यु-१९ छनोटः रुपन्देहीद्वारा पाल्पा २९१ रनले पराजित – Nepal Press

यु-१९ छनोटः रुपन्देहीद्वारा पाल्पा २९१ रनले पराजित

रुपन्देही । चार खेलाडीको अर्धशतकीय पारीको मद्दतमा भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय अन्डर–१९ क्रिकेट छनोट प्रतियोगितामा रुपन्देही यु–१९ ले सानदार जित निकालेको छ । रुपन्देहीले पाल्पा यु–१९ लाई २ सय ९१ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रनको उच्च योगफल बनायो ।

उसका लागि विजय प्रजापतीले ९६, समीर अलीले ६८, सन्तोष साउदले ५७ र सन्तोष यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । बलिङमा पाल्पाका रोशन बश्याल, नरबहादुर सार्की र उदय महर्जनले समान २–२ तथा सुदर्शन भण्डारीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पा ३४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८२ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न रुपन्देहीका रमेश कुर्मीले ३, सुमित पराजुली र सुरज खड्काले समान २–२ तथा सागर गैरे र सन्तोष यादवले १–१ विकेट लिए ।

पाल्पाका अमित अधिकारीले ३३ र कुशल ढकालले १३ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा रुपन्देहीका विजय प्रजापती म्यान अफ द म्याच घोषित भए ।

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय टिम छनोट गर्न प्रत्येक जिल्लाको फकर–फकर टिम बनाएर छनोट खेल भइरहेको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेश स्तरीय यु–१९ क्रिकेट टिम घोषणा गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर