१०० रुपैयाँ बढीको समानमा भन्सार लाग्छ, कोही समातिए आन्दोलन गर्न नपुग्नुहोला : मन्त्री भण्डारी – Nepal Press

१०० रुपैयाँ बढीको समानमा भन्सार लाग्छ, कोही समातिए आन्दोलन गर्न नपुग्नुहोला : मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतबाट भन्सार छलेर भित्रिने समान रोक्न व्यवसायीहरूले सहयोग गर्नुपर्ने बताएका छन् । मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अवैध बाटोबाट आयात हुने समान रोक्न व्यवसायी एकमत हुनुपर्ने बताएका हुन् ।

नेपाली व्यवसायीहरूले चाडबाडका नाममा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य लाउने प्रवृत्ति हटाए भोलीबाटै भन्सार नाकाबाट एक सय रुपियाँ भन्दा बढीको समान बिना भन्सार आउनबाट रोक लगाइने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीले भने, ‘कैलाली उद्योग वाणिज्य सङ्घले नै यसको अगुवाइ गरोस्, हामी कुनै पनि समानको कृत्रिम अभाव सृजना गर्दैनौँ, सरकारले तोकेको मूल्य भन्दा एक रुपियाँ बढी लिँदैनौँ भन्ने प्रतिबद्धता गर्नुस्, सरकारले गरेको १ सय रुपियाँ बढीको समानमा पूर्ण भन्सार लाइने नीति भोलीबाटै कार्यान्वयन हुन्छ, मात्र व्यवसायीहरूकै सहयोग चाहिन्छ । फेरी समान समातिए व्यवसायीहरुनै आन्दोलन गर्न नपुग्नुहोला ।’

भन्सार बिना भित्रिने समानमा कडाइ गर्न समेत मन्त्री भण्डारीले सुरक्षा निकायलाई निर्देशन दिएका थिए । सरकारले लिएको भन्सार राजश्व लक्षभन्दा दोब्र असुल हुने गरी लाग्न उनले निर्देशन दिए । ‘हामी व्यवसायी मैत्री बन्न खोजिरहेका छौँ ’ उनले भने ‘कोरोनाबाट शिथिल अर्थतन्त्र माथि उकास्ने प्रयासमा छौँ ।’

दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा छेला औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया निरन्तर अगाडी बढेको मन्त्री भण्डारीले बताए । भारत र नेपालको सहकार्यमा सुख्खा बन्दरगाहको काम अगाडी बढिरहेको उनले बताए । रुख कटान, जग्गा अधिकरण लगायतका कामका लागी अनुमती पाइसकेको भन्दै मन्त्री भण्डारीले भारत र नेपालका सचिव स्तरीय छिट्टै छलफल हुँदै गरेको समेत जानकारी दिए ।

मन्त्री भण्डारीले गेटामा प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान बिश्वबिद्यालयको प्रक्रिया निरन्तर अगाडि बढेको बताए । ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी बिधेयक समितिमा छ’ उनले भने ‘त्यहाँबाट पारित भएपछि कानुनका रुपमा अगाडी बढ्ने छ र त्यसपछिका अन्य पक्रिया सुरु हुने छन् ।’

स्वास्थ्य विज्ञान विश्वविद्यालय लागी बजेट विनियोजन भएको भन्दै कानुन बनेपछि विकास समिति बन्ने प्रक्रिया अगाडी बढ्ने र त्यसपछि अस्पतालका शय्या बढाउने कुरा र विश्वविद्यालय सम्बन्धी सबै काम अगाडी समेत उनले दाबी गरेका थिए ।

चाडबाडका बेला कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई समस्यामा पार्ने काम नगर्न मन्त्री भण्डारीले आग्रह गरेका छन् । स्थानीय प्रशासनलाई चाडबाडका बेला अनुगमन प्रभावकारी बनाउन निर्देशन दिदै उनले कृत्रिम अभाव गर्ने, अखाद्य बस्तु बिक्री वितरण गर्नेमाथि आवश्यक कारबाही गर्न उनले निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर