाइएको पत्र यसकै एक प्रकट रुप हो ।

एक्सले एक सूचना फणिन्द्र नेपाललाई पठाएर उनका ट्विटहरु भारतभर ‘विथहेल्ड’ गरिएको (झिकिएको) जनाएको छ ।
एक्सले गत १३ सेप्टेम्बरमा पठाएको पत्रको सार यस्तो छ (नेपाली भावानुवाद):

‘पारदर्शिताका खातिर हामी एक्सले भारत सरकारबाट तपाईंको अकाउन्टका सन्दर्भमा एउटा ‘लिगल रिमुभल डिमान्ड’ प्राप्त गरेको जानकारी गराउन यो लेख्दैछौं, जसमा उल्लेखित कन्टेन्टले भारतको सूचना प्रविधि ऐन २००० लाई उल्लंघन गरेको दाबी गरिएको छ । भारतीय कानूनअनुसार तपाईंको सामग्री भारतमा झिक्न एक्सलाई बाध्य बनाउँछ । यद्यपि, अन्यत्र यो सामग्री उपलब्ध हुनेछ । भारतीय कानूनी प्रक्रियालाई अनुशरण गर्दै हामी भारतीय अधिकारीहरुसँग अहिले संवादमा छौं । तपाईंको अकाउन्टको अवस्थामा कुनै पनि परिवर्तन आएको खण्डमा हामी सूचना दिनेछौं ।’

पत्रमा थप भनिएको छ

‘हामी तपाईंलाई कुनै पनि कानूनी परामर्श दिन असमर्थ छौं, तर यदि तपाईंले चाहनुभएमा आफ्नो हितको संरक्षणका लागि उचित कदम चाल्न सक्नुहुन्छ । यसमा कानूनी परामर्श खोज्नेदेखि यो सूचनालाई अदालतमा चुनौती दिने तथा नागरिक समाजलाई गुहार्नेसम्मका अवसरहरु छन् । तपाईंले स्वेच्छाले आफ्ना सामग्री हटाउन वा अरु समाधान खोज्न पनि सक्नुहुन्छ ।’

स्मरणीय छ कि पत्रमा नेपालले लेखेका कुन ट्वीटले भारतीय कानून उल्लंघन भयो भन्ने खुलाइएको छैन । आफ्नो सामग्री स्वेच्छिक रुपमा हटाउन सुझाव दिइए पनि कुन सामग्री भन्नेमा पत्र मौन छ ।

नेपालले निरन्तर नेपाली राष्ट्रियताको पक्षपोषण र भारतका गलत हर्कतहरुको विरोधमा लेख्ने गरेका छन् । एक्सबाट नोटिस आउनुअघि नेपालले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई आलोचना गर्दै ट्विट लेखेका थिए ।

उनको ट्विट थियोः

मेटमणि चौधरीलाई उपयोग गरेर इन्डियाली दूतावासले कालापानीका विषयमा नेपालीको रगत अझै तातै छ कि छैन भन्ने बुझ्न खोजेको हो । कालापानी इन्डियाको हो भन्ने इन्डियाको मुखपात्र मेटमणि मटियामेट हुनैपर्छ । सरिता गिरीको भूत मेटमणिमा उतार्नुपर्छ र नेपालीहरू जिउँदैछन् भन्ने देखाउनुपर्छ ।

फेसबुक, युट्युब, ट्विटर जस्ता ठूला सामाजिक सञ्जाल प्लेफर्महरु भारतीय संस्थापनको अति आज्ञाकारी बन्दै आएको आरोप लाग्ने गरेको छ । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भारत सामाजिक सञ्जालको ठूलो बजार पनि हो । यसका अतिरिक्त भारत सरकार सामाजिक सञ्जालको नियमन र नियन्त्रणमा अति सक्रिय छ । भारतले आफ्ना नागरिकहरु, खासगरी भाजपाविरोधीहरुका सामाजिक सञ्जाल अकाउन्टहरुमा सूक्ष्म नियमन र नियन्त्रण गर्ने कुरा नयाँ होइन, तर फणिन्द्र नेपालको केस स्टडीले भारतीय साइबर जासुसहरु नेपाली नागरिकका व्यक्तिगत खातालाई पनि निगरानी गरिरहेका छन् भन्ने पुष्टि भएको छ ।

ट्विटरले गरेको यो ‘कारबाही’ लाई लिएर आफूले प्रतिवाद गर्ने नेपाल बताउँछन् । यो आफ्नो व्यक्तिगत विषयमात्र नभएर एउटा स्वाधीन राष्ट्रका नागरिकको वैयक्तिक स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजिएको गम्भीर विषय भएको उनको भनाइ छ ।

नेपालले परराष्ट्रमन्त्री डा. आरजु देउवालाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । यसैगरी जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषद्मा पनि पत्राचार गर्ने उनले बताए ।

नेपाल भन्छन्, ‘संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ । म मेरो सरकारलाई भन्न चाहन्छु, ममाथिको प्रहार देशविरुद्ध पनि हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर