आबुधाबीमा मिनी नेपाल देखेर यूएईकी विदेश राज्यमन्त्री कावीले भनिन्- छिट्टै नेपाल घुम्न जान्छु – Nepal Press

आबुधाबीमा मिनी नेपाल देखेर यूएईकी विदेश राज्यमन्त्री कावीले भनिन्- छिट्टै नेपाल घुम्न जान्छु

आबुधाबी । झरनासँगै बगेको खोला । त्यही खोलामा र्‍याफ्टिङ । चुचुरोमा फहराएको नेपाली झण्डा, सेताम्य हिउँ र विभिन्न तालतलैया । प्याराग्लाइडिङ र विभिन्न जातजातिका झाँकी अन्कित डिजिटल डिस्प्लेहरु । आबुधावीको पाँच तारे होटल शेराटन रिसोर्टमा सजीसजावटका साथ नेपाली कूटनीतिज्ञले विदेशी पाहुनालाई स्वागत गरिरहेका थिए ।

वरपर नेपाल र नेपालीकै बारेमा कुरा गरिरहेका विभिन्न विदेशी कूटनीतिज्ञको भीड । यूएईमा रहेका झण्डै १३० भन्दा धेरै देशका नियोग प्रमुख तथा कूटनीतिज्ञ कानेखुसीमात्रै होइन, नेपाल र नेपालीका बारे खुलेरै कुरा गरिरहेका थिए ।

यो चाँजोपाँजो नेपालको संविधान जारी भई नवौं वर्ष पुगेको अवसरमा सोमबार नेपाली दूतावास आबुधाबीले मिलाएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा यूएईकी विदेश राज्यमन्त्री नुरा बिन्त मोहम्मद अल कावीको उपस्थिति थियो । मन्त्री कावीले नेपाल र नेपालीको प्रशंसा गर्दै समुन्नत नेपालको कामनासमेत गरिन् ।

विभिन्न देशका कूटनीतिज्ञहरुसँग खुलेर बोलेकी विदेश राज्यमन्त्री कावीले आबुधाबीमा मिनी नेपाल देख्न पाएकोमा खुशी लागेको भन्दै छिट्टै नेपाल घुम्न जाने चाहना व्यक्त गरिन् । मन्त्री कावीलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री तथा उनकी धर्मपत्नी रीता क्षेत्रीले नेपाल भ्रमणको निम्तो पनि दिए ।

नेपाली दूतावास आबुधाबीले आयोजना गरेको कार्यक्रममा यूएई सरकारको तर्फबाट सम्भवतः यो पहिलो उच्चस्तरीय सहभागिता हो ।

कार्यक्रममा सम्बोधन गर्दै राजदूत क्षेत्रीले नेपालले संविधानसभाबाट प्राप्त गरेको उपलब्धि, संविधानमा उल्लेख गरिएको अधिकार र नेपालको पर्यटन एवम् जलवायु परिवर्तनलगायतको विषयमा चर्चा गरेका थिए । राजदूत क्षेत्रीले सहभागी विदेशी पाहुनाहरुलाई नेपाल भ्रमण गर्नसमेत निमन्त्रणा गरे । कतिपय कूटनीतिज्ञले नेपाल भ्रमण गरिसकेको र कतिपयले भविष्यमा गर्ने प्रतिबद्धता जनाए ।

विदेशी पाहुनाहरुका बीच नेपाली कला-संस्कृति झल्कने नृत्य तथा वाद्यवादन प्रस्तुत गरिएको थियो । कास्कीको पोखराका नीलबहादुर गुरुङले बजाएको बाँसुरीको धुनलाई विदेशी पाहुनाहरुले चासोपूर्वक श्रवण गरे ।

सहभागीहरुले नेपालप्रेससँग कुरा गर्दै भने, ‘नेपाल कला र संस्कृतिको धनी देश हो ।’

यूएईका लागि अर्जेन्टिनाका राजदूत फेरनान्दो दि मार्टिनीले नेपालको कला-संस्कृतिको प्रशंसा गरे । गएको वर्ष नेपाल भ्रमणका बेला आफूले होली पर्वमा सहभागी हुने मौका पाएको उनले सुनाए ।

कार्यक्रमस्थलमा राखिएको एभरेष्ट मम अजमानको स्वाद लिँदै देशी-विदेशी पाहुनाले नेपाली परिकारको समेत चर्चा गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाली समाज, विभिन्न जिल्लागत समाज, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीको सहभागिता थियो ।

कार्यक्रममा एयर अरबियाको सौजन्यमा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रहसहित लक्की ड्र गरिएको थियो । विदेशी अतिथिहरुलाई मात्र समावेश गरिएको सो चिट्ठामा अस्ट्रेलिया, पाकिस्तान, बाङ्लादेश र अजरबैजानका कूटनीतिज्ञहरुलाई दुईतर्फी हवाई टिकट प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर